एमाओवादी, कांग्रेस र एमालेको त्रिदलीय सिण्डिकेट तथा जिल्ला प्रशासनले त्यति ठूलो र भव्य दरबारलाई 'उपयोग' गर्नुपर्ने निष्कर्ष निकालेका रे! त्रिदल र प्रशासनको बुझाइमा ऐतिहासिक सम्पदाको उपयोग गर्नु भनेको त्यहाँ सरकारी कार्यालय राख्नु रहेछ। संग्रहालय बनाउनु भनेको त्यो भवनलाई 'भूतघर' बनाउनु हो भन्ने तिनको ठम्याइ हुँदो हो। त्यसैले उनीहरू दरबारलाई भूतघर बन्न नदिने भगीरथ प्रयासमा छन्।
पुरातत्वको ध्वंस
१८ माघ २०६२ मा माओवादीले आक्रमण गर्नुपूर्व यो दरबार जिल्ला प्रशासन कार्यालय, जिविस, कोष तथा लेखा नियन्त्रण, राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायको मुकाम बनेको थियो। माओवादीहरूले झोसेको आगोले दुई दिनमा लगभग पूरै दरबार ध्वस्त भयो। 'नयाँ नेपाल बनाउन' हिंडेकाहरू ऐतिहासिक सम्पत्ति खरानी बनाउन सफल भएका थिए।
त्यसको डेढ वर्षपछि असार २०६४ बाट पुनर्निर्माणको काम शुरू भयो। शहरी विकास तथा भवन निर्माण विभागले यसको पुनर्निर्माणमा राणाकालीन वास्तुशैलीको संरक्षण गरेको थियो। असार २०६७ मा सक्ने लक्ष्य रहेको यो परियोजनाका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयले रु.४ करोड ९२ लाख उपलब्ध गराएको थियो। लागत बढाएर साढे पाँच करोड रुपैयाँ पुर्याउँदै लक्षित समयभन्दा दुई वर्ष ढिलो गरी बल्ल काम सकिन आँटेको बेला उपयोगको किचलो झिकिएछ।
पुनर्निर्माण गरिएको भवनको वास्तु महत्वपूर्ण पुरानोको जस्तो हुँदैन। तर पनि घाउ बिर्साउने र विस्तारै वैभव फर्काउने उत्तम उपाय पुनर्निर्माण नै हो। पुरानै जग कायम गरी ईंट, काठ, सुर्की लगायतका परम्परागत सामग्री, वास्तुशैली र आवरणको ६ बुर्जासहित ६३ कोठे पुरानै चारतले भवनको झल्को दिने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको प्रयास प्रशंसनीय छ। आपत्तिजनक त संग्रहालय बनाउने उपाय फ्याँकेर सरकारी कार्यालय राख्ने नयाँ निर्णय छ।
राजनीतिक र निजामती मगजहरू पुरातत्वलाई अनुत्पादक ठान्छन्। यस्तो बुद्धिका कुवेरहरू त्रिचन्द्र क्याम्पसलाई चोभारतिर सारेर रानीपोखरी छेउमा बडेबडे व्यावसायिक कम्प्लेक्स बनाउन खोज्छन्। 'सडक सानो भयो' भन्दै ऐतिहासिक मठमन्दिरका भित्तामा इनामेलले यति मिटर र उति मिटर भत्काउनुपर्ने सूचना लेखिदिन्छन्। विद्युत् विस्तारका नाममा उनीहरूले ऐतिहासिक सिन्धुलीगढीमा समेत खिम्ती―ढल्केबर २२० केभी प्रसारण लाइनको पोल गाड्न भ्याए।
'पाल्पा दरबारलाई उपयोग गर्र्न' संग्रहालय बनाउने योजना खारेज गर्ने बुद्धि त्यही मूलबाट फुटेको होला। संग्रहालय बन्यो भने दरबारमा आगो झोसेका काला फोटाहरू भित्ताभरि टाँसिएला र आफ्नो अपराधको दस्तावेज बनेर अनन्तकालसम्म रहला भन्ने पीरले पनि नयाँ योजना फुरेको हुनसक्छ।
१९८२ सालमा वीरशमशेरका छोरा प्रतापशमशेर काठमाडौंबाट धपाइएपछि उनले भग्न दरबारको पुनर्निर्माण सिंहदरबारकै शैलीमा गरे। १९८४ मा पुनर्निर्माण सकेर बडाहाकिम प्रतापशमशेर त्यहीं बसेकाले दरबार बडाहाकिम निवास भनियो। ३० रोपनी जमिनमा फैलिएको दरबारमा २०१५ सालदेखि सरकारी अड्डाहरू बसेका हुन्। अब त्यसलाई संग्रहालय बनाउनुपर्छ। यस कार्यमा स्थानीयवासीलाई सघाउनेहरूको जय होस्!