१६-३२ साउन २०६९ | 31 July-16 August 2012

चन्द्रलाल झा

Share:
  

(१३ माघ १९९५–१२ साउन २०६९)

p63

पञ्चायती व्यवस्थाको जगजगीमा पत्रकारितामार्फत जनतालाई सुसूचित गराउने अभियन्ता थिए, चन्द्रलाल झा। काठमाडौं मरुहिटीका रैथाने झा नेपाल टाइम्स दैनिकका सम्पादक/प्रकाशक भएका बेला ६ दिनदेखि डेढ वर्षसम्म १७ पटक जेल परे। नेपाल टाइम्स माथि सरकारले 'आवश्यक वस्तु नियन्त्रण ऐन' को बहानामा समेत कारबाही गरेको थियो। दि कमनर बाट पत्रकारिता शुरू गरेका झा मातृभूमि, जन्मभूमि लगायतका पत्रिकामा पनि आवद्ध रहे।

झ्ा प्रजातन्त्र र पत्रकारिता पेशाप्रति कतिसम्म प्रतिबद्ध थिए भने राजा महेन्द्रले मन्त्री वा अञ्चलाधीश बन्न राखेको प्रस्ताव अस्वीकार गरिदिए। परिणाम, उनको ३१ रोपनी पुर्ख्यौली जग्गा अधिग्रहणमा पर्‍यो। उनी पञ्चायती व्यवस्थाको विरोध गर्दा व्यंग्यात्मक शैलीमा गम्भीर विषय उठाउँथे। नेपाल पत्रकार महासंघले नेपाली पत्रकारिताका यी अग्रज योद्धालाई २०५९ मा प्रेस स्वतन्त्रता सेनानीको सम्मान दिएको थियो।

नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा नेपाली कांग्रेसका नेता होमनाथ दाहाल पत्रकारितामा आफ्ना गुरु रहेका झालाई शासकविरुद्ध तीखा शब्दबाण प्रहार गर्न खप्पिस, स्वाभिमानी, संघर्षशील र स्वतन्त्रताका सच्चा पहरेदारका रूपमा सम्झ्न्छन्। तर, झ्ाले कहिल्यै, कुनै पार्टीको सदस्यता लिएनन्। मिसन पत्रकारिताको समयमा समेत व्यावसायिकतामा जोड दिए।

यद्यपि, अहिलेको पत्रकार पुस्ता प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रमा झाको योगदानसँग त्यति जानकार छैन। उनी यस्तो कालमा जन्मे कि नयाँ पुस्ताले उनको संघर्षमा सहभागी हुनै पाएन। झाको संगत पाएका पत्रकार पुरुषोत्तम दाहाल उनलाई निर्भीक, निडर र जस्तोसुकै हालतमा पनि जनतालाई सूचना दिनैपर्ने अडानमा दृढ पत्रकारको रूपमा सम्झ्न्छन्।

झाका श्रीमती, तीन छोरा र दुई छोरी छन्।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम