१–१५ वैशाख २०६९ | 13-27 April 2012

‘मुस्कान’ नेपाली ब्राण्ड

Share:
  
- सुजीव शाक्य
मुस्कान नेपालीहरूको सबभन्दा ठूलो ब्रान्ड हो । नेपालीको जस्तो मुस्कान कसैको आउँदैन ।

नेपालले ब्राण्डको रूपमा विकास गर्न सक्ने पहिलो कुरा उत्पादन हो भने दोस्रो सेवा । काठमाडौंमा शुरू भएको फायर एण्ड आइस र कोटो रेष्टुरेण्टको शाखा भारतसम्म विस्तार भएको छ । जापानी, इटालियन खाना पस्कने नेपाली रेष्टुराँहरू विदेशमा चल्नु चानचुने कुरा होइन । यस्ता ब्राण्डिङका लागि व्यापारीहरूमा व्यावसायिकता र दृष्टिकोण फराकिलो हुनुपर्छ ।

सन् १९७० को दशकमा हुलास स्टील का सामान भारतमा समेत खोजी–खोजी किनिन्थ्यो । समयक्रममा हामीले त्यो छविबाट फाइदा लिन सकेनौं । नेपालमा जति पनि उद्योग खुले ती सबै ब्राण्ड बनाउने सोचले नभई कोटा मिलाउने हिसाबमा आए । अहिले शेर्पा गियर ले अन्तर्राष्ट्रिय बजारमा ‘मेड इन नेपाल’ को ब्राण्ड लगेर प्रतिस्पर्धा गर्न सकिने विश्वास जगाएको छ । कुनै पनि ब्राण्ड स्वदेशमा स्वीकृत भएपछि मात्र बाहिर स्थापित गराउन सजिलो हुन्छ । धेरै भारतीय ब्राण्डहरू पहिला भारतभित्रै जमेर बाहिर स्थापित भएका छन् । नेपालमा स्वीकारिएको हिमालयन वाटर अन्तर्राष्ट्रिय जगतमा स्थापित ब्राण्ड भएको छ । गुणस्तरीय कफीका धेरै ग्राहक नेपाली नै हुन्छन् । नेपालीहरू गुणस्तरीय स्वदेशी उत्पादन गर्व साथ प्रयोग गर्न चाहन्छन् ।

अत्तरको उत्पादन लागत बिक्री मूल्यको तीन प्रतिशत मात्र हुन्छ । बाँकी लेवलिङ, प्याकेजिङ र ब्राण्डिङको हो । मदिरामा पनि त्यही नियम लागू हुन्छ । मुख्य कुरा प्रिमियम सिर्जना गर्नु हो । तर प्रिमियम सिर्जना भइसकेपछि बिक्री नहुने खतराका कारण मार्जिन बढी राखिन्छ । ब्राण्ड मात्र भएर हुँदैन, प्रचार र मार्केटिङ पनि त्यही अनुसार गर्नुपर्ने हुन्छ जुन कुरा अधिकांश नेपाली उद्यमीले बुझन सकिरहेका छैनन् । लोगो बनाएर ब्राण्डिङ भयो भन्ठान्नु गलत हुन्छ । ब्राण्ड भनेको निरन्तरको अनुभवसहितको प्रस्तुतिबाट स्थापित हुने भएकाले एक पटक राम्रो भएर मात्र पुग्दैन । ब्राण्डिङ नै संस्थाको सम्पत्ति हो भनेर त्यस अनुसार खर्च गर्न पनि तयार हुनुपर्छ । उडाउने त जहाजले नै हो, तर जेट र इन्डियन एयरवेज बीचको छनोट तिनको ब्राण्डिङमार्फत सिर्जित छवि हो । स्ट्यान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य ब्याङ्क को चेक बूक एउटै प्रेसमा छापिए पनि सेवा दिने प्रकृतिको फरकले ब्राण्डिङ गरेको छ । ब्राण्ड भनेको ‘परसेप्सन’ हो, जुन प्रस्तुतिबाट स्थापित हुन्छ ।

हाम्रो जस्तो ठाउँमा विदेशी लगानीकर्ता चाहिन्छन् नै । तर स्वदेशीले विदेशीसँग मिलेर काम गर्दा साझेदारी टिकाउ नहुने समस्या छ । ब्राण्ड स्थापित भएपछि सबै मिलेर विदेशीलाई खेद्ने चलन पनि छ । जस्तो, पहिला ताज, आइटिसी, शेराटन, ओबेराय, मेरिडियन लगायतका अन्तर्राष्ट्रिय रूपमा स्थापित ब्राण्डका होटलहरू थिए । अहिले क्राउन प्लाजा, ¥याडिसन र हयात मात्रै छन् ।

नेपाली ब्राण्डिङका समस्या

१० वर्षे लडाईंपछि पनि नेपालीहरू हाँसेकै छन् । सोझे, मिहिनेती र मिलनसार नेपालीले स्वाभाविक मुस्कान र नम्रताका कारण संसारभरका होटल, नर्सिङ सेवा र अन्य क्षेत्रमा काम पाएका छन् । विश्व सैन्य परम्परामा गोर्खा ब्राण्ड स्थापित छ । गोर्खा सैनिकहरू बहादुरीका लागि जति चर्चित छन्, जस्तै दुःखमा पनि मुस्कुराउने स्वभावका लागि उत्ति नै प्रशंसित पनि ।

माओवादीले हिंसात्मक विद्रोह थाल्नुअघिसम्म नेपालको ब्राण्ड भनेकै बुद्ध, सगरमाथा र शान्ति थियो । एयर इन्डिया ले १९७० को दशकमा न्यूयोर्क–मुम्बई उडान शुरू गर्दा ब्रोसियरमा नेपालको फोटो राखेको थियो । त्यतिबेलाका पर्यटकहरू भारत भएर बुद्ध, सगरमाथा र शान्तिको देश नेपाल आउँथे । तर, अहिले यस्ता ब्राण्डहरू खट्किन थालेका छन् । भारतीयहरू क्रिकेट र बलिउडमा गर्व गर्छन् । अहिले हामीलाई त्यस्तै गर्व गर्ने कुरा चाहिएको छ । साफ फूटबलका बेला देखिएको ‘आइडेन्टिटी’ अरू बेला पनि आउनुपर्छ ।

प्रबल गुरुङ जस्ता फेसन डिजाइनरहरू, पारस खड्का जस्ता क्रिकेटरहरू, मञ्जुश्री थापा जस्ता लेखकहरू हामीलाई चाहिएको छ । स्वीस भन्ने बित्तिकै चक्लेट आएजस्तो नेपाली भन्नासाथ सम्झ्ना आउने उत्पादन पनि चाहिएको छ । यसका लागि कफी, जूस वा अरू कुनै चिज अगाडि आउन सक्छ । सानो र गरीब मुलुक भन्ने नकारात्मक सोचाइले हामीलाई पछि पारेको छ । जबकि, डेनमार्क, इजरायल र स्विट्जरल्याण्ड जोडिँदा पनि नेपाल जत्रो हुँदैन । अफ्रिका र दक्षिण एशियाका अन्य देशका तुलनामा नेपालीहरूमा आत्मविश्वास बढी छ । क्षमताकै कारण नेपालीहरू मलेशिया, कोरिया, अरब जताततै काम गरिरहेका छन् । तर, हामीकहाँ अरनिकोको पालादेखि नै ‘नेपालमा केही हुँदैन’ भन्ने गलत अवधारणाले जरा गाडेको छ । आन्तरिक ब्राण्ड नै ‘नेपाल खत्तम छ’ भन्ने छ । राजधानीमा राम्रो घर बनाएर भर्खरै नयाँ गाडी किनेकाहरू पनि ‘नेपाल खत्तम छ’ भन्छन् । यसरी सामूहिक नकारात्मकता हाम्रा लागि ठूलो समस्या भएको छ ।

सोचको यो प्रक्रियामा कतिपय क्षेत्रमा सकारात्मक परिवर्तन पनि आएको छ । तर परिवर्तनको ब्राण्डिङ हुनसकेको छैन । सामन्ती सोच बोकेका हामीले राजनीतिक अस्थिरतामा धेरै समय खर्चियौं । हामी मण्डेला खोजिरहेका छौं, जुन संभव छैन । ठूलो परिवर्तन एकैपटक हुँदैन । महावीर पुन, सन्दुक रुइत आदिले आफ्नो क्षेत्रमा परिवर्तन गरेका छन् । यस्ता परिवर्तनहरूलाई ‘शो–केस’ गर्ने सकारात्मक सोच महŒवपूर्ण हुन्छ । सोचमा परिवर्तन ल्याएको स्टीभ जब्स्ले हो, बाराक ओबामाले होइन ।

हामीकहाँ पेशागत दक्षताभन्दा राजनीतिमा ध्यान केन्द्रित हुनु अर्को ठूलो समस्या भएको छ । एउटा ब्याङ्करको धेरै ध्यान शाखा विस्तारमा भन्दा ब्याङ्कर एशोसिएसनको अध्यक्ष बन्नेमा केन्द्रित हुन्छ । यसले उद्यमशीलतामा नोक्सानी गरेको छ । भारतमा टाटाका मालिक लोकसभाको सपना देख्दैनन् । सभासद् हुन चाहने उद्योगी–व्यवसायी धेरै छन् । यो मानसिकता हाम्रो ब्राण्डिङको समस्या हो ।

comments powered by Disqus

रमझम