३० असार २०७० | 14 July 2013

१०० वर्षअघिका पुस्तक

Share:
  

तीन कितापः केही विचार

संकलन/सम्पादनः हेमाङ्ग दीक्षित

प्रकाशकः आशा दीक्षित

पृष्ठः १२४+८,

मूल्यः रु.१००

पेशाले चिकित्सक हेमाङ्ग दीक्षितले संकलन/सम्पादन गर्नुभएको तीन कितापः केही विचार पढेपछि मैले उहाँ एकजना राम्रो लेखक पनि भएको निष्कर्ष निकालें। सामान्य भाकामा भन्ने हो भने तीन किताप एक शताब्दी अघि नेपालीमा निकालिएको अक्षरारम्भ गराउने पुस्तक हो। १०० वर्ष पहिले शिशुबोधिनी (पहिलो र दोस्रो भाग) अनि गोरखाव्याकरणबोध शीर्षकका पुस्तक लेखिएका रहेछन्। तिनै कितापका आधारमा अहिले हाम्रो व्याकरण नचले पनि नेपाली भाषालाई व्याकरणको आधार प्रदान गरेका रहेछन्।

मेरो उद्देश्य तीन किताप माथिको टिप्पणी होइन। यसबारे किताबमै पर्याप्त पारिभाषिक टिप्पणीहरू गरिएका र धेरै ज्ञानवर्द्धक विषयहरू उठाइएका छन्। दुःखका साथ भन्नुपर्छ, ती अङ्ग्रेजी भाषामा छन्। कमल दीक्षितले समेत आफ्नो केही शब्द अङ्ग्रेजीमै लेख्नुभएको छ। अङ्ग्रेजी पढ्न गाह्रो मान्नेहरूले तीन किताप शीर्षकमा लुकेका अतिरिक्त तर महत्वपूर्ण ज्ञान छिचोल्नै पाउँदैनन्। भविष्यमा यो किताब नेपालीमा निकाल्नै पर्छ। अहिले म अज्ञानको पहाडले थिचिएर नेपाली भाषाबारे गलत निष्कर्ष निकालिरहिएको अवस्थामा तीन किताप को कुरा गर्न हतारिएको हुँ।

हेमाङ्ग दीक्षितले जर्मनीमा विद्यार्थी रहँदाको एउटा ज्ञानवर्द्धक उदाहरण दिनुभएको छ, पुस्तकमा। उहाँलाई एकजना शिक्षकले 'तिमी कुन धर्म मान्छौ?' भनी सोध्नुभएछ। स्वाभाविक रूपमा उहाँले आफू हिन्दू धर्मावलम्बी भएको बताउँदा शिक्षकले भन्नुभएछ, “त्यो (हिन्दू) त धर्म होइन, जीवनको सिद्धान्त हो।” अहिले हिन्दू राष्ट्र बनाउने अभियानमा लागेकाहरूले हिन्दुत्वको महानतालाई घटाइरहेका छन् भन्ने ज्ञान पाउन्।

कुरै नबुझी संघीयताको अभियानमा लागेका, एकल या बहुल जातीय पहिचानको माग गर्नेहरूले नेपाली भाषालाई बाहुनहरूको भाषा भन्छन्। त्यसभित्रका थोरथार फराकिलो मन भएकाहरूले नेपाली भाषालाई 'खस भाषा'सम्म भनेर दयाभाव देखाएका छन्।

तीन किताप मा हेमाङ्ग दीक्षितले भाषाको उद्गम र विकासबारे पनि नयाँ सत्य पस्किनुभएको छ। इसाको १९३० मा बेलायती सेनाका कर्णेल राल्फ टर्नरले पहिलो नेपाली– अङ्ग्रेजी शब्दकोश तयार पारेका रहेछन्। कहिल्यै नेपाल आउन नपाएका टर्नरले बेलायती गोर्खा पल्टनमा रहेका सैनिकहरूबाट नेपाली शब्द संकलन गरेका रहेछन्। सबैलाई थाहा छ– बेलायतीहरूले ब्रिटिश–गोर्खामा नेपालका जनजातिहरूलाई प्राथमिकता दिएका थिए। बेलायती गोर्खा फौजमा मगर, गुरुङ, राई र लिम्बूकै संख्या ज्यादा रह्यो। ज्ञानको अभावमै होला, आजका मगर, गुरुङ, राई र लिम्बूहरू आफ्ना पुर्खाले बोकेको भाषालाई बाहुनको भाषा बनाइरहेका छन्।

विश्व जति साँघुरिंदै जान्छ, नेपालका अरू भाषाको त कुरै छाडौं, नेपालीकै भविष्य पनि खतरामा पर्दै जान्छ। यस्तो अवस्थामा नेपालभित्रैबाट त्यसमाथि प्रहार हुनथाल्यो भने त्यो झ्ान् छिटो ओरालो लाग्छ। नेपाली भाषालाई बाहुनको भाषा भन्नेहरूले अहिले नै बुझ्नुपर्छ– नेपाली कमजोर भएर तामाङ, लिम्बू वा नेपाल भाषा बलियो हुँदैन। नेपाली कमजोर हुँदा, अहिले नेपालभित्र बोलिने कुनै पनि भाषा बलिया हुँदैनन्। यतिबेला नेपाली भाषा विरुद्ध विषवमन गर्नु भनेको, दक्षिण एशियाको सन्दर्भमा अङ्ग्रेजी भाषालाई बलियो बनाउनु हो भनेर आफूलाई जनजाति भनाउन चाहनेहरूले बेलैमा बुझ्नु राम्रो हुन्छ।

प्रदीप नेपाल


विदेश जानेका लागि

फर्केर हेर्दा
लेखकः सरिता अर्याल

प्रकाशकः बुकलेट पब्लिकेशन प्रा.लि.

पृष्ठः १२८+२८,

मूल्यः रु.२१०

प्राविधिक सीप, भाषिक ज्ञान र सम्बन्धित देशको काइदाकानून नजानी विदेश जाँदा भोग्नुपरेका पीडाले धेरै नेपालीको पैसा कमाउने सपना बगाइदिएको छ। त्यस्ता नेपालीको भोगाइ समेटिएको अनुभूति संग्रह हो– 'फर्केर हेर्दा'। किताबमा अमेरिका, इजरायल र दुबईका कार्यस्थल तथा जेलमा नेपालीहरूले पाएको मानसिक–शारीरिक यातनाको वर्णन छ। कति नेपालीले विदेशमा खाना पकाउन, ढोका खोल्न र सडकमा हिंड्न नजान्दा समेत धेरै दुःख पाएको पुस्तकले जनाउँछ।

भिसाको समय सकिंदासम्म पनि ऋण चुक्ता गर्न नसकेपछि त्यहींका व्यक्तिसँग नक्कली विवाह गरेका, कामको लागि धर्म परिवर्तनको दबाब, हुँदाखाँदाको जागिर छाडेर अमेरिका पुग्दा काम नपाएर हैरान भएका, कामले गर्दा एकअर्कालाई समय दिन नपाएर दाम्पत्य जीवन नै भताभुङ्ग भएका र विदेशका शहरमा नेपाली चेलीहरूको भोगाइको वर्णनले किताबलाई मर्मस्पर्शी बनाएको छ।

*मीना शर्मा *


न्याय नपाउनेको कथा

पीडाका ५००० दिन
लेखकः सावित्री श्रेष्ठ

प्रकाशकः गणेश–उज्जन (भुवन) स्मृति प्रतिष्ठान

पृष्ठः १३७+१७,

मूल्यः रु.२२५

टारकेराबारी–७ ओखलढुंगाका उज्जनकुमार (भुवन) श्रेष्ठको हत्यामा अदालतले सर्वस्वसहित जन्मकैद फैसला सुनाएर पनि निस्पि्कक्री घुमिरहेकालाई कानूनी दायरामा ल्याउन संघर्षरत सावित्री श्रेष्ठको संघर्षको कथा हो– 'पीडाका ५००० दिन'। उज्जन हत्यासँग जोडिएका घटनाक्रममा उनका दाजु गणेशकुमार र भतिजी रचनाको पनि ज्यान गएको छ, तर दोषीमाथि कारबाही भएको छैन।

ओखलढुंगा जिल्ला अदालतले उज्जन हत्यामा माओवादीका तर्फबाट सभासद् रहेका बालकृष्ण ढुंगेल र पार्टीका तत्कालीन ओखलढुंगा सेक्रेटरी पुष्कर गौतम दोषी किटान गर्दै सर्वस्वहरणसहित जन्मकैदको फैसला सुनाएको थियो। सर्वोच्च अदालतले पनि १९ पुस २०६६ मा जिल्ला अदालतको फैसला सदर गरेको थियो। तर, हत्याका प्रमाणित दोषीहरू पक्राउ नपर्दा पीडित परिवारले भोग्नुपरेको असह्य पीडा र अपमानको वर्णन छ, 'पीडाका ५००० दिन' मा। अदालतबाट दोषी ठहरेका ढुंगेल १० असार २०५५ मा उज्जनको हत्या हुँदा माओवादीमा प्रवेश नै नगरेको तर, गौतमले टर्चलाइट बालेर ढुंगेलले नै उज्जनलाई गोली हानेको दाबी पुस्तकमा छ।

पुस्तकमा परिवारका सदस्यहरूको श्रृंखलाबद्ध हत्या हुनुभन्दा पहिलाको सुखी पारिवारिक वातावरणदेखि सावित्रीको 'अन्तिम बिन्ती'सम्म समेटिएका छन्। लेखकले 'अन्तिम बिन्ती'मा चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अदालती फैसला कार्यान्वयनमा सघाउन आग्रह गरेकी छन्। हत्यारालाई कारबाहीको माग गर्दै हिंड्दा ज्यान मार्ने धम्कीदेखि पैसाको प्रलोभनमा पार्न खोजिएको प्रसंगहरूसम्म किताबमा छन्। धम्की दिनेको नाम, फोन नम्बर र हुलिया थाहा भएर पनि केही गर्न नसक्दाको पीडा र न्याय नपाएर आत्मदाह गर्ने घोषणादेखि माओवादीले 'अकुपाई बालुवाटार' अभियानलाई कसरी विफल पार्‍यो भन्नेसम्मका विषय पुस्तकमा छ।

प्रकाशक संस्थाको कार्यविवरण, समाचारका कटिङका चाङ, अचानाको चोट खुकुरीलाई नै थाहा हुन्छ जस्ता उल्टोपाल्टो उखान आदि अनेक कमजोरीहरू बिर्सने हो भने माओवादी हिंसाको पिसाइमा परेका सयौं परिवारको प्रतिनिधि अभिलेख बनेको छ, यो किताब।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम