१–१५ वैशाख २०६९ | 13-27 April 2012

बर्माको सम्झना–११

Share:
  
दोस्रो विश्वयुद्धको मध्यतिर बर्मामा रहेका रणशूर लिम्बूले लेखेको र बीस वर्षपछि जगदम्बा प्रकाशनले छापेको बर्माको सम्झ्ना अहिले विस्मृतिमा पुगेको छ । बर्मामा छँदाको अनुभवमा आधारित नेपाली जाति र भाषाप्रति प्रेम झ्ल्कने लिम्बूको पुस्तक पठनीय हुने ठानेर क्रमशः प्रकाशित गरेका छौं । – सम्पादक

रेल, तार, मोटर, हवाइजहाज, जहाज, किस्ती, घोडा, बग्गीको सवारी, देश विदेशको रंगरुप, अनेक प्रकारका गल्लावालाले पनि देखेका ठाउँका वर्णन, लाउनलाई किसिम किसिम छाँट पारेर सिलाइएका उनी सुती लुगाहरू र बूट जुत्ता, मोजा टोपीको वर्णन, ओढ्न ओछ्याउनलाई लुगा फाटा, बस्नलाई ठूला ठूला घर, खानलाई दूध, दही, घिउ, चिनी, माछा, मासुको प्रसस्तता, बिरामी भए डाक्टरहरूको औषधि चोटपटक परी हाले पेन्सन, प्रमोसन पाए राजा, महीनैपछि २०–२५ रुपैयाँ जोगाउन सके २, ३ वर्षैमा धनी, अली दिन काम गरेर मन नपरे फर्केर आए पनि हुने— यस्तै प्रकारका अनेक साँचो झ्ूटो कुरोले भुलाइ त्यस सादा मानिस लगेर पल्टनको भट्टीमा झेक्ने काम गल्लावालाको हातबाट हुँदोरहेछ । जब यी भाइहरू गल्लावालाका फन्दामा परेर भर्ती भई देश विदेश पुग्छन् अनि आफ्ना आफ्ना पल्टनमा पुगेर उहाँको वास्तविकताको ज्ञान हुन्छ । अधकचरिएको भात, एकातिर झेल एकातिर छोक्रा भएको दाल, दिनरात त्यही ।

अनि कवाज परेड ढुंगा, माटा, काठ, पात बोक्नमा असिना पसिना भै काममा जोत्तिइरहन, अनि केही काममा ढिलाइ भए, ए गोरु, ए सुँगुर, ए गधा भनी गाली खान यो भन्दा पनि खेर गएका शब्द सुन्न, दिनरात कजिएर काम गर्दै गर्दा थप्पड खान बेइज्जत हुन पर्दा स्वाभिमानलाई पददलित गरी बस्नु पर्दा छक्क पर्छन् । कहाँको गल्लावालाले देखाएको काल्पनिक स्वर्ग कहाँ यो वास्तविक नर्कबास !

आफ्ना वर्तमान अवस्था र गल्लावालाका कुराहरूका तुलना गर्छन्, तुरुन्त उनलाई थाहा हुन्छ कि गल्लावालाले धेरै ढाँटेछ, उहींबाट उसलाई सराप्छन् । त्यसलाई भेट्न पाए त त्यसका मुखमा लात्तीले हान्ने थियौं इत्यादि भन्छन्, यस्तो चाल भएको भए यत्ति दुःख गरी एक मुठी खानलाई यसरी कजिन पर्दोरहेछ भनेर जानेको भए आफ्ना देश मातापिता दिदी बहिनी इष्टमित्र कुल कुटुम्ब छाडी यतिको टाढा किन आउने थियौं ? दिन रात कवाज परेड महीना भरी काम गरेर २–३ रुपैयाँ बल्लतल्ल हात पर्ने, खाएको र लाएकै तिर्दा तिर्दा आफ्नो तलब सक्किने, दुई वर्षसम्म यही चाला रहने, यस्तै रीतले कहिले पैसा कमाएर घर फर्कने भनी भनी दिन बिताउने गर्थे ।

बर्माका सिपाहीहरूलाई कोट पतलुन बूटपट्टी सबै सित्तैमा मिल्दैन, सरकारबाट पाइएको जम्मै जिनिसको दाम सिपाहीले आफैं तिर्नुपर्छ । एउटा जोडी बूट रंगरुटले लियो, त्यसको दाम तिर्दा एक महीनाको तलब गयो ! अर्को महीनामा एउटा ब्रानकोट लियो त्यसको दाम तीन महिनामा मात्र तिरिसक्ला । त्यस बीचमा टोपी, जुत्ता, जाँगे, कमिज, चादर लिँदा लिँदा दुई वर्षसम्म त्यसका हातमा एक दुई रुपैयाँदेखि बाहेक केही नपर्ने ! रुपैयाँ पैसाको यो हाल देखेर अनि अरू कति किसिमका दुःखले पीडित भै रङ्गरुटहरू पल्टन छाडी भागेर आफ्ना देश आउने सुर गर्दथे । कतिपटक भागी गएका मानिसहरूलाई ठाउँ ठाउँबाट पक्रेर ल्याउँथे । मनिपुरसम्म उहाँका रङ्गरुटहरू भागेर आएका पक्राउ पर्दथे । फेरि उनीहरूलाई पल्टनमै पुर्‍याएर झ्न् कज्याइ काम लिन्थे । कति भागेका भाग्यै होइजान्थे ।

यस्ता रङ्गरुटहरूसित कुराकानी गर्दा धेरैजसो मानिस गल्लावालाका फेरमै परेर छलिएरै पुगेका थाहा हुन्थ्यो । कति भन्दथे, म त अलि दिन मात्रको लागि पो आएको थिएँ, मलाई उहाँ यो तीन वर्षसम्म चूप लागेर गोरु जस्तै जोतिन पर्छ अनि मात्र पछि आफ्ना पल्टनका साहेबले छाडे नाम काट्न पाइदोरहेछ भन्ने थाहै थिएन । तीन वर्ष बितेपछि पनि उहाँका साहबले सिपाहीलाई छाडुन् वा नछाडुन् उनकै खुसी त हो, गाउँ घरमा बढेका अंग्रेजी कायदा कानूनसित अनभिज्ञ हुनाले पल्टनमा पुगेर यिनको अवस्था धेरै दिनसम्म विचित्र हुन्छ । कोही भाग्न, कोही उहाँबाट उम्कन खोज्दछन् । तर कानूनले उनलाई छाड्दैन, धेरै दिन तडफी रहन्छन् ।

मनुष्यको स्वभाव छ आफू बसेको ठाउँबाट अलि दिन अलि अलि टाढा गई उहाँका दृश्य, उहाँका केही अनुभव विचित्रता हेर्ने बुझने । यो चंचलता विशेष युवावस्थैमा प्रवल हुन जान्छ । यसैको प्रभावमा परी कति युवक उतै हिँडेका छन् । जसरी गए पनि उहाँ पुगेर उहाँका रीति नीतिले वाक्क भएपछि अलि दिनमै आफ्ना घर देश मित्र भाइ बन्धुको संझ्ना हुन जान्छ । यो आफ्ना मातृभूमिको प्रेम स्वाभाविकै सबैमा रहिरहेको हुन्छ । रङ्गरुटहरू पनि आफ्नो देशको प्रेमवश गाउँ घर डाँडा काँडा नदी नाला खेतघाट बाटोको संझ्ना गरी गरी फुर्सत पाएको बेलामा कुरा गरी हिँड्छन् । आफ्ना जातीय संस्कारानुसार, भाषानुसार गाउँछन्, नाच्छन्, मनको व्यथा भुल्ने प्रयास गरी हिँड्छन् ।

कालान्तरमा आस्ते आस्ते सबै कुरा बिर्सी उताको रहनसहन ग्रहण गर्छन्, अनि उतैका होइजान्छन् । बस्ता बस्ता उतै रमाइलो र उतैको चीजबीज रसिलो संझ्ने स्वभाव हुन जान्छ । कति चाहिं मौका हेरी बस्छन्, समय आउने बित्तिकै नाम काटेर घर फर्किहाल्छन् । त्यस्तालाई उहाँका आफ्ना साथी भाइहरू लाख संझउँछन्, तर मान्दैनन् । यस्ता मानिस थोरै हुन्छन् ।

यस्ता फर्केर आउने मानिस पढेलेखेका नभए पनि धेरै टाढा टाढा सोच्ने विचार्नेहरू हुन्छन् । यिनलाई आफ्ना भविष्यका लागि फिक्री हुन्छ । विदेशमा समय बिताई अन्त्यमा दुःख पाउनुभन्दा उमेरमै दुःख उठाएर अन्त्य सुखसित बितोस् भन्ने विचार राखेर आउँछन् । उहाँ पुगेपछि सिपाहीको अस्सल हाल उनीहरू आफ्ना आँखाले देख्छन् । सिपाहीका छोराछोरी अलपत्र परेर डुली हिँडेका, कतिका लोग्ने कतिका छोराछोरी बेपत्ता भई हिँडेका देख्छन् । विदेशमा दुःखी परिवारको आर्तनाद सुनेर सोच्ने विचार्नेलाई भविष्यको लागि केही उपदेश ज्ञान होइजान्छ । विचार–शून्यहरू त सबै कुरा भुली डुली डुली समय खेर फाल्दछन् । रङ्गरुटबाट भाग्यले गर्दा हजारमा २÷४ जना सरदार भई मान पाएकाहरूको अवस्था भिन्नै हुन्छ । सरदार भएपछि इज्जत बेसी हुने, अनि सिपाहीहरूभन्दा रुपैयाँ पैसा पनि बढ्ता पाउने, सुख सुविस्ता पनि धेर, पेन्सन पाए पनि आरामैसित गुजारा हुने, दुःख गर्न नपर्ने । उनै सरदारहरूको सुखमय जीवन देखेर कति मानिस सिपाही हुने इच्छा गर्दा हुन् । गल्लावालाहरू त उनका प्रचारको मुख्य साधन यिनै सरदार त बनाउँदा हुन् । भाग्यमा भए तँ सरदार र मेजर होलास् भनी भन्दछन् ।

comments powered by Disqus

रमझम