८-१४ फागुन २०७३ | 19-25 February 2017

बेखुशीको व्यवसाय

Share:
  
- सन्त गाहा मगर
त्रिभुवन विमानस्थलमा दैनिक आइपुग्ने सरदर तीन वटा कफिनलाई मृतकको घरसम्म पुर्‍याउने ढुवानी सेवा फस्टाउनुले वैदेशिक रोजगारीको एउटा कुरुप पाटो देखाइरहेको छ।

विक्रम राई
मलेशियामा मृत्यु भएका उदयपुरका भीमबहादुर परियारको शव राखिएको कफिन।
मलेशियामा मृत्यु भएका बराह–५ उदयपुरका भीमबहादुर परियार (३५) को शव ४ फागुनको दिउँसो आउने खबर पाएका मेचीकाली अटो सेन्टरका तीन कर्मचारी शववाहनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। करीब दुई घण्टापछि भीमबहादुरका आफन्त दुईवटा ट्रलीमा कफिन राखेर विमानस्थल बाहिर निस्किए। कफिन राखेर रामबहादुर सिंजाली मगरले शववाहन हाँकेपछि अटो सेन्टरका कर्मचारीहरू सुरेश राउत क्षेत्री र सविता चौलागाई कार्यालय फर्किए।

ललितपुरको कुपण्डोलस्थित मेचीकाली अटो सेन्टरले विमानस्थलबाट शव बुझेर मृतकको घरमा पुर्‍याउन तीन चालकसहित सात कर्मचारी खटाएको छ। गत २४ मंसीरमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको टेन्डर पारेयता अटो सेन्टरले २८ वटा शव सम्बन्धित परिवार कहाँ पुर्‍याएको छ। सेन्टरकी कर्मचारी सविता चौलागाई भन्छिन्, “तीमध्ये सबभन्दा बढी सिरहाको ८ र सप्तरीको ६ वटा थियो।”

मेचीकाली अटो सेन्टरले ३० जिल्लामा शव पुर्‍याउने टेन्डर पाएको छ। बाँकी ४५ जिल्लाको टेन्डर बुद्ध छाप ढुवानी सेवा, सेती गणेश ढुवानी सेवा, माँ दन्तकाली सप्लायर्स प्रा.लि. र आरडी ढुवानी सेवाले पाएका छन्। शव पुर्‍याएबापत यी कम्पनीहरूले बोर्डबाट रु.८५० (काठमाडौं) देखि रु.४१ हजार ९०० (बैतडी) सम्म सेवा शुल्क पाउँछन्।

रुवाउने व्यवसाय

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार गठन भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आर्थिक वर्ष २०७२/७३ बाट टेन्डर आह्वान गरेर शव ढुवानी गराउन थालेको हो। त्यसअघि यातायात व्यवसायीमार्फत शव ढुवानी हुन्थ्यो। बोर्डको लेखा शाखाका आशिष भण्डारी शव धेरै आउन थालेपछि टेन्डरमा जानु परेको बताउँछन्। उनका अनुसार, आव २०६५/६६ मा पाँच वटा शव पुर्‍याएको बोर्डले गत आवमा ४५८ शवलाई घर–घरमा पुर्‍याइदियो। (हे. इन्फो) त्यसका लागि बोर्डले गत आवमा रु.२ करोड खर्च गरेको देखिन्छ।

दीर्घबहादुर श्रेष्ठ र हीरालाल ढकालले २०६५ सालमा पुरानो बानेश्वरमा खोलेको आरडी ढुवानी सेवाले काठमाडौं र सिन्धुपाल्चोकमा शव पुर्‍याउने टेन्डर पाएको छ। ४ फागुनमा मलेशियाबाट आएको देउराली–४, सिन्धुपाल्चोकका पुरनबहादुर श्रेष्ठ (४६) को कफिन बुझेका दीर्घबहादुर श्रेष्ठले व्यवसाय चले पनि आफूहरू खुशी हुन नसकेको बताए। “मृतकका छोराछोरी, श्रीमती, आमाबाबु बेहोश भएर ढलेको देख्दा मन थाम्न गाह्रो हुन्छ”, उनी भन्छन्, “कमाउन विदेश गएका नेपालीको शव कहिलेसम्म यसरी आइरहने?”

तीन रात तीन दिन नसुती शववाहन हाँकेको अनुभव सँगालेका उनी आफूहरू व्यवसाय भन्दा पनि सेवाभावले टिकेको बताउँछन्। २०६५ सालयता ६० जिल्लाका ५०० घरमा शव पुर्‍याएको उनले कतिपय घरमा कफिन छाडेर फर्किंदा बाटोमा रुने गरेको बताए। त्यस्तै, १० माघमा ३६ वर्षीय खुमबहादुर गुरुङको शव लिएर लिवाङ–९ रोल्पा पुगेका मेचीकाली अटो सेन्टरका चालक सिंजाली मगर (२६) बाबु पर्खेर बसेका १३, ७ र ५ वर्षका तीन छोरी देख्दा मन थाम्नै नसकी सबैको अगाडि भक्कानिएको सम्झ्न्छन्। साउदी अरबमा मृत्यु भएका गुरुङको शव घर आइपुग्न ६ महीनाभन्दा बढी लागेको थियो। “त्यही पीरले थलिएकी उनकी श्रीमतीको पनि मृत्यु भइसकेको रहेछ”, चालक मगर भन्छन्, “ती छोरीहरूलाई अब कसले खुवाउला, कसले पियाउला? तिनले कसरी बढ्ने, कसरी पढ्ने?”

प्रक्रियागत झ्न्झ्ट

१० जिल्लामा शव पुर्‍याउँदै आएको काठमाडौं, कपनस्थित बुद्ध छाप ढुवानी सेवाले ६ वटा गाडी 'स्ट्याण्डबाई' राखेको छ। सञ्चालक सूर्य तामाङ न्यूनतम शुल्कमा संखुवासभादेखि दार्चुलासम्म शव लैजाने गरेको बताउँछन्। ९ महीनासम्म पतिको शव नआउँदा आँशु रित्तिसकेका युवा महिला र तिनका चिचिला लालावालासँग 'डिल' गरेका छन्, तामाङले। कानूनी प्रक्रिया नपुर्‍याई विदेशिएका र पुरानो छाडेर नयाँ कम्पनीमा गएका नेपालीको परिवारको पति, बाबु वा छोराको 'शव हेर्ने भाग्य' समेत नभएको तामाङ बताउँछन्।

विदेशबाट मुश्किलले काठमाडौं विमानस्थल आइपुगेको शवलाई परिवारजनले घर पुर्‍याउन पनि उत्तिकै झ्मेला बेहोर्नुपर्छ। सूटकेसमा उपहार बोकेर आउने सपना बोकेर विदेशिएका कोही 'कफिनमा प्याक भएको' सुनेका परिवारजन पहिल्यै विचलित भइसकेका हुन्छन्। त्यस्तो बेला आफूहरूले नै विमानस्थलको सबै प्रशासनिक झ्मेला व्यहोरिदिने गरेको बताउने मेचीकाली अटो सेन्टरका शववाहन चालक बसन्त पाल बल्लबल्ल शव उठाएर लैजाँदा पनि बाटोमा प्रहरी प्रशासनले दुःख दिने गरेको अनुभव सुनाउँछन्। उनी भन्छन्, “कुनै प्रहरी त हामीले नै मारेर घरमा पुर्‍याउन हिंडेजस्तो व्यवहार गर्छन्।”

विदेशबाट शव झ्िकाउन जति कठिन छ, त्रिभुवन विमानस्थलबाट घरसम्म पुर्‍याउन पनि झ्ण्डै उति नै झ्न्झ्टिलो छ। मृत्युको खबरले टाढाका जिल्लामा अधमरो भएर बसेका श्रीमती, आमाबुबा र छोराछोरी शव 'रिसिभ' गर्न काठमाडौं आउनै नसक्ने अवस्थामा हुन्छन्। आफन्त वा छिमेकीहरूलाई मृतकले काम गरेको कम्पनी, अवधि, स्थान, उमेर जस्ता स–साना सबै विवरण थाहा हुँदैन। परिणाम, विमान ल्याण्ड भएको घण्टौंसम्म कफिन बाहिर निस्कँदैन।

जसोतसो कफिन निकालेर हिंड्यो बाटोभरि प्रहरीको सोधपुछ झेल्नुपर्ने चालक पाल बताउँछन्। शव पुर्‍याएपछि परिवारले बुझेको मुचुल्का उठाउनुपर्छ। राति पुग्दा वा नजीक प्रहरी कार्यालय नभएको अवस्थामा मुचुल्काको लागि अर्को एक दिन पर्खनुपर्ने बुद्ध छाप ढुवानीका सञ्चालक सूर्य तामाङ बताउँछन्। “त्यसमाथि, कतिपय प्रहरी हामीले सेवा होइन, अपराध गरेजस्तो व्यवहार गर्छन्”, तामाङ भन्छन्, “बोर्डबाट शव ढुवानीबापतको रकम लिन सम्बन्धित गाविसमा शव पुर्‍याएको सिफारिश ल्याउनुपर्छ।”

गाविस सचिव सदरमुकाम वा अन्य गाविसको काममा छन् भने शव पुर्‍याउने चालक वा कम्पनीका प्रतिनिधिले पर्खनु वा सचिव जहाँ छन्, त्यहीं पुग्नुपर्छ। त्यसमाथि, कतिपय सचिव सिफारिश लेख्दा पनि पैसा माग्छन्। वैदेशिक रोजगारीको क्षेत्रमा अध्ययन–अनुसन्धान गर्दै आएका डा. गणेश गुरुङ स्थानीय निर्वाचन नहुँदासम्मका लागि वडास्तरीय सर्वदलीय समितिको सिफारिश चल्ने व्यवस्था गरे यसमा अलि सजिलो हुने बताउँछन्।

असंवेदनशील बोर्ड

आर्थिक वर्ष २०७१/७२ मा ४ लाख १८ हजार ७१३ नेपाली वैधानिक प्रक्रिया पूरा गरेर विदेशिए। त्यस अवधिमा रु.६६५ अर्ब ६ करोड रेमिट्यान्स भित्रिएको आँकडा छ। चालू आवको पहिलो ६ महीनामा एक लाख ७४ हजार ९७१ जना वैदेशिक रोजगारीमा गए भने साउनदेखि पुससम्म रु.२८७ अर्ब ६६ करोड रेमिट्यान्स भित्रियो। मुलुकको अर्थतन्त्रमा यत्रो योगदान पुर्‍याउने कामदारहरूप्रति सरकार भने संवेदनशील देखिंदैन।

वैदेशिक रोजगारीमा गएकामध्ये दैनिक सरदर तीन जनाको शव काठमाडौं विमानस्थलमा आइरहेको छ। त्यो जान्दा जान्दै पनि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले चालू आवका लागि शव ढुवानीको टेन्डर सम्झ्ौता निकै ढिलो गरी गर्‍यो। ३ साउनमा टेन्डर आह्वान गरे पनि कात्तिक–मंसीरमा आएर मात्र सम्झौता गर्‍यो। परिवारजनलाई शव बुझ्ाउने जस्तो संवेदनशील विषयमा बोर्ड कति असंवेदनशील छ भन्ने कुरा लामो दूरीका शववाहनमा दुई जना चालक राख्नै पर्ने र वाहनहरूको वर्गीकरणसम्म नगरेबाट पनि प्रष्टिन्छ। वैदेशिक श्रमका अध्येता डा. गुरुङ भन्छन्, “शव बोकेको गाडी बाटैमा बिग्रिएर बस्दा त्यसलाई पर्खेर बसेका परिवार र आफन्तजनमा कस्तो असर पर्छ भन्ने कुरा बोर्ड र व्यवसायी दुवैले मनन् गर्नुपर्‍यो।”

comments powered by Disqus

रमझम