१–१५ वैशाख २०६९ | 13-27 April 2012

बुवासुङ्गे खोटाङ तारा

Share:
  

चिउरी डाँडा–४ बुवासुङका अमर चाम्लिङ (२२) खोटाङ तारा भएका छन् । जिल्लाका गायन प्रतिभाको खोजी, प्रवद्र्धन र प्रोत्साहन गर्न खोटाङ महासमाज र खोटाङ किरात सांस्कृतिक संघले १८ चैतमा राजधानीको राष्ट्रिय नाचघरमा गरेको अन्तिम स्पर्धामा अमर खोटाङ तारा भएका हुन् ।

खोटाङ सदरमुकाम दिक्तेलमा भएको स्पर्धामा छानिएका सात जनाबाट प्रथम खोटाङ तारा भएका अमरले रु.५० हजार नगद र ट्रफीसँगै राजधानीको सङ्गीत संसारमा राम्रो ब्रेक पाएका छन् । गायनमा नारायणगोपाल, गोपालयोञ्जनसँगै राजेशपायल राई, अन्जु पन्त आदि मन पराउने अमरले खोटाङ तारा आयोजकहरूबाट पहिलो अल्बम निकाल्ने सुविधा पनि पाएका छन् । “अब राजधानीको सुगम गीतसङ्गीत र पढाइमा जम्ने प्रयास गर्छु” उत्साही अमरले भने ।


राजधानीमा फोटो एक्स्पो

नयाँ वर्ष २०६९ को पहिलो दिनदेखि राजधानीको भृकुटीमण्डपमा तीनदिने ‘फोटोकिपा एक्स्पो’ नामक मेला शुरू हुँदैछ ।

नेपालको फोटोग्राफी इतिहास, फोटोका स्टल, म्युजियम र फोटो प्रतियोगिता समेत हुने यस्तो मेला नेपालमै पहिलोपटक आयोजना हुन लागेको हो । क्रियटिभ डीको आयोजनामा हुनलागेको मेलामा प्रशान्त ताम्राकारको कोरियोग्राफीमा फेशन शो समेत हुने बताइएको छ । आयोजनासँग आवद्ध फोटोग्राफर राजभाइ सुवाल नेपालमा फोटोग्राफीका बारेमा रूचि राख्नेहरूसँगै गतिविधिहरू समेत बढेकाले थप जानकारीहरू बाँड्न एक्स्पोको आयोजना गरिएको बताउँछन् ।

comments powered by Disqus

रमझम