१–१५ वैशाख २०६९ | 13-27 April 2012

सेवामा समर्पित स्वर

Share:
  

वर्षको आधाजसो समय विभिन्न देशमा हुने साङ्गीतिक कन्सर्टमै व्यस्त हुने गायिका आनी छोइङ डोल्मा २५ चैतमा एकल कन्सर्टका साथ पाटन म्युजियममा स्वदेशी/विदेशी दर्शकमाझ् प्रस्तुत भइन् । हिट्स एफएम ९१.२ र हाउस अफ म्युजियम आयोजक रहेको ‘म्युजिक वाई द म्युजियम’ सिरिजको पाँचौं कन्सर्टको उद्देश्य आरोग्य फाउण्डेशन किड्नी हस्पिटलका लागि सहयोग जुटाउनुथियो ।

किड्नीको समस्याका कारण जीवन गुमाएकी आमाको सम्झ्नामा किड्नी हस्पिटल स्थापनामा जुटेकी आनीको बुद्ध मन्त्रबाट शुरू भएको कन्सर्ट दुई घण्टापछि ‘फूलको आँखामा...’ बाट टुङ्गिएको थियो । बीचमा उनले बटुवा हुँ म.., आमा.., ॐ मणि पद्मे हुँ..., मनै त हो मेरो पनि... जस्ता जीवन र यथार्थवादी गीत सुनाएकी थिइन् । लाइभ कन्सर्टमा उनलाई सङ्गीतकार न्ह्यू बज्राचार्यसहितको वाद्यवादन समूहले सघाएको थियो ।

‘मोमेण्ट अफ ब्लिज’ नामक अल्बममा समेटिएको ‘फूलको आँखामा फूलै संसार...’ बोलको गीतबाट नेपाली साङ्गीतिक क्षेत्रमा चर्चामा आएकी आनी त्यसअघि नै यूरोप र अमेरिकाका मञ्चहरूमा नेपाली मन्त्र तथा भजन गायिकाको रूपमा छाइसकेकी थिइन् । सङ्गीतको विश्व बजारमा आनी अलग्गै नेपाली ‘ब्राण्ड’ बनिसकेकी छिन् । मीठो स्वर र शालीन छविका कारण विश्वभर नेपाली शान्ति दूतको छवि बनाएकी आनीको १२ भाषामा प्रकाशित आत्मकथा धेरै देशमा हात–हातमा बिक्ने पुस्तकमा पर्छ ।

शब्द र तस्बीरः अनुशील

comments powered by Disqus

रमझम