६ साउन २०७० | 21 July 2013

सतायो सर्पदंशले

Share:
  

२१ असार बिहान ७ बजे झापा बैगुन्धुरा–९ की सातवर्षे मञ्जु ऋषिदेवलाई सुतिरहेको ठाउँमा गोमन सर्पले डसेपछि हतारहतार दमक रेडक्रसको सर्पदंश उपचार केन्द्र पुर्‍याइयो, जहाँ उनलाई तीन दिनमा दुई पटक अक्सिजन र कडा औषधि भएको '१५ भाइल एएसभी' दिनुपर्‍यो।

त्यही दिन धान रोप्दै गर्दा हातमा सर्पले डसेपछि मोरङ मधुमल्ला–७ की भीमकुमारी श्रेष्ठ (५०) लाई पनि रेडक्रसकै सर्पदंश केन्द्र पुर्‍याइयो। जहाँ, त्यही दिन सर्पको डसाइबाट पीडित झापा तोपगाछी–२ की २०वर्षे मुना दंगाललाई पनि ल्याइएको थियो। श्रेष्ठ र दंगाललाई डस्ने सर्प धेरै विषालु नभएकाले 'एन्टी स्नेक भेनम एएसभी' दिनु परेन।

तस्बीरहरुः गोपाल गड्तौला
सर्पले डसेकी बालिका मञ्जु ऋषिदेव र उनलाई डस्ने गोमन सर्प।

वर्षामा बढी

दमकको सर्पदंश उपचार केन्द्रका स्वास्थ्यकर्मी देवीप्रसाद भण्डारीका अनुसार उपचार केन्द्रमा सर्पले बढी डस्ने वर्षायाममा दैनिक ५/६ जना ल्याइन्छन्। पछिल्लो ११ महीनामा त्यहाँ ल्याइएका पूर्वी मोरङ र पश्चिम झापाका १ हजार ८७ जनामध्ये १५४ जनालाई गोमन, करेत, गुरुबे र हरेउ जस्ता विषालु सर्पले डसेका थिए। तीमध्ये झ्ण्डै ६० प्रतिशत अर्थात् ६७० जना महिला थिए। पछिल्लो ११ महीनामा त्यहाँ ल्याइएका बिरामीमा ७ जनाको निधन भएको बताउँदै भण्डारी भन्छन्, “गाउँको झारफुकबाटै निको पार्न खोज्दा नभएपछि ढिलो आइपुग्नेहरूको मृत्यु भएको हो, सर्पले डसेको आधा घण्टामा यहाँ ल्याउने हो भने कोही मर्दैनन्।”

वर्षाको पानीले बासस्थान दुलाहरू भरिएपछि आहारा र न्यानो खोज्दै सतहमा निस्केका सर्पले मानिसलाई डस्ने गर्छ। घाँस काट्ने, धान रोप्ने, माचको पराल तान्ने र कोठेबारीको काम बढी गर्ने हुनाले सर्पको डसाइबाट महिला बढी पीडित हुन्छन्।

चिकित्सकहरूका अनुसार, एउटा वयस्क गोमन सर्पको विषथैलोमा १५० मिलिग्राम विष हुन्छ। जबकि, सर्पको १५ मिलिग्राम विष वयस्क मानिसलाई मार्न पर्याप्त हुन्छ। एउटा करेतमा हुने २० मिलिग्राम विषले चार जना मानिसलाई मृत्युको मुखमा पुर्‍याउन सक्छ। सर्पको विष मानिसको शरीरमा प्रवेश गरेपछि केन्द्रीय स्नायु प्रणाली र मांसपेशीलाई असर पार्छ र रगत पनि फटाउँछ। र, त्यसको बेलैमा उपचार नहुँदा मानिसको मृत्यु हुन्छ।

असार दोस्रो साता गोमन सर्पले डसेर उपचार गराएकी झापा महारानीझोडाकी लक्ष्मी गौतम ।

पहिले पूर्वी झ्ापाको चारआलीमा रहेको सेनाको ब्यारेकमा मात्र सर्पदंशको उपचार हुने गरेकोमा २६ जेठ २०५५ मा रेडक्रस उपशाखाले स्थापना गरेको पश्चिम झ्ापाको दमकमा सर्पदंशको उपचार शुरू भएको हो। रेडक्रसको दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकी भन्छन्, “गरीब, खेतमा काम गर्ने र झुप्राको भुईंमा सुत्ने आदिवासीहरूको समस्यालाई विचार गरेर उपचार केन्द्र खोलिएको हो।”

उपशाखाले सर्पले डसेर ल्याएका एक जना बिरामीबाट रु.२ हजार शुल्क लिने गरेको छ। त्यो रकमबाट बिरामीलाई ल्याइदिने मोटरसाइकल चालकलाई दूरी हेरी रु.३०० देखि रु.५०० सम्म उपशाखाले दिन्छ। यसका लागि उपशाखाले झ्ापा र मोरङको ग्रामीण क्षेत्रका दुई सय युवालाई मोटरसाइकल स्वयंसेवकको तालीम दिएको छ।

रेडक्रस उपशाखा दमकको सर्पदंश उपचार कार्यक्रमलाई स्वीट्जरल्याण्डको जेनेभा हस्पिटल एण्ड युनिभर्सिटी र संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगले सहयोग गरेको छ। जेनेभा हस्पिटलले विषालु सर्पले डसेका ठाउँमा रहेको रहलपहल विष र रगत संकलन पनि गर्ने गरेको छ। अध्ययन र अनुसन्धानमा काम लाग्ने त्यस्तो विष र रगत विगत दुई वर्षमा २०० जनाको संकलन गरेर पठाइएको छ। यस्तो विष र रगत लगेबापत हस्पिटलले रेडक्रसको दमक उपशाखाको सर्पदंश उपचार केन्द्रलाई आवश्यक उपकरण र र औषधि एएसभी उपलब्ध गराएको छ। शरणार्थी आयोगले केन्द्रलाई रु.२५ लाख बराबरको एम्बुलेन्स र बिरामीको मुटुको चाल नाप्ने पोर्टेबल भ्यान्टिलेटर प्रदान गरेको छ।

गोपाल गड्तौला, झापा


सम्झौता नहुँदा रकम फिर्ता

जिल्ला विकास समिति धनुषाले जिल्लाको दक्षिणपूर्वका एकदर्जन गाविसलाई सदरमुकाम जोड्न जलाधि नदीमा पुल बनाउन २ जेठ २०६८ मा 'सूर्या आरबी कन्स्ट्रक्सन जेभी' सँग सम्झौता गर्‍यो। रु.१ करोड ६८ लाखको सम्झौता अनुसार कम्पनीले १५ महीनामा पुल निर्माण गरिसक्नुपर्ने भए पनि अझै पुलको जग समेत बनेको छैन।

ईश्वरचन्द्र झा

चार वर्षयता निरन्तर बजेट छुट्याइएको जनकपुर नगरपालिका–१ र १६ लाई जोड्ने जलाधि नदीको झोलुङ्गे पुल २३ असारमा बल्ल शिलान्यास भएको छ। उपभोक्ता समिति चयन विवाद र स्थानीय विकास अधिकारी जिल्लामा नबस्दा समयमा बजेट निकासा नभएकाले रु.३३ लाख ४८ हजार लागतको ५२ मिटर लामो र ४ फीट चौडा यो पुल निर्माण शुरू हुनसकेको थिएन।

दलको किचलो समस्या

दलहरूबीचको किचलो र स्थानीय विकास अधिकारीको अनुपस्थितिले धनुषाको विकास निर्माणमा नकारात्मक प्रभाव पारेको छ। धनुषाका १०१ गाविसमध्ये अधिकांशमा दुई किस्ताको रकम फिर्ता हुने स्थिति आउनुको मुख्य कारण त्यही हो।

धनुषा जिविसको पछिल्लो तीन वर्षको बजेट।

जिविस धनुषाको ३० फागुन २०६९ मा भएको बन्द सत्रले चालु आवका लागि रु.५५ करोड ५९ लाख बजेट प्रस्तुत गर्नुअघि नै स्थानीय विकास अधिकारी तारानाथ अधिकारीलाई फोरम लोकतान्त्रिकका नेता–कार्यकर्ताले कुटेदेखि जिल्लाको स्थिति बिग्रन थालेको हो। सो घटनापछि योजना स्वीकृत नगरी बन्द सत्र स्थगित भयो भने स्थानीय विकास अधिकारी जिल्ला छाडेर काठमाडौं बस्न थाले। जिविसका योजना अधिकृत भुवनेश्वर पोखरेल भन्छन्, “राजनीतिक संयन्त्र विघटन भएपछि केही राजनीतिक दलले जिल्लाको विकास निर्माणमा चासो देखाउन छाडे भने केहीले जसरी भए पनि आफूले भनेको योजनालाई रकम पार्न दबाब दिन थाले।”

ईश्वरचन्द्र झा, जनकपुर


कस्ता निर्दयी

१८ असार बिहान दाङको हापुर गाविस–४ पतेनीमा सालनालसहित फेला परेको नवजात शिशुको स्थानीयवासीले उद्धार गरी नारायणपुरस्थित प्रहरीचौकीलाई खबर गरे। त्यसरी बेबारिसे छाड्नेको खोजी गर्दा प्रहरीले हापुर–१ की दुर्गा बस्नेतलाई फेला पार्‍यो।

गजेन्द्र बोहरा
दाङको हापुर गाविसमा भेटिएको शिशु।

दुई छोराछोरीकी आमा बस्नेतले श्रीमान रोजगारीका लागि खाडी मुलुक गएपछि परपुरुषसँगको हिमचिमबाट जन्मिएको बच्चाको पिता नभेटिएकाले छाडेको जिल्ला प्रशासन कार्यालयमा बयान दिएकी छन्। “चितवनको हुँ भने पनि ठेगाना र नाम समेत थाहा नभएपछि विना बाबुको बच्चा जन्माउँदा लाज हुने भएकाले यसो गरें” उनको भनाइ थियो। स्थानीय प्रशासनले बच्चा जिम्मा लगाएपछि उनी जिल्लाको महिला सेवा केन्द्रमा बसेकी छन्।

असार पहिलो साता दाङ देउखुरीको जंगलमा भेटिएको अन्दाजी दुई वर्षीय बालकलाई घाँसदाउरा गर्न गएका स्थानीयले प्रहरीमा बुझाए। बालक अहिले सशस्त्र प्रहरी ज्वालामाई गण भालुबाङका एसपी मानबहादुर रजालीको संरक्षणमा छन्। रजाली भन्छन्, “यतिका दिनसम्म कोही लिन नआएकाले बच्चालाई जानीजानी छाडेको देखिन्छ।” २१ असारमा नेपालगञ्जमा बेवारिसे अवस्थामा फेला परेको अर्को शिशुलाई प्रहरीको सहयोगमा उद्धार गरिएको थियो। प्रहरीका अनुसार झाडीमा फालिएको बच्चालाई धेरैले लैजान खोजेका छन्।

चेतना अभाव

सन्तान नभएकाहरू बेवारिसे बच्चालाई आफ्नो बनाउन लालायित देखिन्छन् भने सन्तान भएका केही निर्दयी देखिएका छन्। दाङमा कार्यरत अधिकारकर्मी लक्ष्मी आचार्य बच्चा फाल्नु अपराध भए पनि कोही महिलाका लागि त्यो बाध्यता बन्ने गरेको बताउँछिन्। आचार्य भन्छिन्, “हाम्रो सामाजिक संरचनाका कारण लोकलाजको डर र भविष्यका कारण बच्चा फालिन्छ।” उनी यसका लागि महिलालाई मात्रै दोषी ठहर्‍याउनु गलत हुने बताउँछिन्।

देउखुरीको जंगलमा भेटिएको बालकलाई संरक्षणमा लिएका सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर रजाली।

चेतनाको कमीले यस्तो समस्या बढी आएको बताउने अर्की अधिकारकर्मी सरिता भुषाल भन्छिन्, “परिवार नियोजनका साधन र सुरक्षित यौन सम्पर्कबारे चेतना नहुँदा यस्तो समस्या आएको हो।” नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक बसन्त खनालको बुझाइमा अस्थायी साधन प्रयोग गर्न हिच्किचाउने प्रवृत्तिले यस्तो समस्या बढाएको छ।

कतिपय महिलालाई गर्भपतन सम्बन्धी कानूनी व्यवस्थाबारे थाहा नभएर पनि यस्तो समस्या बढेको देखिन्छ। सामान्यतः (लिङ्गभेद बाहेक) १२ हप्तासम्मको गर्भपतत गराउने अधिकार कानूनले महिलालाई दिएको छ भने हाडनाता करणी, बलात्कार लगायतका घटनामा १८ हप्तासम्म गर्भपतन गराउन पाइन्छ। चिकित्सकले महिलाको स्वास्थ्यमा खतरा देखेमा पनि गर्भपतन गराउन सक्ने कानूनी व्यवस्था छ। खनालका अनुसार चालु आर्थिक वर्षमा परिवार नियोजन संघको जिल्लामा रहेको स्वास्थ्य क्लिनिकबाट १५ वर्षमाथिका ३७८ जनाले गर्भपतन गराएका छन्। जिल्ला प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्ल बच्चा जन्माई बेवारिसे फाल्नेमाथि 'अवैध गर्भपतन'को मुद्दा लाग्ने र अदालतमा अभियोग प्रमाणित भएमा कैदसम्मको सजाय हुने बताउँछन्। बच्चालाई बेवारिसे छोड्दा मृत्यु भएमा आमाबाबु दुवैलाई कर्तव्य ज्यान मुद्दा लाग्ने कानूनी व्यवस्था छ।

गजेन्द्र बोहरा, दाङ

comments powered by Disqus

रमझम