भविष्य हेर्दै वर्तमान बनाउँदै

Share:
  
- मीना शर्मा
संस्कृत पढेर ज्योतिषको पेशा अँगाल्नेहरू अर्काको भविष्य हेरेर आफ्नो वर्तमान बनाइरहेका छन् ।

बिक्रम राई
वाल्मीकि विद्यापीठका उपप्राध्यापक ज्योतिष पं. शिवराज सुवेदी ।
वर्ष शुरू हुनुअघि होस् वा चाडपर्व, जन्मोत्सव आदिका बेला; पत्रपत्रिकामा छापिने राशिफल र रेडियो–टेलिभिजनमा आउने ज्योतिष कार्यक्रमहरूमा मानिसको चासो बढ्छ । आफ्नो ग्रह–नक्षत्रको स्थिति जान्न चाहने उनीहरूको जिज्ञासा मेटाउँछन्, फलित ज्योतिष विद्या पढेका पेशेवर ज्योतिषहरू । ठूलो लगानीमा मेडिसिन, इन्जिनियरिङ पढेका वा पाइलट कोर्ष गरेकाहरूले बेरोजगार बसिरहनु परेका बेला छात्रवृत्ति वा कम खर्चमा ज्योतिष विद्या पढेकाहरू देशभित्र र बाहिर समेत नाम र दाम कमाइरहेका छन् ।

आठ वर्षदेखि इन्टरनेट अनलाइनमा चिना हेर्ने गरेका वाल्मीकि विद्यापीठका उपप्राध्यापक ज्योतिष पं. शिवराज सुवेदी बिहानको झ्सिमिसेमै कम्प्युटर खोलेर आफ्नो काम शुरू गर्छन् । न्यूयोर्कस्थित सम्पर्क केन्द्रको सहयोगमा उनी अमेरिकामा बस्ने नेपालीहरूको दैनिक ३०–३५ वटा चिना हेर्न भ्याउँछन् । “मेरा विद्यार्थीहरूले पनि चिना बनाउने, हेर्ने र भविष्य बताउने कामलाई व्यवसाय बनाएका छन्”, सुवेदी भन्छन्, “संस्कृत भनेको कर्मकाण्डको लागि मात्र हो भन्ने सोच गलत छ । संस्कृत पढेकाको भाषा राम्रो हुन्छ, गरिखान सक्छन् ।” चिना हेर्ने र बनाउने काममा भ्याई–नभ्याई भएर सहयोगीहरू समेत राखेका सुवेदीका कतिपय विद्यार्थी नेपाल, अमेरिका र जापानमा ज्योतिष पेशा अपनाएर बसेका छन् ।

वाल्मीकिमा आचार्य दोस्रो वर्षमा अध्ययनरत श्यामकृष्ण सुवेदीले काठमाडौंको पुतलीसडकमा ज्योतिष अनुसन्धान केन्द्र खोलेका छन् । ‘स्काइप’बाट नेपाल बाहिरका मानिसलाई पनि ज्योतिष परामर्श दिने उनी ५००० जन्मकुण्डली सङ्कलन गरेर कसको जीवनमा के हुँदैछ भन्ने अध्ययन गरिरहेका छन् । जन्मकुण्डलीमै विद्यावारिधि गर्ने विचार गरिरहेका उनी ती चिनामा क–कसको को–कोसँग विचार र व्यवहार मिल्छ, मिल्दैन भन्ने हेरिरहेका छन् । यो अध्ययनले मानिसहरूमा एकअर्कासँग मिलेर बस्न सक्ने बानी विकास गर्न सघाउने कुरामा उनी विश्वस्त छन् ।

शास्त्री तृतीय वर्षमा पढिरहेका काभ्रेका रङ्गराज आचार्य मैतीदेवीस्थित आफ्नो ज्योतिष सेवा सदनमा महीनामा करीब ५०० जनाको जन्मकुण्डली बनाउँछन् र हेर्छन् । पुख्र्याैली पेशा पनि ज्योतिष भएका आचार्य अर्थशास्त्रका विद्यार्थी हुन् । उनी भन्छन्, “कसले के पढ्छ, के गर्छ भन्दा पनि कुन क्षेत्रमा राम्रो गर्न सकिन्छ भन्ने कुरा महŒवपूर्ण हो ।”

धादिङका २६ वर्षीय प्रल्हाद रुपाखेतीले आचार्य दोस्रो वर्ष पुग्दानपुग्दै ज्योतिष विद्यामा धेरैको विश्वास जितेका छन् । संस्कृत पढेर हीनताबोध हैन गर्व भएको बताउने उनी आफ्नो कमाइ नेपाल सरकारको उपल्लो श्रेणीका अधिकृतको भन्दा राम्रो भएको बताए । विवाह, ब्रतबन्ध, पूजाआजा, जन्मदिन, नयाँ वर्ष या अन्य कुनै अवसर, मानिसहरू आफ्नो ग्रहनक्षत्रबारे जान्न धेरै उत्सुक बन्ने गरेको उनी बताउँछन् । “मानिसहरूमा वर्षभरि आफ्नो ग्रहदशा कस्तो चल्दैछ, कुन रत्न धारण गर्नुपर्छ र कुन देवताको पूजा गर्नु राम्रो हुन्छ भन्ने उत्सुकता पहिलेदेखि कायम छ”, रुपाखेती भन्छन् ।

संस्कृतमै उच्च शिक्षा लिइरहेका गैर–बाहुन विद्यार्थीहरूले चाहिँ ज्योतिषी र कर्मकाण्डमा स्वीकार्य नहुने ठानेर शिक्षक बन्ने सोच बनाएका छन् । गुल्मीको रुरु संस्कृत विद्यापीठबाट शास्त्री गरेर वाल्मीकि विद्यापीठमा आचार्य दोस्रो वर्षमा बौद्ध दर्शन पढिरहेकी निर्मला सिंजाली भविष्यमा शिक्षक बन्न चाहन्छिन् । निर्मला भन्छिन्, “निःशुल्क पाएर पढेको संस्कृतमा मैले राम्रै गरेकी छु । रोजगार पनि हुन्छु भन्ने लागेको छ ।” रुरुबाटै शास्त्री गरेर वाल्मीकिमा पढिरहेका निर्मलाका सहपाठी पाल्पाका नारायणबहादुर कुमाल पनि शिक्षक नै बन्ने सूरमा छन् ।

वाल्मीकि विद्यापीठका निमित्त प्राचार्य डा. लेखप्रसाद निरौलाले पछिल्लो समय संस्कृतमा फलित ज्योतिष र बौद्ध दर्शन पढ्नेहरूको संख्या बढेको बताए । उनका अनुसार, आचार्य र विद्यावारिधि गर्नेहरूको माग बढेको छ । वाल्मीकि विद्यापीठमा पढेकाहरू जर्मनी, अमेरिका लगायत विश्वका १६ देशका विश्वविद्यालयमा कार्यरत छन् । “व्याकरण र शुद्ध नेपालीको ज्ञान संस्कृत पढेकासँग मात्र हुने भएकाले शिक्षक खोज्दै विद्यापीठमा आउनेहरूको संख्या पनि बढेको पाएको छु”, डा. निरौला भन्छन् ।

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत हाल १४ आङ्गिक र पाँच सम्बन्धन प्राप्त गरी १९ वटा संस्कृत महाविद्यालय छन्, जहाँ संस्कृतसँगै अंग्रेजी, गणित लगायत १७ विषयको पढाइ हुन्छ ।

comments powered by Disqus

रमझम