१–१५ वैशाख २०६९ | 13-27 April 2012

राजस्व मारा भैरहवा भन्सार

Share:
  

१२ माघको साँझ् जिल्ला प्रहरी कार्यालय भैरहवाको टोलीले पक्राउ गरेको लु १ ख ६५२९ नम्बरको ट्रकमा १०२४ थान साडी, जुत्ता र कुर्ता–सुरुवाल भेटिए, जसमध्ये ५१४ थानको मात्र भैरहवा भन्सार कार्यालयमा राजस्व बुझइएको कागज थियो । त्यति मात्र हैन, भैरहवा भन्सारले रु.१२०० पर्ने कुर्ता–सुरुवालको रु.६०, रु.३७४ पर्ने साडीको रु.७२ र जोडीको रु.१५०० पर्ने ३८ जोर जुत्ताको रु.३८ का दरले राजस्व लिएको पाइयो । जबकि, भन्सार मूल्याङ्कन खरीद मूल्यको ३५ प्रतिशत भन्दा माथि हुन्छ र राजस्व प्रशासनका कर्मचारीको मिलोमतो नभई यस्तो हुनै सक्दैन ।

ती सामानहरू सिद्धार्थनगर–६ गल्लामण्डीको अन्सारी ट्रेडर्स, दुर्गा ट्रेडिङ कम्पनी बुटवल र सिद्धार्थनगर–८ को सूर्य शुभम् ट्रेडर्सको नाममा आयात गरिएका थिए । तिनको भन्सार क्लियरिङ सिद्धार्थनगर–१ का नवराज उपाध्याय नामका भन्सार एजेन्टले गरेका थिए । गएको ३ चैतमा शिखर सप्लायर्सले भैरहवा भन्सार कार्यालयबाट क्लियरिङ गरी बुटवल पुर्‍याएको कापीमा पनि यस्तै बद्मासी भेटिएको थियो । १८७२ किलो कापीको रु.२५ हजार ६ सय ६४ भन्सार तिरेर बुटबलको चौराहा पुगेको लु १ ख ३२५२ नम्बरको ट्रकमा ७३५० केजी कापी फेला परेको थियो । भैरहवा भन्सार कार्यालयका यस्ता बद्मासी अनगिन्ती छन् ।

सरकारले भन्सार, आन्तरिक राजस्व लगायत राजस्व समूहका कर्मचारीका लागि २०० प्रतिशतसम्म विशेष भत्ताको व्यवस्था गरेको छ । राजस्व चुहावट रोक्न यस्तो व्यवस्था गरिएको प्रष्टै छ । तर, सरकारले यत्रो भत्ताको लगानीमा राजस्व गुमाइरहेको भैरहवा भन्सार कार्यालयको गतिविधिले देखाउँछ ।

मुकेश पोखरेल, भैरहवा

comments powered by Disqus

रमझम