६ साउन २०७० | 21 July 2013

कोशीको कथा–व्यथा

Share:
  
- दीपक अर्याल
नेपाल र भारतबीच भएको कोशी सम्झौताको मातृकाप्रसाद कोइरालाको पुस्तक र गोर्खापत्र को त्यो बेलाका समाचारहरूले बचाउ गरेका छन्।

प्रत्येक वर्षासँगै कोशीको कथा/व्यथाको चर्चा शुरू हुन्छ। अखबारका अग्रपृष्ठहरूको केही भाग यसैको चर्चा परिचर्चाले भरिएका हुन्छन्। मध्यपृष्ठहरूमा कथाव्यथाका कारण खोतलिएका हुन्छन्। कैयौंमा त नेपाल र भारतबीच भएको कोशी सम्झौताको खारेजीको माग समेत गरिएको हुन्छ। पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले त्यही कोशी सम्झौताबारे 'कोशीको कथा' नाममा एउटा पुस्तक लेखेका छन्, जुन वि.सं. २०४६ मा प्रकाशित भएको थियो।

मातृकाको पुस्तकमा कोशीलाई चिनाउँदै लेखिएको छ– 'काठमाडौं उपत्यकादेखि पूर्व साँगाभञ्ज्याङ काट्नासाथ महाकोशीको सहायकहरूको पानीढलो प्रारम्भ हुन्छ― भोटेकोशी, इन्द्रावती, रोशी (रोषमती), सुनकोशीले पूर्व १ नम्बरदेखिको पानी सोहोरेर अगाडि बढ्दछन्, दूधकोशी, तामाकोशी उत्तरबाट सुनकोशीमा मिसिन आउँछन्, अरूण उत्तरबाट र तमोर पूर्वबाट आई सप्तधारामा मिसिन्छन् अतः काठमाडौं खाल्टादेखि पूर्व मेची पश्चिमको नेपाल समस्त कोशी क्षेत्र हो।'

नेपाल–भारतबीच कोशी योजना सम्झौता १२ वैशाख २०११ (२५ अप्रिल सन् १९५४) मा भएको थियो। सम्झौतामा नेपाल सरकारको तर्फबाट योजना, विकास तथा भूमिसुधार मन्त्री महावीर शमशेर र भारतको तर्फबाट योजनामन्त्री गुलजारीलाल नन्दा सहभागी थिए। मातृकाको पुस्तकका अनुसार, कोशीको पानीको स्रोत हिउँदमा लगभग २०–३० हजार क्यूसेक अर्थात् प्रतिसेकेण्ड २०–३० हजार घन फीट र वर्षामा वर्ष हेरी १० लाख क्यूसेकदेखि १५ लाख क्यूसेकसम्म पुग्छ। ५०–७५ वर्ष जति अगाडि यसले बगाइल्याउने माटो, बालुवा, गेगर प्रति वर्ष तीन करोड सत्तरी लाख टनदेखि पाँच करोड पचास लाख टनसम्म भएको अनुमान गरिएको छ। जुन, ६९ करोड १० लाख घन फीट हुन्छ। मातृकाको पुस्तकमा सन् १९६५ र ६६ मा कोशीबारे पुनः नयाँ सम्झौता भएको उल्लेख छ।

कोशी नियन्त्रणका लागि राणाकालमै सैद्धान्तिक स्वीकृत भई अन्वेषणका काम भएका, २००७ सालको क्रान्तिपछि संयुक्त मन्त्रिमण्डलका पालामा र नेपाली कांग्रेसको पहिलो मन्त्रिमण्डलका पालामा पनि ती काम भएको मातृकाको पुस्तकमा उल्लेख छ। त्यसको अर्थ कोशी सम्झौता कांग्रेस सरकारले भारतको हितमा वा दबाबमा एक्कासी गरेको नभएर त्यो सम्झौताको पृष्ठभूमि पहिले नै तयार भएको भन्ने लाग्छ। जसको जानकारी त्यो बेलाको गोर्खापत्र को समाचारले पनि दिन्छ।

१ साउन २००३ को गोर्खापत्र को 'कोशी नदीलाई ९५ करोडको पूजा' शीर्षकको समाचारमा लेखिएको छ– 'भारत सरकारको केन्द्रीय जलमार्ग, पानी पटाउने काम र जलमार्ग निर्देशन गर्ने कामको मिसनले १० वर्षमा तामेल गर्ने गरी कोशीनदीको बाढीबाट बचाउ गर्ने र सो नदीबाट उन्नतिका धेरै अभिप्राय सिद्ध गर्ने हिसाबले एउटा तरजुम्म तयार पारेको छ। यस कामलाई कं.रु.९५००,००,००० (९५ करोड) खर्च अड्कलिएको छ।'

बराह क्षेत्रमा कोशीको बाँध बनेको भए नेपाललाई बढी फाइदा हुने तर्कको जवाफमा मातृकाले पुस्तकमा 'सो ठाउँमा बन्ने ७३० फिटको विशाल बाँध भौगर्भिक हिसाबले ठीक नहुने, खर्च बढ्ने र उत्पादित विद्युत् धेरै हुने र यसको उचित उपभोग नहुने तथा भारतसँग तत्कालीन समयमा त्यति धेरै रकम खर्च गर्ने क्षमता नरहेको' लेखेका छन्। मातृकाको पुस्तकमा उल्लेख भएअनुसार नै त्यो बेलाको गोर्खापत्र ले लेखेको छ, 'यो इन्तिजामले नेपाल र बिहारको ३०,००,००० वर्ग मिल भन्दा अझ् बढ्ता जमिनमा पानी पटाउने काम विस्तृत गराउनेछ। अर्को कुरो– खाद्यान्नको टोहो, टोहो परेका बखतमा कृत्रिम ठाउँ बनाई माछा पाल्ने कामको सुविधाहरू र अन्दाजी १०,००,००० किलोवाट पानी बिजुली पैदा गर्ने सुविधाहरू पनि यो इन्तिजामले प्रदान गर्ला। यो इन्तिजाम बमोजिम काम गर्ने निकासा नेपाल सरकारबाट पनि बक्सेको छ।'

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)

comments powered by Disqus

रमझम