१–१५ वैशाख २०६९ | 13-27 April 2012

पत्रकार हत्या अझै रहस्यमय

Share:
  

संचारकर्मीका लागि पूर्वाञ्चल क्षेत्र निकै खतरनाक हुँदै गएको छ । पत्रकार हत्या र दुव्र्यवहारका अधिकांश घटना प्रकाशित÷प्रसारित समाचारका विषयलाई लिएर भएका छन् । विराटनगर र संखुवासभाका पत्रकारद्वय खिलानाथ ढकाल र किशोर बुढाथोकीमाथि सांघातिक हमला भएको १० महिनापछि २१ चैत राति झपामा मेची टाइम्स दैनिकका कार्यकारी सम्पादक यादव पौडेल (३८) को हत्या भएको छ । पाँच वर्षदेखि पत्रकारितामा क्रियाशील पौडेलको हत्यापछि पूर्वाञ्चलका पत्रकारहरू त्रसित छन् ।

होटल व्यवसायी युवराज गिरीसँग बिर्तामोडस्थित पूर्वाञ्चल सेकुवा कर्नरमा खाना खान पुगेका बेला पत्रकार पौडेलको रहस्यमय ढङ्गबाट हत्या भएको हो । पौडेलले केही समयअघि पूर्वाञ्चलका होटलमा मौलाउँदो यौन व्यापारबारे समाचार लेखेका थिए । प्रहरीले गिरी, पूर्वाञ्चल सेकुवा कर्नरका सञ्चालक सोमनाथ ढकाल र उनकी पत्नी मञ्जुलाई पक्राउ गरेको छ । उनीहरूमाथि थप अनुसन्धानको लागि प्रहरीले झपा जिल्ला अदालतबाट २६ चैतमा पाँच दिनको म्याद थप गराइएको छ । प्रहरीले खोजिरहेको ठेक्कापट्टा व्यवसाय गर्ने मदन राई फरार छन् । घटना भएको एक साता बितिसक्दा पनि प्रहरीले अनुसन्धानबारे केही खुलाएको छैन । हत्या लगत्तै झपा पुगेको नेपाल पत्रकार महासंघको मिशनले पनि प्रतिवेदन सार्वजनिक गरेको छैन ।

एभिन्यूज टेलिभिजन र राजधानी दैनिकका स्थानीय संवाददाता समेत रहेका पौडेल नयाँ वर्ष २०६९ देखि उज्यालो पूर्व दैनिक पत्रिका प्रकाशनको तयारीमा जुटेका थिए । सिजुवा–९ मोरङ स्थायी घर भएका पौडेलकी श्रीमती, एक छोरा, एक छोरी र आमा छन् । हत्या गरिएका पत्रकार पौडेलको परिवारलाई सरकारले राहतस्वरुप रु.१० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

comments powered by Disqus

रमझम