पहिले योजना बनिसकेका काम सक्दै भत्किएका भवन, मठ―मन्दिर, पौवा मर्मत गराउनेछु। पर्यटकको सुविधाको लागि धर्मशाला बनाएर खानेपानी र अरू सुविधाको व्यवस्था गर्नेछु। साथै पशुपति क्षेत्रको जानकारी लेखिएका सूचनापाटीहरू पर्याप्त मात्रामा टाँस्ने योजना छ।
सदस्य सचिवको तपाईंको पहिलो कार्यकाल विवादमा वितेको थियो नि, हैन?
पशुपतिमा उठेको भेटीलाई नियम बनाएर प्रयोग गर्नुपर्छ भन्दा म विवादमा परें। मूल भट्टले मसँग काम गर्न नसक्ने भनेपछि राजीनामा दिएँ। तर, अहिले मैले भने अनुसार नै ऐन आएकाले म त्यो बेला गलत थिइनँ भन्ने प्रमाणित भएको छ।
पशुपतिको भेटी व्यवस्थापन र मृगस्थलीमा किरात समुदायको समाधिबारेको विवादलाई कसरी समाधान गर्नुहुन्छ?
भेटीको विवाद अहिले खासै छैन। नियमित तलब बाहेक विशेष पूजाको पैसा पाउनुपर्ने पुजारीको माग केही दिनमै मिल्छ। मृगस्थलीमा समाधि बनाएर लाश गाडियो भने खाली ठाउँ नै बाँकी रहँदैन। पहिले पनि जोगी र सन्न्यासीको मात्र लाश गाडिन्थ्यो, समाधि नबनाई। तर, त्यो विवाद पनि छलफल गरेपछि मिल्छ।
अरू ठाउँका देवस्थलहरू जस्तो पशुपति सफा र व्यवस्थित किन हुन नसकेको हो?
महीना दिनमै उठ्ने रु.१४―१५ करोड व्यवस्थापन गर्न नसकेर यस्तो भएको हो। पहिले जस्तो यो क्षेत्रमा काम गर्ने अरू निकायसँग अब समन्वयको अभाव पनि हुने छैन। अब पशुपति क्षेत्र यस्तो लथालिङ्ग रहँदैन।
पशुपति क्षेत्रको विकासमा कोष र भट्ट―भण्डारी तथा अधिकारसम्पन्न वागमती आयोजनाबीच कस्ता असहमति छन्?
हाम्रो उद्देश्य एउटै भएकाले असहमति हुने कुरै भएन। वागमती र पशुपति दुवैको उत्तिकै महत्व छ। घाट र नदीको सरसफाई गर्दै नदीमा शुद्ध पानी बगाउन हामी मिलेर काम गर्छौ।