३० असार २०७० | 14 July 2013

'रोलमोडल' सम्मान

Share:
  

हङकङ बेलायतबाट चीनमा हस्तान्तरण भएको १४ औं वार्षिकोत्सवको अवसरमा सम्मान–पदक पाउनेमा यसपालि चुरा थापा मगर पनि परे। समाजमा विशेष योगदान पुर्‍याएबापत हङकङका प्रमुख कार्यकारीले दिने यो सम्मान पाउने ३३७ जनाको नामावली १७ असारमा सार्वजनिक गरिएको थियो। हङकङ सरकारको गजेटमा थापा मगरले सामाजिक कार्यमा विशेष योगदान दिएबापत यो सम्मान प्रदान गरिएको उल्लेख छ। १ जुलाई १९९७ मा हङकङ चीनको स्वामित्वमा फर्केको थियो।

काठमाडौंमा बीएड गरेलगत्तै सन् १९९६ मा हङकङ आएका बाग्लुङ बुर्तिबाङका मगरले यहाँको बाप्टिस्ट विश्वविद्यालयबाट एमएड र हङकङ इन्स्टिच्युट अफ एजुकेशनबाट शिक्षा संकायबाटै पोष्ट ग्य्राजुएसन गरे। हङकङमा अल्पसंख्यक जातीय समुदायका विद्यार्थीको शिक्षालाई शोधको विषय बनाएर हङकङ विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका थापा यहाँ आएदेखि नै नेपाली समुदायको भलाइमा क्रियाशील छन्। सन् २००४ देखि २०१२ सम्म शिक्षण पेशामा रहेका उनी २००८ देखि आरटीएचके रेडियोमा गृहमन्त्रालयद्वारा प्रायोजित कार्यक्रम 'साप्ताहिक सन्देश' चलाइरहेका छन्।

भाषाका कारण अल्पसंख्यक जातीय समुदायका बालबालिकाले विद्यालयमा राम्रो गर्न नसकिरहेको र यहाँको शिक्षा नीतिप्रति अभिभावकहरू पनि अन्योलमा रहनुलाई हङकङ एउटा प्रमुख समस्या मानिन्छ। थापा त्यस्ता अभिभावक र विद्यार्थीहरूलाई निःशुल्क सल्लाह दिने एक मात्र काउन्सिलर पनि हुन्।

comments powered by Disqus

रमझम