सौन्दर्य प्रतियोगितामा सहभागी अधिकांशको लक्ष्य हुन्छ, मोडलिङ र अभिनय गर्ने। तर, मिस नेपाल २०१६ की रनर अप तथा मिस नेपाल इन्टरनेशनल वर्षा लेखी भने यतिबेला नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा वातावरण विज्ञान पढिरहेकी भेटिन्छिन्।
मनोरञ्जन क्षेत्रमा रुचि नै नभएको भए मिस नेपाल मा भाग लिनुको अर्थ के त? पाटन संयुक्त क्याम्पसबाट स्नातक गरेकी वर्षा यसमा जातीय थिचोमिचोले काम गरेको तर्क गर्छिन्। “थारु समुदायका युवतीलाई कमैया र कम्लरीका रुपमा मात्रै हेरिएको थियो”, उनी भन्छिन्, “हामी पनि कम छैनौं भनेर प्रमाणित गर्नुथियो।” कहिल्यै राम्ररी श्रृंगार नगर्ने आफूलाई इखले नै उपाधि जिताएको उनको दाबी छ।
मिस नेपाल इन्टरनेशनल भएपछि मोडलिङ र चलचित्रका 'अफर' आए पनि वर्षा त्यतातिर लागिनन्। “अहिलेसम्म त्यतातिर रुचि छैन”, वर्षा भन्छिन्। मिस नेपाल इन्टरनेशनल को ताजले 'क्लिन अप नेपाल–२०१६' सद्भावनादूत बनेकी उनी यसबाट रुचिको विषय वातावरण विज्ञानबारे बुझ्न निकै सहयोग पुगेको बताउँछिन्।
उसो भए वर्षा वातावरणविद् बन्न चाहन्छिन्? “होइन, वातावरणबारे जानेर म राजनीति गर्न चाहन्छु”, उनी भन्छिन्। शरीरको सौन्दर्य प्रतियोगिताकी सहभागी उनलाई अब बौद्धिक कर्म गर्न मन छ। “यस्तो भएन, उस्तो भएन भन्दै नेता र पार्टीहरूलाई गाली गरेर मात्र केही हुन्न। आफैं काम गर्नुपर्छ”, उनको अठोट छ। उनको भनाइमा, सप्तरीको फत्तेपुरमा जन्मे–हुर्केकी उनले तराई–मधेशका पीडा महसूस गरेकी छिन्, हिमाल–पहाडका दुर्गम गाउँका समस्या देखेकी छिन्। “त्यसैले पनि मलाई राजनीतिप्रति चाख छ”, उनी भन्छिन्।
राजनीतिमा वर्षाको चासो जगाउने अरु कोही नभई राष्ट्रिय नागरिक पार्टी, नेपालका अध्यक्ष राजकुमार लेखी हुन्। वर्षा उनकै छोरी हुन्।
बच्चु विक
पुल नहुँदाका व्यथा
बजारबाट सामान किनेर फर्केका धने (केदार बोहोरा) पूर्वी लमजुङको दोर्दी खोलाको फड्केबाट अचानक खस्छन्। साथीहरूले उनलाई पहिल्यै तर्न भनेका हुन्छन्। तर, उनी साथीहरूलाई अघि लगाएर मात्र फड्के पार गर्ने अड्डी कस्छन्। खस्दा डोकाको सामान मात्र बग्दैन, उनी स्वयं बेपत्ता हुन्छन्। धनेलाई खोलाले बगाएको कुराले परिवारमा मात्र होइन, गाउँमै रुवाबासी चल्छ।
निरक्षर धनेलाई घरमा के के सामान ल्याउने भनेर कागजमा लेखेर पठाइएको थियो। यो सूचीमा श्रीमती र छोरीहरूका लागि खरीद गर्नुपर्ने विवरण पनि समेटिएको थियो।
लमजुङको मञ्जरी नाट्य समूहले २९ माघ र १ फागुनमा बेसीशहरमा देखाएको नाटक फड्के ले धेरैलाई दुई दशकअघिको दोर्दी खोला वारपारका बस्तीको जनजीवनमा पुर्याएको थियो, जुनबेला दोर्दीमा झोलुगे पुल बनेकै थिएन।
खोलो तर्न नसकेर गर्भ परीक्षण गराउन नसकेकी धनेकी श्रीमती निर्मली (शान्ति श्रेष्ठ) को विवशता त छँदैछ नाटकले खोलाकै कारण स्कूल जान नसकेका दुई छोरीको बाध्यताले पनि दर्शकलाई विह्वल बनाउँछ। “फड्के ले विगत मात्र होइन, वर्तमान पनि देखाएको छ”, लमजुङका स्थानीय विकास अधिकारी शेखर पौड्याल भन्छन्।
पुरु लम्सालको लेखन तथा निर्देशनमा मञ्चित यो नाटक प्रेक्षालयले प्रदर्शनमा ल्याएको हो। एक घण्टा लामो यो नाटक हेर्न सदरमुकामवासीको घुँइचो लागेको थियो।
युवराज श्रेष्ठ/लमजुङ