सम्बोधन चाहियो

Share:
  
- सरला गौतम
२०६३/६४ को मधेश आन्दोलनमा घुसेको साम्प्रदायिक विद्वेष रोक्ने मानिसहरू नभएका भए नेपालले ठूलो मूल्य चुकाउनुपर्ने थियो ।

मधेश आन्दोलनताका आफ्ना भतिज गुमाएका नारायण राय (बायाँ) ।
“अहिले एकजना रामएकवाल मारिए पनि तिमीहरू सयौं रामएकवाल जिउँदै छौ । बदला लिन गयौ भने सबै मारिन्छौ । मेरो भतिजलाई बदमाशहरूले मारेको हो, पहाडीहरूले हैन ।”

मधेश आन्दोलनताका सर्लाही हरिऔनमा व्यक्तिगत काममा मोटरसाइकलमा हिँडिरहेका रामएकवाल राय पहाडी समुदायका केही उपद्रवीहरूको आक्रमणमा परेर मारिएपछि २० माघ २०६३ को मधेशी जनअधिकार फोरमको जुलुसका सहभागीमध्ये रामएकवालको घर पुगेका केही आक्रोशित मधेशी युवकहरूलाई उनका ७८ वर्षका काका नारायण रायले यसो भनेर सम्भावित भिडन्त रोकेका थिए । मलङ्गवास्थित त्यही घरमा चार वर्षपछि नारायणले भने, “यसमा पहाडी र मधेशी भन्नु बेकार हो । हूलमूलमा हाम्रो भतिज मारियो, पहाडीप्रति हाम्रो कुनै वैरभाव छैन ।”

उनका छोरा नवलकिशोरले साथी नरेन्द्र भट्टराईको नाम लिँदै थपे, “त्यो हूलमा हामीलाई बचाउने पनि पहाडीहरू नै थिए ।” यी बाबुछोरासँग त्यो बेला पहाडी समुदायका कुन–कुन सज्जनले कसरी मद्दत गरे भन्ने लामो नामावली नै छ । राय परिवारले पनि आफ्नो घरमा केही पहाडीलाई लुकाएका थिए । त्यत्रो क्षति बेहोरेको राय परिवारका सदस्यका आँखामा देखिएको करुणा, शान्ति र क्षमाभाव मानवताको उच्चतम नमूना थियो ।

बलियो सद्भाव

‘जनकपुरबाट “पहाडी” भएर खेदिएको, हेटौंडा आएपछि फेरि “मधेशी” भएँ ।’ – नीलम पौडेल
सर्लाही, हरिऔनका नागरिक अगुवा डिल्ली उप्रेती त्यतिबेला चर्किएको साम्प्रदायिक विद्वेष मत्थर पार्न सकेकोमा आफूलाई विश्वयुद्ध जितेजस्तो भएको बताउँछन् । त्यो बेला उप्रेतीलगायतका सज्जनले आफ्नो क्षेत्रका मधेशी समुदायलाई पहाडी अतिवादीहरूबाट जोगाउन ठूलै कसरत गर्नुपरेको थियो । उप्रेती सम्झ्न्छन्, “राजनीतिक दल र प्रशासनसँग सहकार्य गरेर घर–घर पुग्यौं, सबैलाई आफ्नो थातवास छाडेर नहिँड्न भन्यौं । कतिपय साथीले हामीलाई नै धम्क्याए ।”

त्यस्तो बेलामा वैरभाव राख्नेले भोलि कसैलाई बाँकी राख्दैनन् भन्ने बुझ्ेका नागरिक समाजका अगुवाले विग्रहको आगो फैलन नदिन अथक् प्रयास गरे । हरिऔनको आफ्नो पसल जोगाइदिन पत्रकार चूडामणि वाग्लेले ठूलै जोखिम मोलेको महेन्द्र चौधरी बताउँछन् । लालबन्दीका सर्वदलीय समितिका संयोजक सीताराम दाहालको नाम लिँदा स्थानीय व्यापारी कुशेश्वर साहको गला अवरुद्ध हुन्छ । यो सद्भावले हरिऔन र लालबन्दीमा अहिले आपसी सहकार्य अझ् बढाएको छ । बजार व्यवस्थापन समिति बनाउँदा होस् वा विकासका अरू काम गर्दा, नगरपालिका बनाउने कुरामा होस् या अन्य सामाजिक विषयमा— दुई समुदाय मिलेर निर्णय गर्ने अभ्यास बढेको छ ।

मधेश आन्दोलनको अर्को केन्द्र धनुषाको बरमझ्यिाका विनोद यादव त्यसबेला दुवैतिरका उच्छृङ्खल तत्वले साम्प्रदायिक भावना भड्काउने कोशिश गरेको बताउँछन् । जनकपुरमा आफूले सधैं किनमेल गर्ने पहाडी समुदायका व्यक्तिको पसलमा पहाडे मूलकै एक दलालले जबरजस्ती जग्गा बिक्री गराइदिन रु.५००० बैना फालेर हिँडेको देखेपछि दलाल आउने भनेको दिन त्यहाँ पुगेर विनोदले ती दलाललाई भगाएका थिए । “हामीहरूले त्यसताका समाजकल्याण युवा संघका साथीहरूसँग मिलेर पहाडीलाई धम्क्याइएका यस्ता अरू घटनामा पनि बदमाशहरूलाई ठीक पारेका थियौं”, विनोद सम्झ्न्छन् । जनकपुर मुरलीचोकका पुस्तक बिक्रेता गौतम ढुङ्गेलको पसलमा एउटा अराजक हूलले आगजनी गर्न खोज्दा ढाल बनेर उभिनेमा स्थानीय कृष्ण झ लगायतका मधेशी युवक थिए । आन्दोलन अवधिभर दाल–तरकारी लगायतका अत्यावश्यक सामान किनेर ढुङ्गेलको घरैमा पुर्यादइदिने पनि झकै समूह थियो । ढुङ्गेल भन्छन्, “यहाँ भएका छिटफुट ज्यादती र क्षति कृष्ण झ जस्ता मधेशीको सद्भावपूर्ण सोचका अगाडि केही हैनन् ।”

पहाड जत्रो पीडा

‘आन्दोलन सकिएपछि एकपटक जनकपुर गएँ । जानकी मन्दिर पुग्दा बरर्र आँशु झर्‍यो । परिस्थिति सुध्रियो भने उतै फर्कन्छु ।’ सुधिरा दाहाल
जनकपुर भानुचोकको घर बेचेर त्यसैमा एक वर्ष डेरा गरी बसेका रोशन ढकाललाई बाबुले रहरले बनाएको र आफू जन्मेहुर्केको त्यो घर छोड्नु पर्दा मनमा ठूलो चोट परेको छ । आफ्नो थातथलो छाडेपछि बिग्रेको आर्थिक अवस्था सम्हालिँदै गए पनि वर्षौं लगाएर बनाएको सामाजिक पहिचान गुमेको छ । “आफ्नै ठाउँलाई आफ्नो भन्न नसक्ने अवस्थामा पाउँदा व्यक्त गर्नै नसकिने पीडा हुँदोरहेछ”, उनी भन्छन् ।

मधेश आन्दोलनको क्रममा जनकपुर लगायतका ठाउँबाट विस्थापित भएर हेटौंडा आएका मानिसहरूले नयाँ ठाउँलाई आफ्नो मान्न सकेका छैनन् । हेटौंडा कमानेमा बसेकी नीलम पौडेल आफूहरू जनकपुरबाट ‘पहाडी’ भएर खेदिएको, यता आएपछि फेरि ‘मधेशी’ भएको बताउँछिन् । नीलमसँगै रहेकी सुधिरा दाहालले भनिन्, “आन्दोलन सकिएपछि एकपटक जनकपुर गएँ । जानकी मन्दिर पुग्दा बरर आँशु झ्र्योल, रोएर फर्किएँ । परिस्थिति सुध्रियो भने उतै जान्छु ।”

कमानेमै भेटिएका विजयकुमार पौडेलले पुख्र्यौली थलो जनकपुर छोडेर हिँड्नुपर्दाको पीडा असह्य भएको बताए । जनकपुरलाई मनमा राखेर हेटौंडामा बसिरहेका यी विस्थापितले मकवानपुरको चुरेमा सहज महसुस गर्न सकिरहेका छैनन् । तीन पुस्तादेखि जनकपुरमा बसेका दिलीपबहादुर क्षेत्री सामुदायिक विग्रहको त्यो कालो रात सम्झ्ँदा अझ्ै त्रसित हुन्छन् । त्यसबेला उनको परिवार केही मधेशी छिमेकीकै सहयोगमा रातारात बर्दिवास पुगेको थियो । उनी भन्छन्, “त्यसरी भाग्नुपर्दा हामीलाई पीडा भएको थियो भने उहाँहरूलाई ग्लानि । अँगालोमा केही बेर रोएर छुट्टिएपछि फेरि भेट भएको छैन ।” बर्दिवासबाट पछि हेटौंडा आइपुगेका क्षेत्रीको जनकपुरमा अवकाश पाउन सात वर्ष मात्र बाँकी रहेको सडक विभागको जागीरसँगै एक युग खर्चेर बनेको परिचय गुमेको छ । मणि हराएको नाग भएको महसुस गरिरहेका क्षेत्रीसँग जीवनको यो मोडमा अर्को परिचय बनाउने समय छैन । उनी जनकपुरका साथी–भाइ, सामाजिक सम्बन्ध र मेला–पर्व सम्झ्रिहन्छन् ।

उता पनि दुखेको छ

मधेशीहरूमा पनि पहाडी छिमेकीहरू हिँड्दा दुःखी नहुने कोही छैनन् । वर्षौंको सम्बन्धमा परेको आघातले धेरैको मन रोएको छ । सयौं वर्षदेखि सँगै बसेका मधेशी–पहाडी अनेक रिश्ता, नाता, विवाह, उत्सव, पूजाआजा र मर्दापर्दा सँगै हाँसे–रोएका थिए । जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्यामप्रसाद साह आमाबुबा, भाइबहिनी समानका मान्छेहरू रोएर जाँदा आफूहरूको मन टुटेको बताउँछन् । जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्राध्यापक नवीन मिश्र थप्छन्, “पहाडीहरू दुःखी भएर जाँदा कोही मधेशी खुशी छैनन् । हाम्रो भागमा आत्मग्लानि परेको छ ।”

यति पुरानो मिश्रित समाजमा कहाँबाट कसरी साम्प्रदायिक विद्वेष छिर्योे, सबै रनभुल्लमा छन् । मधेशी समुदायका थुप्रै मानिसले पहाडीको विस्थापनलाई मधेशको सहिष्णु समाजको हार ठानेका छन् । जनकपुरको मालपोत कार्यालय अगाडिको मिठाई पसलमा भेटिएका सुरेश तिवारीले आफूहरू छिमेकी लखेट्ने समूहको रूपमा बदनाम भएको र पहाडी दाजुभाइहरू त्यसरी जाँदा दुःख पोख्न पनि नपाएको ग्लानि व्यक्त गरे । ढल्केवरका चियापसले विजय साहले भने, “सँगै हुर्केका पहाडी साथी हिँडे, हामी बस्नेहरू नयाँ मान्छेका धाकधम्की र चालामाला हेरिरहेका छौं ।”

सयौं वर्षको मानवीय सम्बन्धबाट बनेको सामाजिक संरचना क्षणिक लाभको लागि गरिने राजनीति भन्दा धेरै बलियो हुन्छ । जनकपुरका एमाले नेता शीतल झ विस्थापनको सबैभन्दा ठूलो चोट सामाजिक सम्बन्धमा परेको बताउँछन् । जनकपुरमा अहिले पहाडी समुदायको अभाव खट्केको छ । पारिवारिक सूचीमा रहेका साथीहरूलाई विवाह, ब्रतबन्धमा निम्तो गर्न नपाउँदा मधेशीहरू झ्स्कन्छन् । विश्लेषक सुरेन्द्र लाभको भनाइमा, इन्द्रेणीबाट कुनै रङ हराए जस्तो फिक्का भएको छ— जनकपुर ।

विविधतामा बल

“पहाडीहरू दुःखी भएर जाँदा कोही मधेशी खुशी छैनन् । हाम्रो भागमा आत्मग्लानि परेको छ ।” – नवीन मिश्र, प्राध्यापक
२०४५ सालमा वन विभागले कमला नहरको डिलभरि रोपेको सिसौ १० वर्षपछि सबै मरेका र अरू जातका बिरुवासँग मिसाएर रोपेको सिसौ सबै बाँचेका थिए । सिसौको यो साङ्केतिक उदाहरण दिँदै जनकपुरका मानव अधिकारकर्मी रोशन ढकाल भन्छन्, “यसैगरी एक्ल्याएर राख्ने हो भने जनकपुरको हालत पनि कमला नहरको सिसौको झैं हुनसक्छ ।”

हुन पनि, तराई–मधेशको नयाँ पुस्ता अहिले मिश्रित समाज र त्यसबाट निसृत सद्भावको अभावमा हुर्कंदैछ । बरमझ्यिामा भेटिएकी रेखा यादवले पहाडी समुदायको विस्थापनपछि एकअर्को समुदायका राम्रा कुरा लिने वातावरण हराएको बताइन् । उनी भन्छिन्, “उनीहरू छठमा रमाउँथे, हामी तीजमा । मैले दुवै समुदायको रीतिस्थिति थाहा पाएँ, तर मेरा सन्तानले त्यो नपाउने भए ।” रेखाले अथ्र्याउन खोजेको मिश्रित समाजको त्यो गतिशील र बृहत् सोच अहिलेको मधेशमा कुण्ठित भएको छ ।

मधेश आन्दोलन बाँकी नेपालसँग छुट्टिन हैन, एकाकार हुन भएको थियो । बलात् विस्थापनबाट पहाडी समुदायमा उत्पन्न पीडा र मधेशी समुदायको ग्लानि दुवै एकीकृत समाज विकासका बाधक हुन् । यी दुवै भावले मानिसलाई ऊर्जाशील हुनबाट रोक्छ । त्यसो हुन नदिने उपाय भनेको त्यो त्रासद् घटनाबारे प्रशस्त चर्चा, परिचर्चा र त्यसको निदानको खोजी हो । पत्रकार कनकमणि दीक्षित भन्छन्, “विस्थापनको चर्चा नहुनु भनेको अर्काको दुःखप्रति अनुभूतिको कमी हो ।”

दीक्षितले भने जस्तो सहअनुभूतिको कमी जिम्मेवार र संवेदनशील समाज सुहाउँदो कुरा होइन । संख्याको हिसाबले विस्थापन सानो होला, तर त्यसले सिर्जना गरेको चोट तथ्याङ्कमा समेटिने आकारको छैन । त्यसकारण, विस्थापनको यो मुद्दालाई तत्काल सम्बोधन गर्नुपर्छ । राज्य र दलहरूले समाजलाई जिउँदो राख्न लागिपर्ने मानिसहरूको साथ लिने सचेतता देखाए भने सद्भाव फर्कन र विकासको लहर आउन धेरै समय लाग्दैन ।


शासकीय दोष

२०६३/६४ को मधेश आन्दोलन सामुदायिक नभई, शासकीय दोषको परिणाम थियो । विभिन्न समयका प्रजातान्त्रिक आन्दोलनबाट राजनीतिक रूपमा जागृत मधेशका बासिन्दा २०६२/६३ को जनआन्दोलनपछि पनि आफ्ना समस्या सम्बोधन नभएर मुलुकको मूलधारमा नपरेको आक्रोशको परिणाम थियो, त्यो आन्दोलन । जनकपुरका एमाले नेता शीतल झ कुनै पनि राजनीतिक परिवर्तनको फाइदा मधेशका गाउँसम्म नपुगेको बताउँछन् । “मधेश आन्दोलनताका मुसहर जस्ता अति सीमान्तकृत जातिका मानिस पनि सडकमा आए”, झ भन्छन्, “उनीहरू पहाडे सत्ता र मधेशका ठालू विरुद्ध आन्दोलित थिए ।”

२०६२/६३ को जनआन्दोलनमा सबै दल एकठाउँमा उभिएर राजतन्त्र नै फाल्दा पनि पहिचान र अधिकारको सवालमा आफूहरू पछि परेको ठानेर मधेश जागेको थियो । त्यही जागृतिले मुलुकलाई संघीय प्रणालीमा पुर्या यो । आम मधेशीले समानता, समावेशीपन र समृद्धिको लागि संघीयता चाहेका हुन् । रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्राध्यापक नवीन मिश्र भन्छन्, “एक मधेश एक प्रदेश त राजनीतिको रोटी सेक्ने नारा मात्र हो, जनताको उन्नतिसँग यसको खासै लेनादेना छैन ।”

केन्द्रीकृत राज्यबाट कर्णाली र सुदूरपश्चिम पनि उत्तिकै उपेक्षित थिए । तर, मधेशी समुदायको पहिचानको प्रश्न र राजनीतिक चेतनाले मधेशलाई अगाडि जगायो । राजनीतिक विश्लेषक सीके लाल माओवादीको हिंसात्मक विद्रोहका कारण मधेशसँग नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पार्टीहरूको दूरी बढेको तथा त्योसँगै स्थानीय तहमा एकखालको अविश्वास सिर्जना भएको बताउँछन्, जसले मधेशी सवालमा मधेशीकै नेतृत्व आवश्यक ठान्यो । लाल भन्छन्, “लामो दासता सहेको अनुभव गरेका मधेशीहरू मौका पाउनासाथ सडकमा आए । यो मौकामा मधेशी नेताहरू पनि जनतासँग रहे । राजावादीहरूको बाहुल्य रहेको अधिकांश पहाडी नेताहरू हेरेको हेर्यैन हुनपुगे ।” मधेश आन्दोलनको प्रमुख घटक मधेशी जनअधिकार फोरम नेपालका धनुषा जिल्ला सभापति शेषनारायण यादवको भनाइमा, मधेशी समुदायले राज्यबाट ‘मुनाफा कम र मुसिबत ज्यादा’ सहनुपरेकोले आफ्नो स्थान खोजेर बाँकी नेपालसँग जोडिन लोकतान्त्रिक आन्दोलन गरेका हुन् ।

मधेश उहिलेको भारदारी दिन फर्काउन हैन, समानता र सामेलीपनको लागि जागेको थियोे । मल्लकालमा काठमाडौंमा तिरहुतिया (¬मैथिल)हरूको ठूलो प्रभाव थियो । तर, नेपाल एकीकरणलगत्तै भारदारी लडाईंमा अल्मलिन पुगेको केन्द्रीय राज्यसत्ता मधेशप्रति उदासीन हुन थाल्यो, मधेश राज्यको मूलधारबाट बाहिरिन पुग्यो । साहित्यकार धीरेन्द्र प्रेमर्षिको शब्दमा, “एकीकरण भनियो, गरिएन ।”

राणाशाहीले मधेशलाई ‘विर्ता’ र ‘शिकार खेल्ने थलो’ भन्दा बढी महŒव दिएन । पञ्चायतकालमा राजा महेन्द्रले मधेशका उपल्लो जाति र वर्गका केही व्यक्तिलाई राज्यका विभिन्न निकायमा अवसर दिए पनि सम्पूर्ण मधेशी समुदायलाई मूलधारमा समाहित गर्ने प्रक्रियामा उनकै ‘गोर्खाली राष्ट्रवाद’ अवरोध बन्न पुग्यो । यसरी जनताको एउटा हिस्सा राज्यको एकीकृत भूगोलमा पनि विभाजित अवस्थामा रहिरह्यो । पछि भएका राजनीतिक परिवर्तनले पनि यो समस्यालाई यथोचित सम्बोधन गर्न सकेनन् । यही क्रममा भएको २०४६ सालको परिवर्तनले देशलाई धेरै पाटाहरूमा खुला गरायो, जनअधिकारका सवालहरू मुखर भएर आए । विशेषतः जनजातिहरू राज्यसँग अधिकारको मोलमोलाइ गर्न सक्षम भए । तर, मधेशीहरूको स्थिति पुरानै रह्यो । जनकपुरका राजनीतिकर्मी लालकिशोर साह भन्छन्, “प्रजातान्त्रिक सरकारहरूले मधेशको आर्थिक, सामाजिक र सांस्कृतिक सवालमा ध्यान नदिँदा उत्पन्न भएको ‘ग्याप’मा माओवादीले हिंसा प्रवेश गरायो जुन मधेशीहरू चाहँदैनथे । त्यसपछि शान्तिपूर्ण रूपमा भएको दोस्रो जनआन्दोलनको परिवर्तनले पनि मेट्न नसकेको तृष्णा मधेश आन्दोलनमा प्रकट भयो ।”

(खोज पत्रकारिता केन्द्र)

comments powered by Disqus

रमझम