६-१२ चैत २०७३ | 19-25 March 2017

'नेपथ्य' लाई हाईहाई

Share:
  

२९ फागुनमा दर्शकले खचाखच भरिएको हङकङको युनलङ थिएटर हलमा नेपाली सांगीतिक समूह नेपथ्य ले आफ्ना नयाँ, पुराना गीतहरू प्रस्तुत गरिरहँदा गायक अमृत गुरुङ पुराना दिनहरू पनि सम्झिरहेका थिए।

हङकङको स्टेजमा छैटौं पटक गाइरहँदा पनि अमृतलाई यो ठाउँ आत्मीय लाग्छ। किनभने, सधैंजसो आफ्ना आफन्त, गाउँले मात्र होइन, संगीतका सहयात्रीहरू समेत दर्शकदीर्घामा हुन्छन्। यसपटक पनि यस्तै भयो, नेपथ्य का संस्थापकमध्येका एक लिड गिटारिष्ट भीम पुन, 'जोमसोमै बजारमा' गीतका गीतकार रक्ष गुरुङ र गीतकार तथा संगीतकार विक्रम गुरुङ उनैले गाएको सुनिरहेका थिए।

नेपथ्यका संस्थापकमध्येका भीम पुनसँग अमृत।

जगत अम्बु
युनलङ थिएटर हलमा गाउँदै अमृत गुरुङ।

आफ्नो प्रस्तुतिको शुरुआत नै अमृतले विक्रम गुरुङको संगीत र सरुभक्तको रचना 'कुरुप अनुहार हो, यहाँ कोही साथी छैन' बाट गरेका थिए। युवा अवस्थामा तयार पारेको गीत सेतै फुलिसकेका बेला सुनिरहेका विक्रमले आफूले गीतमा उबेलाकै मूड पाएको बताए।

तमु ट्हो ह्युलको 'आठौं रोदी साँझ' का अवसरमा आयोजित नेपथ्य को प्रस्तुतिमा सबै पुस्ताका नेपाली अटाएका थिए। होलीको दिन, संगीत र रंगीचंगी प्रकाशको रंगमा गायक अमृत खचाखच भरिएका दर्शकहरूसँग गीतसँगै संवाद पनि गरिरहेका थिए। उनी पटक–पटक नेपाललाई सबै मिलेर बनाउनुपर्ने सन्देश दिइरहेका थिए। भनिरहेका थिए, “हाम्रो सुन्दर देश नेपाललाई परदेशमा रहेर पनि उत्तिकै माया गरौं, सबै मिलेर बनाऊँ।“

३१ वैशाखमा हुने स्थानीय निर्वाचन सफल बनाउन प्रवासी नेपाली समेत जुट्नुपर्ने बताउँदै उनले यही पृष्ठभूमिमा 'गाउँ–गाउँबाट उठ..' गाएका थिए। प्रस्तुतिको अन्त्य 'तिमी पनि नेपाली–म पनि नेपाली–हामी नेपाली' गीतबाट गरिएको थियो। अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

आयोजक संस्थाका अध्यक्ष गणेश गुरुङले नेपथ्य को नाम सुनेरै दर्शक ओइरिएको बताए।

कार्यक्रमपछि अमृतले हङकङ आउँदा आफ्नै गाउँ–ठाउँ पुगेको अनुभूति हुने बताए। “म चाहन्छु, हङकङमा नेपथ्य या अरु नेपाली समूहको यस्तो कन्सर्ट होस्, जहाँ चिनियाँहरू पनि लाम लागून्, र नेपाली संगीत बुझुन्“, उनले भने।

डम्बरकृष्ण श्रेष्ठ, हङकङमा


सशस्त्र प्रहरीको नृत्य

हङकङस्थित एभरेष्ट मिडियाको आयोजनामा २८ फागुनमा भएको 'सगरमाथा साँझ्ा' मा सशस्त्र प्रहरी बल (एपीएफ) का कलाकारहरु आकर्षणको केन्द्र बने। एपीएफका प्रहरी नायब निरीक्षक प्रेम श्रेष्ठ नेतृत्वको कलाकार टोलीद्वारा प्रस्तुत नृत्य दर्शकले औधी रुचाए। प्रहरी कलाकार राजीव बज्राचार्य, नरेश घले, देव थिङ, रेशु नेपाली, नवीना केसी, अनिता रञ्जितकार, मन्दिरा न्यौपाने र मनु लिम्बूको राष्ट्रिय गीत, लोक तथा हास्यनृत्यहरुले दर्शकको मन जित्यो। युनलङ थिएटरमा भएको कार्यक्रममा हास्यकलाकार विल्सन विक्रम राई, गायक राजन राई, विमल मगर, अमृता सम्बाहाम्फेले आफ्ना प्रस्तुति पस्केका थिए।


वृत्तचित्रमा रत्नकुमार वान्तवा

तीन दशकअघि इलामको देउमाईमा मारिएका रत्नकुमार वान्तवाबारेको वृत्तचित्र 'बलिदान कहिल्यै मर्दैन' हङकङका दर्शकमाझ प्रदर्शन गरिएको छ। सञ्चारकर्मी जसकुमार राईले निर्देशन गरेको वृत्तचित्रमा पञ्चायतकालमा मारिएका वान्तवाको हत्याका प्रत्यक्षदर्शी, परिवार तथा आफन्तसँगै राजनीतिक सहयात्रीहरुसँगको संस्मरण समेटिएको छ।

नेपालका कम्युनिष्ट पार्टीहरुले नै वान्तवाको योगदान बिर्सिंदै गएकाले उनीबारे नयाँ पुस्तामा जानकारी होस् भनी वृत्तचित्र बनाएको निर्देशक राईले बताए। हङकङअघि वृत्तचित्र अमेरिका तथा नेपालका विभिन्न भागमा देखाइएको थियो।

comments powered by Disqus

रमझम