बेलायतमा बेसहारा

Share:
  
- रमेश कुमार
जवानीको ऊर्जाशील समय बेलायतका लागि बिताएका भूतपूर्व गोर्खा सैनिकहरू बुढेसकालमा त्यही देशमा दुःख बेसाउन आइपुगेका छन् ।

बेकार आइएछ जस्तो लाग्दैछः सुरध्वज राई (बीचमा) साथमा फङ्ला राई (तल), भीमबहादुर, बमबहादुर र लालमाया गुरुङ (पछाडि ।
‘बेलायती सेनाको गृहनगरमा स्वागत !’

बेलायतको राजधानी लण्डनबाट ६० किलोमिटर दक्षिण–पश्चिम अल्डरशटको रेल्वे स्टेशनबाट बाहिरिनासाथ देखिने स्मारकमा कुँदिएका शब्द हुन् यी । शहरले आफ्नो जनसंख्याको झ्ण्डै १० प्रतिशत पुग्ने गरी भूपू गोर्खा सैनिकहरूलाई आश्रय दिएको छ । गोर्खा भेटेरान तथा उनीहरूका आश्रित अल्डरशटमा ९००० र नजिकैको फार्नबोरोमा ३००० को संख्यामा छन् । थप लगभग यति नै संख्यामा उनीहरू लण्डन आसपासका रिडिङ, प्लमस्टिट, वेम्बलीदेखि बेलायतभरि बसोबास गरिरहेका छन् ।

उनीहरू बेलायती सेनामा चार वर्ष सेवा गरेका गोर्खा सैनिक, तिनका श्रीमती र १८ वर्ष भन्दा कम उमेरका छोराछोरीले बेलायतमा बसोबास गर्ने अधिकार पाएपछि आएका हुन् । नेपालमा राम्रै इज्जत–प्रतिष्ठा र बन्दोबस्तसहित घरपरिवार, आफन्त तथा छरछिमेकमाझ् रमाएर बसेका भूपूहरू ती सबै त्यागेर राम्रो सरकारी सुविधा पाइने, पैसा बच्ने, छोराछोरी ल्याएर पढाउने, कामकाजमा लगाउने, राम्रो स्वास्थ्य उपचार गराउने सपना सजाएर आएका थिए ।

तर यहाँ आएपछि सबैको सपना यथार्थमा परिणत हुनसकेको छैन । यसरी बेलायतमा बस्न आएकामध्ये खासगरी १९९७ अघि अवकाश पाएका भूपू सैनिक र तिनका श्रीमतीको जीवन कष्टका बीच गुज्रिरहेको छ । काम गर्न सक्ने उमेर, क्षमता र योग्यता भएकाहरूले राम्रै गरे पनि असक्त बूढाबूढी, अंग्रेजी भाषा नजान्ने, कामको विशेष सीप र योग्यता नभएका तथा छोराछोरी ल्याउन नपाएकाहरूको बिचल्ली भएको छ ।

ब्रिटिश गोर्खा सैनिकको हेडक्वार्टर पनि भएको अल्डरशटमै धेरै जना आएका छन् । भूपू गोर्खालाई लक्ष्य गरेर यहाँका कतिपय बेलायती युवाले फेसबूकमा विरोध अभियान पनि चलाउन थालेका छन् । स्थानीय नेताहरूले समेत आफ्नो ठाउँमा गोर्खालीहरूको आगमन र बसोबासलाई बोझ्को रूपमा लिन थालेका छन् । अल्डरशटका सांसद् गेराल्ड होवार्थले यो विषयमा पटक–पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै गोर्खालीहरूलाई शरणार्थी झ्ैं ठाउँ–ठाउँमा छरेर राख्न माग गरेका छन् ।

२०० वर्षदेखि बेलायतको राजनीतिक हित रक्षाको लागि दुवै विश्वयुद्ध, अनेकांै क्षेत्रीय लडाईं र विभिन्न देशका आन्तरिक सैन्य कारबाहीमा भिडेका गोर्खा सैनिकहरूको बेलायतमा हैसियत ‘शरणार्थी’ को मात्रै हो त ? वर्षौंदेखि आफ्ना बेलायती समकक्षीसरह पेन्सन, भत्ता, सुविधा आदिको लागि लड्दै जीवनको उत्तराद्र्धमा आवासीय अधिकार पाएर बसोबास गर्न बेलायत आइपुगेका भूपू गोर्खा सैनिकहरूको जीवन भने त्योभन्दा पनि दयनीय देखिएको छ । अल्डरशट वरपर भेटिएका भूपू गोर्खा सैनिकहरूको जीवनचर्याले यही देखाउँछ ।

यस्तो बेसहारा भएर बस्नु भन्दा त अब फर्कन्छु । – लालमाया राई
वृद्ध र बिरामी भूपू गोर्खा सैनिक तथा तिनका श्रीमतीहरूलाई बेलायतमा परेको सबैभन्दा ठूलो समस्या हेरचाह गर्ने मानिस नहुनु हो । स्याङ्जा ठूलो पेल्काचौरका ७४ वर्षीय भीमबहादुर गुरुङ श्रीमती लालमायासँगै १५ महिनाअघि बेलायत आएका हुन् । “अधिकार पायौं”, उनी भन्छन्, “तर यो बुढेसकालमा हिँडाउने–डो¥याउने कोही भएन ।” गुरुङका दुई छोरी र एक छोरा नेपालमै छन् । बेलायतको कानूनअनुसार १८ वर्ष उमेर पुगिसकेका ती छोराछोरी बाबुआमामा आश्रित नमानिने हुँदा आउन पाएनन् । बेलायत सरकारले कसैलाई ‘विशेष अवस्था’ भनेर त कसैलाई मुद्दा जितेको कारणले १८ नाघेका छोराछोरी ल्याउन दिए पनि अधिकांशलाई दिएको छैन, ढल्दो उमेरका भूपूहरू निसहाय हुनपुगेका छन् ।

स्वास्थ्य–उपचार निःशुल्क छ । दम र खोकीको रोग भएका भीमबहादुर अस्पताल गए भने डाक्टरहरूले हेर्छन् र औषधि दिन्छन्; तर अंग्रेजी बोल्न र लेखपढ गर्न नजान्ने उनी आफ्नो समस्या बताउनै सक्दैनन् । “त्यसको लागि पैसा खर्च गरेर मान्छे लैजानुपर्छ । छोराछोरी जो भए पनि एकजना पढेलेखेको मान्छे ल्याउन पाए अरूलाई गुहार्नुपर्ने थिएन”, लालमाया भन्छिन् ।

बेलायत बस्न आएका ६० नाघेका भूपू सैनिकका छोराछोरी प्रायः १८ वर्षमाथिकै छन् । पाँच सन्तानका बाबु संखुवासभा खाँदवारीका ८३ वर्षीय सुरध्वज राईका त नाति–नातिनाले समेत त्यो उमेर काटिसके । श्रीमती फङ्लासँगै आएका सुरध्वजलाई ६० वर्षअघि सेनामा छँदै शुरू भएको ढाडको फ्र्याक्चर र आँखाको समस्याले खुब पिरोल्न थालेको छ । तर, राम्रोसँग एक्सरे गराएर डाक्टरलाई यो कुरा सुनाउने उनको इच्छा अधुरै छ । उनी भन्छन्, “श्रीमती पनि बिरामी भएका बेला पकाइदिने कोही नभएर भोकभोकै सुत्छौं ।”

पाँचै जना छोराछोरी भएका रामेछाप भुजीका जीतबहादुर सुनुवार काठमाडौंमा घरबार जोडेर बसेका थिए । सुगर, प्रेसर र बाथको रोगी जीतबहादुर अहिले श्रीमतीको सहयोगमा लठ्ठी टेकेर वा ह्वील चेयरमा बसेर यताउता गर्छन् । भर्खरै ब्रेष्ट क्यान्सरको अपरेशन गराएकी श्रीमती लालमाया पनि कमजोर छिन् । उनी भन्छिन्, “बाबुआमालाई मात्र अधिकार दिएर भएन, छोराछोरीलाई पनि चाहियो नि ! नत्र हाम्रो अवस्था बिग्रँदै गएपछि कसले हेर्छ ?”

जीतबहादुर सुनुवारलाई ज्याकेट लगाइदिँदै पत्नी लालमाया ।
यी कुरा हुँदा जीतबहादुरकहाँ आइपुगेकी झपाकी लालमाया राईले छोरीलाई ल्याउन गरेको प्रयासको बेलीविस्तार लाइन् । “छोरीको भीसामा ७५ हजार रुपैयाँ त्यसै खेर गयो”, उनले भनिन्, “यहाँ धूलोमूलो थिएन, रोगलाई पनि फाइदै भएको थियो । तर यस्तो बेसहारा भएर बस्नुभन्दा त अब फर्किन्छु ।”

अल्डरशटमा एक्लै कोठा लिएर बसेकी लालमाया राईलाई दमको रोग छ । “यो लालमायालाई अपझर््ट केही भयो भने हेर्ने, हारगुहार गर्ने कोही छैन”, लालमाया सुनुवारले भनिन्, “नेपालमा भए यसो छिर्नु हुन्थ्यो । यहाँ त नम्बर नथिची, साँचो नभई कसैकहाँ छिर्न सकिँदैन ।”

भूपू गोर्खा सैनिकहरूको हित र कल्याणको लागि थुप्रै संघसंस्था खुलेका छन् । उनीहरूले भूपूहरूलाई बेलायत ल्याउन तँछाडमछाड पनि गरेकै हुन्, मौका पर्दा कसैले धेरै त कसैले थोरै चन्दा–सहयोग लिएर । तर, बूढाबूढीहरूको दयनीय अवस्थाप्रति संस्थाहरूको पर्याप्त ध्यान पुगेको छैन । बेलायतको कानून र परम्परा आफ्नो ठाउँमा होला, तर आफूहरूले नेपाली समाजकै परम्पराअनुसार छोराछोरीका साथमा बस्न पाउनुपर्ने भूपूहरूको मागलाई सम्बोधन गराउने ठोस पहल संस्थाहरूबाट भएको देखिँदैन ।

बेलायतमा बसोबासका लागि सबभन्दा धेरै भूपूहरूलाई ल्याएको गोर्खा भूपू सैनिक संघ (गेसो) का उपाध्यक्ष कृष्णकुमार राईले भूपूहरूलाई अस्पताल, ब्याङ्क, काउन्सिलमा लगेर काम गराइदिने गरेको बताए । गेसोले अल्डरशटमा हप्ताको एक दिन दुई घण्टा अंगे्रजी भाषा कक्षा पनि चलाएको छ, यद्यपि भूपूहरूको उमेर र संख्या हेर्दा संस्थाको यो प्रयास त्यति फलदायी देखिँदैन । १८ वर्षमाथिका छोराछोरी ल्याउन पाउनुपर्ने मागका सम्बन्धमा राईले भने, “हामीले मुद्दा हालेका छौं । अहिलेको लडाईं यही हो ।”

बेलायतमा बलियो उपस्थिति भएको ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्ल्यूएस) का प्रवक्ता प्रकाश गुरुङले भने १८ वर्षमाथिका छोराछोरी ल्याउन पाउनुपर्छ भन्ने माग सुन्नलाई प्रिय भए पनि कति सम्भव छ भन्ने प्रश्न उठाए । गोर्खा भूपूको समान पेन्सनको मुद्दालाई यूरोपेली अदालतमा पु¥याएको बीजीडब्ल्यूएस आफ्नै पक्षमा फैसला हुनेमा आशावादी छ । गुरुङ भन्छन्, “समान पेन्सन पाएका भए यहाँ कोही आउने थिएनन्, ब्रिटिशहरूलाई पनि सबैलाई यहाँ ल्याएर पाल्नभन्दा नेपालमै समान सुविधा दिँदा कम भार पथ्र्यो ।”

बेलायतमा सक्रिय अर्को प्रमुख संगठन संयुक्त ब्रिटिश गोर्खा भूपू सैनिक संघ चाहिँ समान पेन्सनमा क्षतिपूर्तिको माग समेत थपेर आम बेलायतीको हस्ताक्षर बटुलिरहेको तथा छोराछोरी ल्याउने व्यवस्था गर्न राजनीतिक निर्णय गराउने प्रयास गरिरहेको छ । एक लाख हस्ताक्षर पु¥याएर बेलायती प्रधानमन्त्रीलाई बुझइने जानकारी दिँदै संघका ज्ञानराज राईले भने, “गोर्खा सैनिकहरू अवकाशलगत्तै यहाँ आउन पाएका भए उनीहरूका छोराछोरी पनि आउँथे र यहीं पढेर, काम गरेर बाबुआमा पाल्न सक्ने हुन्थे । त्यसो नभएर भूपूहरू अहिलेसम्म जुन कुराबाट वञ्चित हुनपुगेका छन्, बेलायत सरकारले त्यसको क्षतिपूर्ति पनि दिनुपर्छ ।”

संघसंस्थाका माग र अभियानहरू आ–आफ्नो ठाउँबाट अघि बढ्दै गर्लान्, तर निःसहाय भूपूहरूको समस्या भने दिनपरदिन जटिल बन्दैछ । अबको ५–६ वर्षपछि स्थिति झ्न् विकराल हुने संकेत गर्दै गेसो फार्नबोरोका अध्यक्ष भक्तबहादुर गुरुङ भन्छन्, “त्यस्तो अवस्थामा उनीहरूलाई केयर होममा जानुपर्ने हुनसक्छ । तर केयर होमको खर्च धान्न कसैले सक्ने छैनन् ।

त्यसको लागि बेलायत र नेपाल दुवै सरकारले अहिल्यैदेखि सोच्नुपर्छ ।” बूढापाका भूपूहरूको बेलायतको जीवन जति कष्टकर छ, मृत्यु झ्न् दर्दनाक । “यहाँ मरेपछि चिहान किन्न तीन–चार हजार पाउण्ड खर्च हुन्छ”, कास्की सिद्धका ६८ वर्षीय प्रेमजङ्ग शाही भन्छन्, “बेलायतीले समेत आफ्नो मृत्युसंस्कारका लागि जीवित छँदै फ्युनरल क्रेडिटको जोहो गर्नुपर्ने यो देशमा कसैको मृत्यु भयो भने गोर्खाली समुदायमा चन्दा आतंक नै मच्चिन्छ ।”

comments powered by Disqus

रमझम