मकै महिमा

Share:
  
- तुलसी गौतम
केही वर्षअघिसम्म “खाए मकै, नखाए भोकै” भन्ने पाल्पाको झडेवा बगालेवासीहरु हिजोआज “मकै त कुखुराले समेत खान छाडेको” बताउँछन् ।

स्रोतः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पुस्तिका, नेपाली खाद्य पदार्थमा पाइने पोषक तत्वहरू बाट ।
डाँडाको वस्ती, दुई–चार डोका मकै हुने पाखोबारी, साहूको घरमा खनजोत गर्दा ज्यालामा पनि मकै । पहिले मकै मात्र खानुपर्दा वाक्क पाल्पाको झ्डेवा बगालेमा अहिले सडक आएको र गाडीबाट चामलका बोरा झ्र्न थालेको छ । चामल किन्ने पैसा अरब, मलेशिया या बुटबलतिरबाट आउँछ । ‘मकै त कुखुराले समेत खान छाडेको’ भन्ने बगालेवासीको भनाइले मकैलाई हेलाँ गरेको प्रष्टै झ्ल्कन्छ, सँगसँगै नेपालीले यो गुनिलो अन्नको महत्व बुझन नसकेको पनि स्पष्ट हुन्छ ।

शहरबजारमा मधुमेहका रोगीलाई चामलको भातको साटो मकैको च्याँख्ला खानुपर्ने भएको छ । चामलमा भन्दा मकैमा कम कार्बोहाइड्रेड र ग्लुकोज तथा बढी प्रोटिन, क्याल्सियम, मिनरल, फस्फोरस हुने कुरा बुझन शहरियाले मधुमेहको रोगी नै हुनुपर्‍यो । क्याल्सियमले हाड र दाँत मजबुत बनाउनुका साथै मुटुको चाल ठीक राख्न मद्दत गर्दछ । प्रोटिनले शरीरको विकास र मिनरलले जीवन क्रियालाई संयमित र सन्तुलित राख्न योगदान गर्दछ । पोषणतत्वका आधारमा चामल भन्दा मकै निकै गुनिलो छ (हे. तालिका) । यही कारण, विश्वभर मकै नै बढी उत्पादन गरिन्छ । विश्वमा करीब १६ करोड हेक्टर जमीनमा ८२ करोड टन मकै उत्पादन हुन्छ । मकैपछि मात्र आउँछन्— गहुँ ६८ करोड टन र धान ६७.८ करोड टन । सबैभन्दा बढी मकै फलाउने पहिलो चार देशमा क्रमशः अमेरिका, चीन, ब्राजिल र भारत पर्दछन् ।

नेपालमा मकै

नेपालको मध्य पहाडी भेगको प्रमुख खाद्यान्न वाली मकै नै भए पनि गाउँघरमा मोटर चल्न थालेपछि चामलको हैकम बढेको हो । किसानहरूले मकैमा जाँगर देखाउन छाडेका छन् । गाउँमा साँझ्–बिहान पाक्ने मकैको च्याँख्ला वा ढिंडो राजमार्गका होटलमा रातोभालेसँग मात्र चल्ने परिकार हुनपुगेको छ । भौगोलिक क्षेत्रअनुसार नेपालको पहाडमा ७० प्रतिशत, तराईमा २० प्रतिशत र २९०० मिटर उचाइसम्मका उच्च पहाडी भेगमा १० प्रतिशत मकै खेती हुन्छ । कृषि तथा सहकारी मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०६६/६७ मा ८ लाख ७५ हजार ४०० हेक्टरमा मकै खेती गरिएको र १९ लाख ३० हजार ६७० टन उत्पादन भएको थियो ।

नेपालीहरूले खान छाडे पनि भारत र अर्जेन्टिनाबाट करोडौं रुपैयाँको मकै नेपाल भित्रिने गर्छ । आव २०६६/६७ मा मात्र रु.१२ करोड १८ लाख बराबरको मकैको बीउ र झ्ण्डै रु.१ अर्ब ३१ करोडको मकै भित्रिएको थियो । नेपालले मकैको तेल र ‘ब्राण्डेड’ उत्पादनहरू पनि आयात गर्छ । आयातको यो स्तरले नेपालमै मकै उत्पादन र प्रशोधनलाई विविधीकरण गर्न आवश्यक भएको जनाउँछ । नेपालीको खानपान शैलीमा सुधार नहँुदा मकै हेपिएको हो । विदेशमा जस्तै नेपाली ब्राण्डमा प्रशोधन गर्ने हो भने मकैको बजार सुनिश्चित छ । लगानीकर्ताले यो अवसर छोपे किसानहरूले व्यावसायिक मकै खेती गर्नेछन् ।

नेपालको २० जिल्लामा मकै र गहुँको खेती बढाउन अन्तर्राष्ट्रिय संस्था सिमिटले किसानहरूलाई समूह–सहकारीमार्फत सहयोग गरेको छ । मकैको राम्रो बीउ उत्पादन गरी उत्पादकत्व बढाउन जिल्ला जिल्लामा सरकारी प्रयास पनि जारी छ । यति हुँदाहुँदै पनि उन्नत मकैको बीउले कुल क्षेत्रफलको १० प्रतिशत हाराहारी मात्र ढाकेको बाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक डा. सुरोजकुमार पोखरेल बताउँछन् ।

अहिले देउती, रामपुर कम्पोजिट, मनकामना–३ लगायतका मकैका जातहरू किसानले रुचाएका छन् । एक पटक लगाएको उन्नत मकैको बीउ तीन–तीन वर्षमा फेर्नुपर्छ । उन्नत बीउले स्थानीय मकैको तुलनामा दोब्बर उत्पादन दिन्छ । तर किसानहरू बीउ फेर्न हतपत तयार हुँदैनन् । पाल्पा खस्यौलीकी राधा नेपालले यस वर्ष समूहमा ४८ क्वीन्टल मकै बीउ उत्पादन गराएकी थिइन्, तर १३ क्वीन्टल मात्र बिक्यो । यो सिजनमा नबिकेको बीउ अर्को वर्ष काम लाग्दैन, खाने भाउमा बिक्री गर्दा घाटा हुन्छ ।

नेपालमा एकातिर डेढ अर्ब रुपैयाँ भन्दा बढीको मकै आयात हुने र अर्कातिर उत्पादन बढाउने उन्नत बीउ नबिक्ने अवस्था छ । किसानले समयमा सही सूचना नपाउनु र प्रशोधन सुविधाको अभाव हुनु यसको प्रमुख कारण हो । कहाँ कति उत्पादन हुन्छ, कुन बीउ चाहिन्छ, त्यसको सूचना दिने र संकलन गर्ने काम भरपर्दो छैन । यसको संस्थागत दायित्व कृषि मन्त्रालयको हो । मकैको बीउ उत्पादन, बजार व्यवस्थापन र प्रशोधन गरी बच्चादेखि बूढासम्मका लागि थरीथरीका पौष्टिक परिकार बनाउनेतिर लाग्ने हो भने रोजगारी, खाद्य सुरक्षा, उत्पादन र आयात प्रतिस्थापन एकैसाथ हुन्छ ।

comments powered by Disqus

रमझम