६ साउन २०७० | 21 July 2013

नयाँ पुस्तामा संस्कृति प्रेम

Share:
  
समाजमा बढ्दो सांस्कृतिक गतिविधिले आधुनिक पुस्तामा मौलिक संस्कृतिप्रति माया भरिदिएको छ।

नेपालमा राजनीतिक जागरणको परिणामस्वरुप खुलेका जातीय संस्थाहरूले सांस्कृतिक क्षेत्रमा लोभलाग्दो परिणामहरू देखाएका छन्। जस्तो, यस वर्षको उभौलीभरि रातो चौबन्दी, बुट्टे फरिया, रेजीको हारी लगायतका किरात पहिरनमा साकेला नाचेकी इन्दु राई (१८) भन्छिन्, “धरानमा किरात राई यायोख्खाको गतिविधिले गर्दा तीन वर्षदेखि साकेला नाच्न थालेकी हुँ।”

तस्वीरः सीता मादेम्बा।

धरान मोडल कलेजमा बीए पहिलो वर्षकी विद्यार्थी इन्दु ढोल–झ्याम्टाको तालमा नाचिने किरात राई जातिको साकेलाको चल्तीका अधिकांश सिली (स्टेप्स) टिप्न सिपालु भएकी छन्। रहरले सिकेको साकेला संस्कृति जोगाउनुपर्छ भन्ने भावना उनको मनमा पलाएको छ। “कतिपय मान्छे जातीय संघ–संस्थाहरूप्रति उति सकारात्मक धारणा राख्दैनन्”, ढिलो गरी सिली सिकेका धरानकै बमप्रकाश राई (२८) भन्छन्, “तर, यस्ता संस्थाको गतिविधिका कारण हिप–हप पुस्तामा नेपाली संस्कृतिप्रति माया भरिदिएको छ।”

तस्वीरहरुः सोहन श्रेष्ठ।

इन्दु र बमप्रकाश जस्ता किरात तन्नेरी असंख्य छन्, जो वर्षको कम्तीमा १५ दिन आफ्नो समुदायको सांस्कृतिक कार्यक्रममा व्यस्त हुन्छन्। उनीहरू गैर–राई समुदायका तन्नेरीलाई पनि हार्दिकतापूर्वक साकेलामा सरिक गराउँछन्। कक्षा १२ को रिजल्ट पर्खेर बसेकी ममिता पाहिम (१९) लिम्बू समुदायकी हुन्। ६ वर्षको अवधिमा फेदापे, छथरे, ताप्लिजोङे र चौबीसे के लाङ (च्यावु्रङ) नृत्यमा पारङ्गत उनी यसका निम्ति किरात–याक्थुङ चुम्लुङ लगायतका लिम्बू संघ–संस्थालाई धन्यवाद दिन्छिन्। धरान–१० का राजकुमार (२१), धनकुमार (१९), सञ्जय हुक्पाचोङबाङ (१७) दाजुभाइ पनि च्यावु्रङमा पोख्त छन्। धरानमा एकदर्जन जति च्यावु्रङ नृत्य समूह खुलिसकेका छन्। च्याव्रुङ नाच विवाह, चाडवाड र अन्य सांस्कृतिक अवसरमा नाचिन्छ।

यसैगरी, धरानमा सुनुवार सेवा समाजको सक्रियताका कारण रिता सुनुवार ष्यादर शिल (साकेला) मा पोख्त भएकी छन् भने स्मिता श्रेष्ठ (१९) धिमे बाजामा। वैशाख पूर्णिमादेखि शुरू भएर ठाउँ अनुसार सातदेखि १५ दिनसम्म चल्ने सामूहिक साकेलालाई किरात–सुनुवारहरू ष्यादर शिल भन्छन्। “धिमेले भाषाप्रति पनि मोह बढायो”, पासा खलः धरानकी सचिव समेत रहेकी स्मिता भन्छिन्, “मातृभाषा पनि सिकिरहेकी छु।”

धरानमा खड्गी समाज र नेवा देय दवु पनि सक्रिय छ। बसोबासका हिसाबले बहुजातीय नेपालको असली प्रतिबिम्ब बनेको यो शहरमा आधुनिकता वरणसँगै संस्कृति–संस्कारको संरक्षणमा जातीय संस्थाहरूले प्रशंसनीय काम गरिरहेको चुम्लुङका धरान नगर अध्यक्ष सुवास हुक्पाचोङबाङ बताउँछन्।

comments powered by Disqus

रमझम