उपत्यका, तालतलैया र सिमसार क्षेत्र भएको पहाडी जिल्ला कास्कीमा १०० भन्दा बढी जातका धान लगाइन्छ। वेगनास क्षेत्रमा मात्र ७४ प्रजातिका धान लगाउने गरिएको छ। कास्कीमा उहिले समुन्द्रफिंजा र नाभो जातको धान लगाइन्थ्यो, जुन अहिले मासिइसकेको छ। यसैगरी आँगा, वले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धान पनि दुर्लभ भइसकेका छन्। ३०० देखि ६०० मिटरको उचाइ क्षेत्रमा रैथाने धानका बढी जात लोप भएका छन्। कास्कीमा अहिले पहेंले, मनसरा, विरमफुल, ठिमाहा, ताकमारे, खोलेमार्सी, रमन, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, आँघा, तौली, मार्सी, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, वर्मेली, एक्ले गरी २५ प्रकारका रैथाने धान छन्।
हालै विकास भएका छोमरुङ्ग, राधा–७, खुमल–४, सिएच–४५, राधा–९, खुमल–७ र पोखरा उपत्यकाको लागि पोखरेली जेठोबुढो धान बढी प्रयोगमा आएका छन्। उन्नत धानको विकास भएर नै रैथाने जात हराएको हो। थोरै लगानीमा धेरै फलाउन किसानले उन्नत जातको धान लगाउनुलाई अस्वाभाविक भन्न पनि सकिन्न। कतिपय पहाडी खेतमा रोगकीरा खप्न सक्ने क्षमताका कारण मात्र पुराना धान लगाउने गरेको पाइन्छ। नेपालका रैथाने धानका प्रजाति हेर्न त अब फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था नै जानुपर्छ, जहाँ ५७ जिल्लाबाट संकलित दुर्लभ धानका नमूना छन्।
कास्कीका उच्च क्षेत्रमा पहिला छोमरुङ्ग, सिलाङ्गे, ताकमारे, मानपुरी लगायतका धान लगाइन्थ्यो। अहिले लुम्ले कृषि अनुसन्धान केन्द्रले निकालेको छोमरुङ्ग जात मात्रै चलनमा छ, अरू हराइसकेको छ। त्योभन्दा कम उचाइमा पहिला काठे गुर्दी, तौली, अंगा, रामनी, झिनुवा, फालो, गुडुरा गुर्दी, पहेंले, मार्सी, एक्ले, मानामुरी, मनसरा, लहरे गुर्दी, विचरो, घैया, कालो झिनुवा, माला, ठिमाहा, विमरफुल, भट्टे, अँधेरे, काँडे, गौरी, कालो वयर्नी, कालो अनदी लगायतका धान लगाउने चलन रहेकोमा अहिले यिनलाई सुधारिएको जेठोबुढो, मार्सी, झिनुवा, मनसरा, खुमल, राधा, जर्नेली, वासमती, सुनौलो सुगन्धा, मन्सुली, अनदी, पहेंले, गुर्दी लगायतले विस्थापित पार्दैछन्।
जिल्ला कृषि विकास कार्यालयका अनुसार कास्कीमा अहिले २७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको छ। लुम्ले र वेगनास क्षेत्रमा नयाँ जातका धानको 'क्रस' बाट मौसमी धान लगाउने चलन पनि बढेको छ। केही वर्षदेखि जिल्लाको घान्द्रुक (२३५० मिटर) क्षेत्रमा पनि छोमरुङ्ग जातको नयाँ धान खेती थालिएको छ। यसले कास्कीमा धान खेती विस्तार भएको देखाउँछ, तर यथार्थ के हो भने जिल्लामा एकातिर अनियन्त्रित शहरीकरणले फाँटिला खेतहरू खाइसकेको छ भने अर्कोतिर वैदेशिक रोजगारीले भिरालो गराहरूलाई बाँझो बनाइरहेको छ।
(पराजुली धानवाली अनुसन्धानकर्ता हुन्।)