३० असार २०७० | 14 July 2013

'धेरै उम्मेदवारी दिन्छौं'

Share:
  
आगामी संविधानसभा चुनावमा नीलहीरा समाजले ६१ जना सदस्यलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। समाजकी अध्यक्ष **पिंकी गुरुङ** भन्छिन्, “दलहरुले टिकट दिएनन् भने स्वतन्त्र उठेर भए पनि हाम्रा मुद्दा जनतामा लैजान्छौं।”

विक्रम राई
नीलहीरा समाजले संविधानसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गर्नुको कारण के हो?

लैंगिक अल्पसंख्यकको सवाल सामाजिक बहसको मुद्दा हो। हाम्रा मुद्दा अरुले सशक्त रुपमा उठाउन नसक्ने भएकाले चुनावमा उठ्ने घोषणा गरेका हौं। एक–दुई जनाले मात्र मुद्दा उठाउँदा कम प्रभाव हुने भएकाले धेरैले उम्मेदवारी दिन लागेका हौं।

दलहरुले टिकट दिएनन् भने के गर्नुहुन्छ?

उहाँहरु समावेशी सहभागिताका पक्षमा हुनुहुन्छ। हामीले संख्या नै तोकेर उम्मेदवारी दिने घोषणा गरेकाले अब दलहरुले हामीलाई उम्मेदवार बनाउलान् भन्ने आशा छ। हाम्रा कतिपय साथी पहिले नै विभिन्न दलसँग आवद्ध रहेकाले टिकट पाउने समस्या नपर्ला भन्ने लाग्छ। टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिन्छौं।

चुनावमा मत पाउने र जित्ने आशा छ?

प्रत्यक्ष चुनावबाट जित्न अलि गाह्रै छ। किनभने, जनमत निर्माण गर्नु त्यति सहज छैन। हाम्रो आशा पार्टीहरुले समानुपातिकबाटै संविधानसभामा लैजान्छन् भन्ने हो। त्यसो नभए पनि शक्ति परीक्षण गर्न चुनावमा उठ्छौं।

चुनावमा तपाईंहरुका मुद्दा के हुनेछन्?

हाम्रो समुदायको बारेमा बढी संवेदनशील हुन्छौं नै। तर, समग्रमा हाम्रा मुद्दा पनि अरु उम्मेदवारका जस्तै हुनेछन्। नेपाली जनताका लागि शान्तिसुरक्षा, विकास र गरीबी हाम्रा पनि मुद्दा हुनेछन्।

गत संविधानसभामा तपाईंहरुको प्रतिनिधि सुनिलबाबु पन्तको भूमिका कस्तो रह्यो?

संविधान बन्न नसके पनि उहाँको भूमिका निकै राम्रो रह्यो। तर, ६०१ जनामा हाम्रा आवाज राख्ने उहाँ एक्लो हुनुभयो। त्यही भएर सामूहिक उम्मेदवारी दिन लागेका हौं।

comments powered by Disqus

रमझम