जर्नी टु यार्सा को उकालो

Share:
  

यार्सा टिप्नेको लहर र निर्देशक दीपेन्द्र भण्डारी (तल) ।
नेपालगञ्जबाट रुकुमको सल्ले ओर्लिएर सानी भेरीको दायाँ–बायाँ गर्दै तीन दिन उत्तरपूर्वतिर उक्लेपछि मैकोट पुगिन्छ । पहिलो पटक बाग्लुङबाट मैकोट पुग्न ६ दिन लागेको थियो । मैकोटबाट तीन दिनमा ढोरपाटन शिकार आरक्षको दोगाडी ब्लक । “चार दिन दोगाडीका भीरपाखामा बिताएपछि नाउर शिकार हैन, यार्सागुम्बा संस्कृतिमा फिल्म बनाउने निर्णयमा पुगेको थिएँ”, चर्चित डकुमेन्ट्री जर्नी टु यार्सा का निर्देशक दीपेन्द्र भण्डारी भन्छन् ।

त्यसरी एक महिनामा रिसर्च सकेर अर्को वर्ष एचडी क्यामराले फिल्म खिच्ने योजना बुन्दै काठमाडौं फर्केका उनलाई मैकोटबाट गाउँलेहरू जेठ १०÷१२ मा ‘बुकी’ जाँदै छन् भन्ने खबर आयो । डेढ महिनाका लागि टीम लिएर जाँदा करीब रु.७ लाख चाहिन्थ्यो, तर चारतिर कुरा राख्दा पनि डकुमेन्ट्रीका लागि पैसा हाल्ने कोही फेला परेको थिएन । अन्ततः श्रीमतीको गहनाबाट जुटेको रकम, क्याननको एक्सएल १ क्यामरा, ब्याट्री र सोलार प्यानल बोकेर दिपेन्द्र एक्लै रुकुम हान्निए । उनी भन्छन्, “पाँचौं दिनमा मैकोट पुग्दा धेरैजसो गाउँले बुकी हिडीसकेका थिए ।”

त्यसको दुई दिनमा स्याखोला पुग्दा पुनिमाया बिकको परिवार भेटियो, जो जर्नी टु यार्सा का प्रमुख पात्रमध्येको थियो । त्यहाँबाट जति माथि गयो उति समस्या बढ्न थाल्यो । तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झ्र्ने उचाइमा बल्लबल्ल घाम लाग्दा सोलारमा चार्ज गरेको ब्याट्रीले १५÷२० मिनेट पनि नथेग्ने । यसरी करीब एक महिना दुःख गर्दा सोचेजस्तो छायाङ्कन भएन, २० घण्टा जतिको फुटेज बोकेर फर्किए, दीपेन्द्र ।

अब उनीसँग काठमाडौंमा मानिसहरूलाई ‘कन्भिन्स’ गर्ने चिज त थिए, तर फेरि पनि पैसा जुटेन । जेनतेन जुटाएको रकम र पहिलाकै उपकरणहरू लिएर आफैंलाई गुड लक भन्दै दीपेन्द्र मैकोटको तेस्रो यात्रामा निस्किए, २०६८ को जेठ पहिलो साता । दुलेमा पोहोर जस्तै रोल्पा, रुकुम, बाग्लुङ र म्याग्दीतिरका पात्रहरूको विशाल मेला थियो । त्यहाँबाट उँभो लागेपछि घाँसे मैदानहरूमा यार्सा टिप्नेहरू आफ्नै वेगमा हुन्छन्, क्यामरा बोकेर पछ्याउनै नसक्ने गरी । “यसरी २५ दिनमा काठमाडौं फर्कंदा ११ केजी घटेछु” दीपेन्द्र सम्झ्न्छन् । त्यसको दुई महिनापछि भएको फिल्म साउथ एशियाको उद्घाटनमा पुनिमायाको परिवारसहित जर्नी टु यार्सा को प्रदर्शन भयो । हलमा दर्शक नअटाउँदा अतिरिक्त शोहरू गरियो, दीपेन्द्रले ‘वेष्ट डेव्युट फिल्म अवार्ड’सँगै एक हजार डलर जिते ।

त्यसपछिको किम्फमा पनि फिल्मले अडियन्स अवार्ड पायो । यसरी उकालो लागेको जर्नी टु यार्सा का निर्देशक दीपेन्द्रको यात्रा २४–२८ फागुनमा फिनल्याण्डको ताम्पेरे महोत्सवमा पनि चर्चित भयो । ताम्पेरे विश्वविद्यालयको फिल्म र टेलिभिजन विभागका विद्यार्थीका लागि छुट्टै प्रदर्शनी भयो, उनको डकुमेन्ट्रि । त्यस लगत्तै ४ चैतमा क्यानडाको टोरन्टोमा भएको महोत्सवमा अडियन्स अवार्डसंगै ६५० अमेरिकी डलर पायो । ७–१० वैशाखको आठौं अल जजिरा फिल्म महोत्सवमा सहभागी एक मात्र नेपाली डकुमेन्ट्रिमेकर दिपेन्द्रले पुरस्कृत नभए पनि विद्यागत विमर्शको फराकिलो ठाउँ पाए । “डकुमेन्ट्री फिल्मको विषय नेपालमा जति अरू ठाउँमा नपाइएला !” दीपेन्द्र भन्छन्, “हाम्रो सिर्जनामा अन्तर्राष्ट्रिय नजर पनि परिसक्यो, तर, पैसा र प्रविधिको कमीले हाम्रो काम सशक्त हुनसकेको छैन ।”

comments powered by Disqus

रमझम