१–१५ वैशाख २०६९ | 13-27 April 2012

थवाङलाई च्याउ केन्द्र उपहार

Share:
  

माओवादीको उद्गमस्थल मानिने रोल्पाको थवाङमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो दुई वर्षमा दुई पटक आए–‘जनुयद्ध’को १६औं वार्षिक उत्सव मनाउन र च्याउ फार्मको उद्घाटन गर्न । सदरमुकाम लिवाङबाट २८ कोश टाढा रहेको थवाङमा खुल्न लागेको ट्रफल च्याउ अनुसन्धान केन्द्रको उद्घाटन गर्न २१ चैतमा दोस्रो पटक हेलिकप्टरबाट आएका अध्यक्ष दाहालले पार्टीभित्रको संघर्षलाई फूटको रूपमा नबुझन आग्रह गरे । “अन्तर संघर्षले पार्टीलाई अझ् मजबूत बनाउनेछ”, उनले भने ।

पार्टीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरालाई लिएर आएका अध्यक्षले सम्बोधन गरेको कार्यक्रममा उपाध्यक्ष मोहन वैद्य पक्षधर मानिने रोल्पा–२ का सभासद् सन्तोष बुढामगर थवाङवासी नै भए पनि सहभागी भएनन् । यसैगरी, क्षेत्र नं. १ की सभासद् जयपुरी घर्तीमगर पनि देखिइनन् । विगतमा जस्तो गाउँ–गाउँबाट कार्यकर्ता पनि ल्याइएनन् । नारा, जुलुश र सांस्कृतिक कार्यक्रम पनि भएनन् । कार्यक्रममा थवाङवासीको तर्फबाट पार्टीको मगरात राज्य समिति सदस्य मनप्रसाद बुढामगरले ८ बुँदे मागपत्र अध्यक्षलाई बुझए । बुढामगरले सुनुवाई नभएको गत वर्षकै मागहरू पेश गरिएको बताए । कुनै समय माओवादीले आफ्नो राजधानीको रूपमा प्रचार गरेको थवाङ पार्टी दुई खेमामा बाँडिएपछि ओझेलमा परेको छ । वैद्य खेमाको पकड बलियो रहेको थवाङलाई फकाउन संस्थापन पक्षले ट्रफल फार्म उपहार ल्याएको चर्चा रोल्पामा चलेको छ ।

हीराबहादुर घर्तीमगर, रोल्पा

comments powered by Disqus

रमझम