६ साउन २०७० | 21 July 2013

आत्मनिर्भर बन्दै लुम्बिनी

Share:
  
- जीवनप्रसाद राई
बाहिरबाट हेर्दा चकमन्न लागे पनि लुम्बिनी अञ्चलका किसानले आफ्नो सम्भावना ठम्याइसकेका छन्।

तस्वीरहरुः जीवन राई
अयोध्या थारु।
२०४२ सालतिर भोजपुर होम्ताङ–१ को लंखा प्राविमा देशका अञ्चलहरू चिन्ने क्रममा मैले पहिलो पटक लुम्बिनीबारे सुनेको थिएँ। लुम्बिनी हेर्ने अवसर भने नेपाल समृद्ध बन्दैछ भन्ने प्रमाणहरू खोज्ने अभियानको क्रममा चैत २०६९ मा जुर्‍यो।

७ चैतमा ४१ औं जिल्लाको रूपमा रूपन्देही जिल्ला सदरमुकाम भैरहवा पुग्दा सोमप्रकाश क्षेत्रीसँग लुम्बिनीका कृषि सम्भावनाबारे पहिलो कुराकानीको अवसर पाएँ, जो आफैं एलोभेरा, स्टेभिया, उसिर र तरकारी खेतीका अगुवा किसान रहेछन्। क्षेत्रीसँग उनको छपिया गाउँ जाँदा व्यावसायिक माछा र केरा खेतीमा लागेका अरू धेरै किसान भेटिए। यस गाउँमा १०० बिघाभन्दा बढी पोखरीमा माछापालन भइरहेको रहेछ। “गाई–भैंसी वा बाख्राजस्तो हैन, माछा”, पुराना माछापालक शम्भु शाहले भने, “न भोक लागेर कराउँछन्, न त दाना नपाए एक महीनामै मर्छन्; फेरि यसको बजार पनि राम्रो छ।” क्या मजाको काम!

गाईदेखि अष्ट्रिचसम्म

१७ चैतमा गांगोलियास्थित अष्ट्रिच फर्मको गेटमा रु.१०० को टिकट काटेर भित्र पस्दा दक्षिण एसियामै सर्वथा नौलो काम गरेका सीपी शर्मा काममै भेटिए। फ्रान्समा अष्ट्रिचको मासु खाएर यसको विश्व बजार बुझेका शर्माको फर्ममा अहिले साना–ठूला गरी ५०० अष्ट्रिच छन्। अष्ट्रिचको मासु विश्व बजारमा किलोको रु.२५०० पर्छ भने चल्लालाई रु.२० हजार। एउटा अष्ट्रिच २०० किलोसम्मको हुने शर्माले बताए।
अष्ट्रिच पछि शशि पौडेलको गाई फार्म हेर्न टिकुलीगढ पुगें। पौरखी पौडेलले १३ बिघा जग्गामा ३५० गाई पालेर दैनिक २६०० लिटर दूध उत्पादन गरिरहेका रहेछन्।

बाच्छी मात्र जन्माउने प्रविधि भित्र्याइसकेका पौडेलले वायो अर्गानिक मल निर्यातको योजना सुनाउँदै थप २८ बिघा जग्गा लिजमा लिएर घाँस लगाएको जानकारी दिए। टिकुलीगढ पछि भागदरी गाविस पुग्दा मैले भेट्न चाहेका अयोध्या थारू पनि गोठमै भेटिए।

रूपन्देहीमा साना–ठूला गरेर ५० भन्दा बढी गाई फार्म रहेछन्। थारूले १५० गाई पाल्दाको अनुभव र जाँगरका रोचक घटनाहरू सुनाए। जस्तो, दुई वर्ष अगाडिसम्म गाई किन्न पैसा नपुगेर हैरान हुँदा कुरा मात्र सुनेर रित्तोहात फर्काउने ब्याङ्कहरूले अहिले 'जति चाहिन्छ, लिन आऊ' भनिरहेका छन्। भनेपछि, पौरखी किसानका दिन आएन त!

रूपन्देहीबाट नवलपरासीको परासी बजार पुगेर लघु उद्यम संघका व्यवस्थापक धनीमाया मस्राङ्गीसँग जिल्लाको मुख्य कृषि उत्पादनबारे सोधखोज गर्दा पाल्ही गाविसमा रवीन्द्रकुमार साहनीको पौरख हेर्ने सल्लाह पाइयो। नभन्दै, साहनीले ९ बिघा क्षेत्रफलको माछा पोखरीमा वार्षिक ३ करोड ८० लाख माछाका भुरा उत्पादन गरिरहेका रहेछन्। “प्रति पिस भुरा ५० पैसामा बेच्छु”, हँसिला साहनीले भने, “नेपालको भुरा भारतमा पनि राम्रो मानिएकाले भ्याईनभ्याई छ।”

श्रीमती दुर्गा घिमिरेको नामसुवास पाल्हीमै सुनेर सोझै सुनवल पुगें। घिमिरे परिवार मौरीबाटै मालामाल भएको रहेछ। नवलपरासीमा मौरी पालन फस्टाएको देखेर धादिङका केशव अर्यालको याद आयो। मंसीर २०६८ मा उनको घर नलाङ्गमा वास बस्न पुगेको थिएँ। खानापछिको कुराकानीमा उनले ४० जिल्लामा मौरीपालन तालीम दिएको बताउँदा उति पत्याएको थिइनँ। तर, दुर्गा घिमिरेको कुरा सुनेपछि अर्याल नेपालका साँच्चिकै 'माहुरी बाजे' लाग्यो।

नवलपरासीपछि कपिलवस्तु पुग्दा भने अलि खिन्नता महसूस भयो। नेपालको पछिल्लो मानव विकास सूचकाङ्कमा छिमेकी रूपन्देही आठौं र कपिलवस्तु ४६ औं स्थानमा रहेछ। पंचायती व्यवस्थाले बनाएको यो सामन्ती स्वर्गमा जमिन्दारी–ठालुवाद अझै मजबूत रहेछ। विकासका सानातिना काम बाहेक कृषिमा कुनै उल्लेख्य नभएको जानकारी बटुलेर म सदरमुकाम तौलिहवाबाटै लुम्बिनीका पहाडी जिल्लातिर लागें।

सीपी शर्मा।

लुम्बिनीका पौरखी पहाड

कृषितर्फको नेपाली समृद्धि र सम्भावना नियाल्दै हिंड्दा आफूले लेखेका किताबहरू बिक्री पनि गर्नुपर्ने भएकोले मेरो यात्रा प्रायः असजिलो हुने गर्छ। गाडीवालाहरू किताबको कार्टूनलाई सुनकै बक्सा हो भने जसरी भाडा असुल्न खोज्छन्। ११ वैशाखमा भैरहवाबाट पाल्पा जाँदा पनि त्यस्तै भयो। साँझ्को शीतलमा तानसेन पुगेपछि मात्र दिनभर तातिएको टाउको हल्का भयो।

भोलिपल्ट मदनपोखरा पुग्दा तरकारी र फलफूलको व्यावसायिक विकासदेखि सामुदायिक वन र गिद्ध संरक्षणसम्मको क्षेत्रमा भएका नमूना कामहरू देख्न पाइयो। कृषि सहकारीबाट 'होमस्टे' चलाएका दिदीबहिनीले मदनपोखराले तरकारी र फलफूलबाट वार्षिक रु.१ अर्ब कमाउन थालेको बताए। यसअघि धनुषाको मधुवासाका किसानहरूले गाउँमा कृषि पर्यटनको विकास गरेको सुनेको थिएँ। 'होमस्टे'का दिदीबहिनीका अनुसार, मदनपोखराको अर्को विशेषता श्रमको सम्मान हो। यहाँका क्याम्पस प्रमुख, शिक्षक–शिक्षिका, सभासद्, जिविस सभापति सबैले खेतबारीमा आफैं काम गरेबाट विद्यार्थीहरूलाई ठूलो प्रेरणा मिलेको दिदीबहिनीहरूले बताए।

शशि पौडेल ।

मदनपोखरापछि जरेपीपल गाउँमा केशव कार्कीको घर पुगें, वायो डिजलको प्रयोग हेर्न। सजीवनको तेलबाट ट्रयाक्टर/मोटरसाइकल चलाएका कार्कीले च्याउ, तरकारी खेती, माछा–बंगुर पालनदेखि पानी संकलन–बिक्री वितरणसम्म गर्दारहेछन्। अब हाँस पालनको सुर कसेका कार्कीले पर्यटकीय हिसाबको पूर्वाधार विकास थालेको बताए। त्यहाँबाट धोवाघाट पुग्दा पूर्व डीएफओ रामकृष्ण कार्की व्यावसायिक बंगुर पालनमा व्यस्त भेटिए। गन्धरहित बंगुर फार्ममा पाठा बेच्न माउ मात्र पालिएका रहेछन्। ११६ दिनमा सबै माउले एक चक्कर लगाउने गरी खोरको संरचना बनाइएको रहेछ।

धोवाघाटबाट भीष्म अधिकारीको सिर्जना कृषि फार्म हेर्न खस्यौली पुगियो। २८ जना शेयर सदस्य रहेको ३०० रोपनीको यो फार्ममा 'होमस्टे'सँगै बोर जातका १०० बाख्रा रहेछन्। बोर पाठा तीन महीनामै १८ किलोसम्म भएको अनुभव सुनाउँदै अधिकारीले बाख्राको संख्या बढाउन भुईं र डालेघाँस थप्न थालेको सुनाए। २१ वैशाखमा गुल्मी पुगेर सदरमुकाम तम्घासमा तीन दिन बिताइयो। चौथो रात धनबहादुर पुनको घर भार्से पुगियो। नेपालकै अगुवा अगरउड किसान पुनले अहिले बाख्रा पनि पालेका रहेछन्। ९०० रोपनी जमिनको आधा जतिमा १५ हजार अगरउड हुर्कंदै गरेको देख्दा अर्कै संसारमा पुगेझै लाग्छ।

दुर्गा घिमिरे।

भार्सेबाट खैरेनी हुँदै रिडी पुग्दा सबैले पहिले थानापति गाविस गएर कमलराज श्रेष्ठको पौरख हेर्न सल्लाह दिए। नभन्दै, त्यहाँ आकाशे पानी संकलनका ठूल्ठूला प्लाष्टिक पोखरी र सिमेण्टका विशाल घैलाहरू बनाइएको रहेछ। सिमी, गोलभेडा, काउली, बन्दा जस्ता तरकारी र उखु खेती उस्तै! पानी नभएको वहानामा त्यसै बस्ने किसानलाई श्रेष्ठको काम ठूलो शिक्षा भएको छ।

श्रेष्ठको कृषि हेरेर तम्घासहुँदै २६ वैशाखमा सन्धिखर्क पुगें। यो अर्घाखाँची सदरमुकाम पहाडी जिल्लाको सबभन्दा राम्रो ठाउँमा बसेको रहेछ। भोलिपल्ट इन्द्रबहादुर गेलाङ्गको च्याउ खेती हेरेर घोचे खोला पुगियो, जहाँ बञ्जाडे परिवारले पाँच वर्षदेखि गाईपालन गरेका रहेछन्। व्यावसायिक कृषिमा अग्रसर त्यहाँका किसानहरूले पाँचदेखि १६ वटासम्म उन्नत गाई पालेका रहेछन्। अगुवा कृषक जानुका बञ्जाडेले गाउँभरि करीब एक हजार गाई रहेको बताइन्। परम्परागत बालीभन्दा तरकारी र विकासे घाँसले महत्व पाएको रहेछ। सहकारीका लागि किसानहरू १६ देखि ८४ जनासम्मको समूहमा आवद्ध रहेको बताउँदै बञ्जाडेले भनिन्, “कतिपय ठाउँमा भन्दा हामीकहाँ राम्रै काम भएको छ।”

छपियाको उसिर बारीमा सोमप्रकाश क्षेत्री, शम्भु साह र अखिलेश साह (दायाँबाट क्रमशः)

जेठ ४ गते सन्धिखर्कबाट २४ किमी उत्तर–पश्चिमको हंसपुर गएँ, ८० वर्षका रामप्रसाद पन्थीको भेडा पौरख हेर्न। अहिले पनि १८० भेडा पालेका पन्थीले यो पेशामा ३० वर्षे अनुभवका साथ नेपाली पहाडमा जाँगर देखाए भेडाले दिने फाइदाबारे बताए। त्यसपछि म काठमाडौं उड्न ७ जेठमा सन्धिखर्कबाट भैरहवा ओर्लिएँ।

दुईमहीने लुम्बिनी अञ्चल भ्रमणमा मैले धेरै कुरा उदाहरणीय पाएँ। किसानका स्वस्फूर्त व्यावसायिक कृषि पहलमा सरकारबाट थेगभर भयो भने यो अञ्चलले चाँडै नै आम्दानी र आत्मनिर्भरतासँगै रोजगारी सिर्जना र राजस्व पनि वृद्धि गर्ने अनुमान लगाउन सकिन्छ।

comments powered by Disqus

रमझम