खस्कँदैछ बजार

Share:
  
नेपाली पेन्टिङको प्रबद्र्धनमा लागिपरेकाहरू अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण हैरान छन् ।

२०० वर्षअघि इष्ट इन्डिया कम्पनी र तत्कालीन नेपालको कूटनीतिक सम्बन्ध बिग्रँदै गएको बेला भारतीय कलाकारहरूले नेपालमा पाइने विभिन्न वनस्पति तथा फूलका एक हजार चित्र बनाएका थिए । सन् १८०२—१८०३ बीचमा बनाएर १८०६ मा बेलायत लगिएका ती पेन्टिङमध्ये २७ वटाको प्रदर्शनी १५ चैतमा काठमाडौंमा भयो । यस्तो दुर्लभ प्रदर्शनी गर्ने सिद्धार्थ आर्ट ग्यालरीकी संस्थापक सङ्गीता थापा पछिल्लो समयमा नेपाली कला बजारले सामना गर्नुपरेको मन्दीप्रति निकै चिन्तित छिन् ।

नेपाली पेन्टिङ र पेन्टरहरूको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि २५ वर्षअघि स्थापित सिद्धार्थ आर्ट ग्यालरीले प्रदर्शनीलाई विशेष महŒव दिएको छ । यो ग्यालरीले पेन्टिङ स्कूलहरूसँग समन्वय गरेर विद्यार्थीका पेन्टिङको प्रदर्शनी गरिदिने, राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका कलाकारसँग भेटघाटको अवसर जुटाइदिने र व्यावसायिकता वृद्धिका लागि कलाकारहरूलाई सँगै काम गर्ने वातावरण बनाउनेदेखि अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि सघाउनेसम्मको गुनिलो गतिविधि गर्दै आएको छ ।

पारखी छन्, लेनदेन छैन

सिद्धार्थ आर्ट ग्यालरीकी संस्थापक सङ्गीता थापा पछिल्लो समयमा नेपाली कला बजारले सामना गर्नुपरेको मन्दीप्रति निकै चिन्तित छिन् ।
सिद्धार्थ आर्ट ग्यालरीकी संस्थापक तथा क्युरेटर थापाको अनुभवमा, पछिल्लो दुई वर्षदेखि नेपाली पेन्टिङ बजारले एकोहोरो मन्दी खेप्नु परिरहेको छ । पेन्टिङहरू बिक्री हुन छाडेपछि समाजमा कला गतिविधि कम हुने नै भयो । नेपालमा एकसे एक कलाकार छन् र पेन्टिङका देशीविदेशी पारखीहरू पनि नभएका हैनन् । र पनि, पेन्टिङ बजार किन खस्कियो त ? “दुई वर्षअघिको अन्तर्राष्ट्रिय आर्थिक मन्दीको असर र नेपालको संक्रमणकालीन अवस्थाका कारण मानिसहरूको ध्यान अन्तै मोडिएको बुझ्न्छि” क्युरेटर थापा भन्छिन्, “ललित कला पढेकाहरू पनि विस्तारै अरू नै पेशातिर मोडिएका हुन् कि जस्तो लागेको छ ।”

यसको अर्थ, नेपाली पेन्टिङका विदेशी पारखीहरू आर्थिक मन्दीबाट पिरोलिएका छन् भने नेपालीहरू भोलिको अनिश्चयले आज पेन्टिङमा लगानी गर्ने मूडमा छैनन् । पेन्टिङका पारखी वा खरीदकर्ता भनेका हुनेखाने नेपाली, दूतावास, हाउजिङ कम्पनी, मल, अपार्टमेन्ट र विदेशी पर्यटकहरू हुन् । कला प्रदर्शनी कम हुने र हुँदा पनि पेन्टिङ बिक्री नहुँदा कलाकारहरूले कुची तुलिका चलाउन छाडेका छन् । “२०६५ सालमा हामीले बेलायतमा गरेको प्रदर्शनीमा मनोजबाबु मिश्रको एउटा पेन्टिङ रु.२ लाख (२५ सय डलर) मा बिक्री भएको थियो”, क्युरेटर थापा भन्छिन्, “अहिले त पेन्टिङ बिक्री हैन प्रदर्शनी गर्नै गाह्रो हुन थालेको छ ।”

यो बेला सरकारले पेन्टिङलाई पुरानै अवस्थामा फर्काउन सहज हुने किसिमको नीतिगत व्यवस्था गर्नुपर्ने क्युरेटर थापाको भनाइ छ । नेपालमा सरकारी तहबाट कला गतिविधि बढाउने कामहरू भएका छैनन् । सरकारद्वारा संचालित कला प्रतिष्ठानहरू आफैं जिम्लिएर बसेका छन् । यो अवस्थामा नेपालको समग्र पेन्टिङ गतिविधि निजी क्षेत्रका ग्यालरीहरूको बलमा धानिएको छ । ‘धानिएको’ यस कारण कि, अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य र नेपाली राजनीति सङ्लिनासाथ गति लिने गुणस्तर हासिल गरिसकेको छ, नेपाली ललितकलाले ।

अहिले भने नेपाली कला गतिविधि यति अप्ठ्यारोमा छ कि विश्वका विभिन्न शहरमा नेपाली कलाकारहरूको प्रदर्शनी आयोजना गर्नु त कता हो कता ग्यालरीको मासिक खर्च धान्न समेत धौ–धौ परिरहेको सिद्धार्थकी क्युरेटर थापा बताउँछिन् ।

मीना शर्मा

comments powered by Disqus

रमझम