कीर्तिमान मोर्चा

Share:
  
- केदार शर्मा

सबैका आ–आफ्ना शोख हुन्छन्, तर प्रकटमा आएका कुरा सुन्दा लाग्छ, हामी नेपालीहरूको सबभन्दा ठूलो साझ शोख हो, “देश चिनाउने !” विदेश गएका बेला कसैले “नेपाल कहाँ छ ?” भनेर सोध्यो भने हामी साह्रै निराश हुन्छौं । अनि “यु नो लर्ड बुद्ध ? यु नो माउण्ट एभरेष्ट” भत्र थाल्छौं । तर हामी बुद्ध र सगरमाथामा मात्र गर्व गर्ने बुद्धु भने होइनौं ।

हामीमध्येका केही सृजनशील व्यक्तिहरू देश चिनाउन अनेक काम गरिरहेका छन् । उनीहरू अनेक दाबी गर्छन्, छापिएका समाचार गनेर भुक्तानी पाउने पत्रकारहरू छापिन लायक समाचारहरूका खोजीमा हुन्छन् वा समाचारलाई छापिन लायक बनाउन जान्दछन् । उल्टो साइकल कुदाउने, हातभरि भकुण्डो बोक्ने, नउड्ने हेलिकप्टर बनाउने वा दुई वटा हातले लेख्ने मानिसका कुरा छापिन थालेपछि कीर्तिमानहरूको दाबी गर्ने, ती कुरालाई समाचार बनाउने, ती कुरा पत्याएर गर्व गर्नेहरूको गजबको सञ्जाल तयार हुन्छ । मानिसहरू भालेले “उज्यालो पार्न भनेर आधारातदेखि धेरै बासियो” भन्ने जस्ता ‘भाले दाबी’ पत्याइदिन्छन् । गफाडीहरूको अर्को पुस्ता तयार हुन्छ । हाम्रो समाजलाई नै कीर्तिमानहरूको यति गहिरो नशा लाग्नुको कारण यही हो ।

२०५१ सालतिर फिल्ममेकर ध्रुव बस्नेत र म चितवनको लोथर पुगेका बेला कसैले हामीलाई “एशियाको सबभन्दा ठूलो बोको’ हेरेर जाने सुझव दियो । बोको हेर्न पाउरोटी लिएर जानुपर्दोरहेछ । दर्शनार्थीहरूले लगेको प्रसाद खाएर निकै काँधिएको त्यो बोकाको धनीलाई “यो एशियाको सबभन्दा ठूलो बोको हो भनेर कसरी प्रमाणित भयो ?” भनेर सोध्यौं । उनीसित जवाफ थिएन । जनकपुरमा साधुहरूले घ्यू–भात खुवाएर भुँडे बनाएको बाँदर बौवा हनुमानसित त संसारको सबभन्दा ठूलो रातो बाँदर भनेर बिहारको कसैले टाइप गरेर दिएको जस्तो प्रमाणपत्र लोथरको बोकासित थिएन । तर पनि त्यो ‘एशियाटप’ भएरै बाँच्यो र सम्भवतः त्यही रूपमा म¥यो ।

पोहोर बागलुङतिर कतै कालीगण्डकीको तीरमा संसारको सबभन्दा ठूलो शालिग्राम भएको समाचार छापियो । त्यो दाबी गर्ने वा छाप्नेलाई एमोनाइट फोसिलका बारेमा जानकारी हुनुपर्छ भत्रे आशा नगरौं, तर कुनै भूगर्भविद्लाई नसोधी त्यत्रो दाबीपूर्ण समाचार छापिएकोमा भने पत्रिकाका सम्पादक समेतलाई कीर्तिमानी रोगको शिकार माने हुन्छ । कर्णालीको पुल एशियाको सबभन्दा ठूलो पुल भन्ने समाचार केही वर्षअघि सबभन्दा धेरै बिक्ने दैनिकमा छापियो । अर्को एउटा नयाँ दैनिकमा त स्कूलको विज्ञान मेलामा देखाइएको ‘वाटर रकेट’ लाई नेपालमै आविष्कार भएको र एक हजार मिटर उडेको समाचार पनि छापियो ।

लाग्छ, हामी नेपाललाई सामान्य जीवन भएको, सम्पत्रतातिर उन्मुख, कानूनी राज्यका रूपमा भन्दा बढी कीर्तिमानी नागरिकहरूको देशका रूपमा चिनाउनमा बढी रुचि राख्छौं । तर कुनै पनि देशको असली पहिचान कीर्तिमानहरूबाट बन्दैन । स्वीडेनका कति वटा कीर्तिमान हामीलाई थाहा छ ? कोरियाली वा सिङ्गापुरेहरूका कीर्तिमान के छन् ? संसारका मानिसहरूले नेपाललाई चिन्दैनन् भने त्यो उनीहरूको सामान्यज्ञानको समस्या हो ।

हामीलाई सुरिनामका बारेमा केही थाहा नभएर के फरक पर्छ ? हामीले त हाम्रो देश चिनिसकेका छैनौं भने अर्कालाई चिनाउन किन मरिहत्ते गर्ने ? काम परे उसले आफैं चिन्छ । सबैले राम्रो काम गरे देश आफैं गतिलो हुन्छ अनि चित्रेहरूको सङ्ख्या बढ्छ । मरीमरी साइकल यात्रा गर्नु पर्दैन । नेपालमा पनि साइकल चढेर सयौं यात्री आइपुग्छन्, उनीहरूबाट हामीले कति देशका बारेमा थाहा पायौं र साइकल चढेको नेपालीले नेपाल चिनाउँछ ? एउटा साहस यात्राका रूपमा भने त्यसको महŒव छ ।

संसारमा सबभन्दा लामो समयसम्म नुहाउने को हो ? सबभन्दा धेरैबेर उभिएको रेकर्ड कससित छ ? सबभन्दा ठूलो केक कसले, कहिले र कहाँ बनायो ? सबभन्दा ठूलो बिरालो कहाँ छ ? सबभन्दा छिटो टाइप गर्ने व्यक्ति को हो ? सबभन्दा ठूला ब्याङ्क नोट कुन देशमा छन् ? लौ भन्नुस्, तपाईंलाई थाहा छ ? छैन भने हाम्रा पनि अधिकांश कीर्तिमानहरू त्यस्तै बेअर्थका छन् ।

comments powered by Disqus

रमझम