१६–३१ वैशाख २०६९ | 28-April - 13 May 2012

सीमा क्षेत्रमा सुरक्षा अव्यवस्था

Share:
  

रुपन्देहीको लुम्बिनी आदर्श पडरियाका हनिफ मुसलवान गएको अढाई वर्षदेखि काठमाडौंमा प्रधानमन्त्री, गृह र परराष्ट्र मन्त्रालय धाइरहेका छन् । “यो अवधिमा तीन पटक सरकार फेरियो”, एक साताअघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर फर्केका उनी भन्छन्, “मेरो समस्या भने जस्ताको त्यस्तै छ ।” उनको माग हो, भारतीय सुरक्षाकर्मीद्वारा ‘अपहरित’ छोराको रिहाइमा पहल ।

स्पेशल अप्रेशन ग्रुप (एसओजी) का सुरक्षाकर्मीहरूले रुपन्देहीको आमा–८ वडलियाबाट पक्रेर लगेका हनिफका छोरा अक्रामुद्दिन मुसलवान (२९) यो क्षेत्रमा चल्तापुर्जा सामाजिक कार्यकर्ता मानिन्थे । ४ पुस २०६६ मा नेपाल–भारत सीमाभन्दा ३०० मिटर उत्तरको पसलमा चिया खाइरहेका अक्रामुद्दिनलाई सादा पोशाकका भारतीय सुरक्षाकर्मीहरूले समात्दा स्थानीयवासीले प्रतिकार गरेका थिए । तर, भारतीय सुरक्षाकर्मीहरूले हतियार तेस्र्याउँदै उनलाई लगेको पडरियाका वीरेन्द्र मिश्र बताउँछन् । भारतीय सुरक्षाकर्मीले विना अनुमति नेपाली भूमिमा आएर विना कारण अक्रामुद्दिनलाई लगेको भन्दै त्यसको भोलिपल्ट लुम्बिनी आदर्श र आमा गाविसवासीले विरोध प्रदर्शन गरे । त्यो घटनापछि सुरक्षाकर्मीविहीन यो नेपाली नाकामा अस्थायी प्रहरी पोष्ट राखिएको छ ।

छोराको रिहाइका लागि भारतको लखनऊ र इलाहावाददेखि काठमाडौंसम्म धाउँदा रु.८ लाख र ३ कट्ठा खेत सकिएको हनिफले बताए । हाल भारतको सिद्धार्थनगर कारागारमा रहेका अक्रामुद्दिन विरुद्ध प्रहरीले चोरी, लागूऔषध कारोबार र गिरोह सञ्चालन सम्बन्धी चार वटा मुद्दा चलाएकोमा त्यहाँको जिल्ला अदालतले ८ महिनाअघि चोरी र गिरोह सञ्चालन सम्बन्धी मुद्दामा सफाइ दिइसकेको हनिफ बताउँछन् । अक्रामुद्दिनलाई विना कारण झ्ूटो मुद्दामा फँसाइएको उनको भनाइ छ ।

मुकेश पोखरेल, भैरहवा

comments powered by Disqus

रमझम