३० असार २०७० | 14 July 2013

'नाइन थाउजेण्ड' बुद्ध

Share:
  
शब्द/तस्वीरः डम्बरकृष्ण श्रेष्ठ

परिवारका साथ विन्दुराज शाक्य।
ऐतिहासिक–सांस्कृतिक शहर पाटनको महाबौद्व मन्दिरलाई नेपालकै पहिलो शिखर शैलीको संरचना मानिन्छ। यसका हजारौं खोपामा शाक्यमुनि बुद्धका ठूला–साना मूर्ति छन्, जसलाई बौद्ध विश्वले 'नाइन थाउजेण्ड बुद्ध'का नामले चिन्छ। स्थानीय कलाकार अभयराजले लुम्बिनी, गया, सारनाथ, कुशीनगर आदि बौद्ध स्थलहरूको भ्रमणपछि यो मन्दिर बनाएका थिए।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार, छानो विनाको र चैत्य पनि भन्न नमिल्ने ओकुबहालस्थित यो मन्दिरको अर्को विशेषता टेराकोटा शैली हो। १९९० सालको महाभूकम्पपछि जीर्णोद्धार गरिएको महाबौद्धलाई टेराकोटा ईंटसँगै वास्तु शैलीले काठमाडौं उपत्यकाका अरू मन्दिरभन्दा भिन्न बनाएको जोशी बताउँछन्। यहाँ सिटीनःख, क्वाँटीपूर्णे, बुद्धजयन्ती, दशैं लगायतका अवसरमा शाक्यमुनि, दिपाङ्कर लगायतका बुद्धसँगै बसुन्धरा, जोगिनी, धर्म धातु, मञ्जुश्री, चक्र संवत्, गणेश लगायतको ठूलो पूजा हुन्छ। यो बौद्ध मन्दिरमा भैरवको पूजा गरेर मासु चढाउने परम्परा छ।

अभयराजका पाँचौं पुस्ताका करीब २०० परिवारले पालो लगाएर यो मन्दिरको पूजा र संरक्षण गरिरहेका छन्। कुनै परिवारको पालो ५० वर्षमा एक पटक आउँछ भने कसैको २० महीनामा। जेठ तेस्रो सातादेखि एकमहीने पालो पाएका मूर्तिकार विन्दुराज शाक्य (५०) ले आफ्नो खलकको हाँगो थोरै भएकाले २० महीनामै पालो आएको बताए।

पालो पर्नेले पूजा–भेटीदेखि मन्दिर व्यवस्थापनसम्मको जिम्मेवारी वहन गर्नुपर्ने हुनाले पूरा परिवार यही सांस्कृतिक काममा लाग्छन्। उनीहरूको दिनचर्या बिहान ४ बजेको पूजादेखि बेलुकी ८ बजेको पूजासम्ममा व्यस्त हुन्छ। घरमूली मन्दिरको पुजारी हुन्छन्। एक महीनामा क्षमा पूजा गरेर पालो हस्तान्तरण गर्दा भोज समेत खुवाउनुपर्ने परम्परा छ। कसैको त जीवनभरमा एक पटक मात्रै पालो आउने भएकाले यो जिम्मेवारीलाई हरेक परिवारले ठूलो महत्व दिन्छन्। विन्दुराज भन्छन्, “अभयराजका सन्तान हौं भनेर चिनाउने अवसरको रूपमा आउँछ, पूजाको पालो।”

पारिवारिक पालोबाहेक अभयराजकै सन्तानमध्येका ज्येष्ठ पाँच जना (पाँच थकाली)को छुट्टै महाबौद्ध मन्दिर संरक्षण समिति र गुठी पनि क्रियाशील छ। पालो हस्तान्तरण र मुख्य पूजाहरूमा पाँच थकालीको उपस्थिति–अगुवाई अनिवार्य हुन्छ।

comments powered by Disqus

रमझम