६ साउन २०७० | 21 July 2013

घर न घाटको अवस्था

Share:
  

हिमाल (२३ असार) मा प्रकाशित 'भुमरीमा एमाओवादी' पढेपछि केही लेख्न मन लाग्यो। राजनीतिको असली परिभाषा नभएका यी नेताहरूले अरूको घरमा डढेलो लगाउँदा कस्तो आनन्द लिनु भो त्यसरी नै आफ्नो घर जल्दा पीडा हुँदोरहेछ भन्ने कुरा बुझनुहोला। आफ्ना कार्यकर्ताको कामको सम्मान दिन सिकेपछि मात्र जनतालाई आशा–भरोशा दिन सकिन्छ। घरपरिवार छाडेर भाडामा बसी जीविकोपार्जनको लागि मजदूरी गर्दै हिंड्ने मानिस जस्तो घर न घाटको नबनाउनोस् कार्यकर्तालाई। अहिले कुनै पनि पार्टीमा सच्चा, निष्ठावान र कर्तव्यनिष्ठ नेता छैनन्। जताततै नातावाद र कृपावाद हावी छ। देश नेताको फूटबल मैदान होइन। जन्म दिने र कर्म दिने भूमिको लागि एक हुन सिक्नुहोस्।

पुरुषोत्तम श्रेष्ठ, इमेलबाट

यस्तो कानून चाहिंदैन

हिमाल (२३ असार) मा प्रकाशित 'कागजमै सीमित' समाचारले जो कोहीलाई पनि छुन्छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिंढीमा घिसि्रंदै गरेका अपाङ्गता भएका व्यक्तिको तस्वीरले हाम्रो वास्तविकता झ्ल्किन्छ। यसमा नीतिनियम बनाउन माहिर सरकारको कार्यान्वयन पक्ष कमजोर देखिन्छ। कानून बनाएर कार्यान्वयन गर्न सकिन्न भने त्यस्तो कानून किन बनाउनु?

रसना ढकाल, बालकोट–५, भक्तपुर

कारबाही गरेर देखाउनुस्

हिमाल (२३ असार) मा प्रकाशित 'संवैधानिक अधिकारको दोहोलो' समाचार पढेपछि केही लेख्न मन लाग्यो। अख्तियारले पनि गर्न सक्ने काममा मात्र हात हाल्नुपर्छ। पहिले नै मिडियाले अनियमितता गरेको भनी औंल्याएका मानिसलाई पछि कारबाही गर्न नसकेको खण्डमा भोलिका दिनमा अख्तियारमाथि प्रश्न उठ्ने पक्का छ।

गोविन्दप्रसाद मरासिनी, इमेलबाट

सान्दर्भिक सम्पादकीय

हिमाल (१६ असार) मा प्रकाशित मधेशी दलहरूको राम्रो पहल सम्पादकीय सकारात्मक सन्देश दिने खालको छ। सम्पादकीयमा उल्लेख गरे झै मधेशी नेताहरूले पहाड हुँदै हिमालसम्म आफ्नो राजनीतिक गतिविधि बढाउनु जरूरी छ। मधेशी दलहरू क्षेत्रीय दलमा सीमित हुँदा बृहत् रूप लिन सक्दैन। देशलाई बुझनका लागि सबै समुदायलाई समेट्न तराईबाट पहाडहुँदै हिमालसम्म राजनीतिक क्षेत्र विस्तार गर्नुपर्दछ। यो मुलुक हिमाली, पहाडी र तराई―मधेश क्षेत्रमा बसोबास गर्ने सबैको साझा हो। जहाँ गए पनि आफ्नो भूमि र हामी सबै नेपाली हौं भन्ने सन्देश एकले अर्कालाई दिन सक्नुपर्छ। सामाजिक सद्भाव बढाएर द्वन्द्वरहित समतामूलक समाज निर्माणको लागि यस्ता कदमको सुरुआत दलहरूबाट नै हुनुपर्छ। राजनीतिले चिरा पारेको नेपाली समाजलाई एकै ठाउँमा जोड्ने धागो पनि यही नै हो।

फुर्पा तामाङ, ठूलोभार्खु, रसुवा

कारबाही होस्

हिमाल (१६ असार) मा प्रकाशित 'घातक प्रतियोगिता' समाचार सान्दर्भिक लाग्यो। आजकल विभिन्न प्रतियोगिताका नाममा दैनिकजसो यस्ता खालका क्रियाकलापले बालबालिकाको बौद्धिक विकासमा मात्र होइन, पारिवारिक समस्या पनि उत्पन्न गराएको छ। प्रतियोगितामा भाग लिन खोज्ने छोराछोरीलाई आवश्यक रकम नहुँदा अभिभावकले भोग्नु परेको समस्यातर्फ सबैको ध्यान जाओस्। खुलेआम पैसा लुट्नेहरूमाथि कारबाही होस्।

सुनिता माली,इमेलबाट

मधेशी नेताको ध्यान जाओस्

हिमाल (१६ असार) मा प्रकाशित 'उत्तर जोडिंदा फाइदा' समाचार जानकारीमूलक लाग्यो। पहाडसँग सडक जोडिएका तराईका जिल्ला जति सम्पन्न पहाड नजोडिएका जिल्ला छैनन्। मुलुक संघीयतामा जाने तयारीमा जुटेका बेला यस्ता कुराप्रति मधेशी नेताहरूले ध्यान दिने हो भने भोलिको नेपाल पक्कै समृद्ध हुनेछ।

विनोद तिमिल्सिना, इमेलबाट

राणाकालीन झझाल्को

हिमाल (१६ असार) मा प्रकाशित सेना र प्रहरी प्रमुखमा साना स्वार्थले सुरक्षा अंगलाई कमजोर र विभाजित बनाउँदैछ भन्ने 'स्वार्थी नेतृत्व' सम्बन्धी समाचार पढ्दा निकै दुःख लाग्यो। देश अग्रगमनतिर लाग्यो भन्छन् तर यहाँ त राणाकालीन पदोन्नति प्रथा पो शुरू हुन लाग्यो जस्तो छ।

जनक भट्ट, इमेलबाट

ध्यानाकर्षण

हिमाल (२३ असार) मा प्रकाशित 'संवैधानिक अधिकारको दोहोलो' शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। लेखमा मलाई उद्धरण गरी लेखिएको व्यहोराको आशय कुनै पनि कानून कार्यान्वयन गर्ने निकायबाट सूचना चुहावट भयो भन्ने नरहेको र उक्त व्यहोरा मार्फत नेपाल राष्ट्र बैंकको कार्य प्रक्रियालाई इंगित मात्र गरिएको स्पष्ट पार्न चाहन्छु।

भाष्करमणि ज्ञवाली, प्रवक्ता नेपाल राष्ट्र बैंक

comments powered by Disqus

रमझम