३-९ वैशाख २०७४ | 16-22 April 2017

जोगाउनुपर्ने कीर्तिखम्ब

Share:
  
- बसन्त महर्जन
दैलेखको खस साम्राज्यकालीन कीर्तिखम्ब 'भिल्लको देशमा मणि' जसरी मिल्किएको छ।

बसन्त महर्जन
दैलेखको दुल्लूमा राजा पृथ्वी मल्लले राख्न लगाएको कीर्तिखम्ब र त्यसमा उत्कीर्ण अभिलेख खस साम्राज्यकालीन इतिहासको कोसेढुंगा हो। राजा मानदेवले चाँगुनारायण मन्दिर प्राङ्गणमा राखेको लिच्छविकालीन इतिहास प्रष्ट पार्ने अभिलेख जस्तै महत्वपूर्ण कीर्तिखम्बले तुलनात्मक रूपमा अझ् विस्तृत जानकारी दिन्छ। यसको संरक्षणको अवस्था भने ढुक्क हुन सकिने गरिको छैन।

१२औं शताब्दीमा तिब्बतको ङारी प्रदेशबाट आएका राजा नागराज र उनका सैनिकहरूले खसान क्षेत्र अन्तर्गत पर्ने जुम्लाको सिंजा उपत्यकालाई राजधानी बनाई स्थापना गरेको खस साम्राज्य १४औं शताब्दीसम्म सशक्त थियो। नेपालको इतिहासबारे चर्चा गर्दा खस साम्राज्यलाई छुटाउन मिल्दैन। किनकि, वर्तमान नेपालको कतिपय पक्ष त्यही इतिहाससँग पनि जोडिएको छ।

क्याम्ब्रिज विश्वविद्यालयले सन् २००२ मा सिंजा र २०१० मा सुर्खेतमा पुरातात्विक उत्खनन् गरेको थियो। त्यस्तै पुरातत्व विभागले पनि दुई वर्षअघि सुर्खेतमा थप उत्खनन् गरेको थियो। ती उत्खनन्बाट पाइएका बाहेकका जानकारीका लागि जमीनमाथिका पुरातात्विक वस्तुहरूमै भरपर्नुपर्ने अवस्था छ।

दुल्लूमा रहेको २ मिटर ७८ सेमी उँचाइ, ५० सेमी चौडाइ र ८ सेमी मोटाइको कीर्तिखम्बको दुवै पाटोमा अभिलेख छ। स्तम्भको उत्तरी पाटोमा खस साम्राज्यका संस्थापक नागराजदेखि उनका उत्तराधिकारीहरू क्रमशः चाप, चापिल्ल, क्राशिचल्ल, क्राधिचल्ल, क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, अक्षय मल्ल र आदित्य मल्लको नाम छ। त्यसमा राजा नभएका तर वंशवृक्षमा परेका आनन्द मल्ल, सङ्ग्राम मल्ल, कल्याण मल्ल, प्रताप मल्ल आदिको पनि नाम छ। त्यही पाटोमा दरबारमा उत्तराधिकारी नहुँदा 'घर हाल्ने' प्रथा अनुसार गेला वंशका सामन्त जय पालका छोरा पुण्य पाललाई मल्लकन्या (राजकुमारी शकुनमाला) दिएर 'पुण्य मल्ल' बनाइएको व्यहोरा पनि उल्लेख छ। त्यस वैवाहिक सम्बन्धबाट छोरी खण्डमाला र छोरा पृथ्वी मल्ल जन्मिएका थिए। पाल र मल्लबाट जन्मिएका पृथ्वी मल्लले शाके १२७८ (सन् १३५७) मा राखेको कीर्तिखम्बमा दुवैतर्फको वंशवृक्ष उत्कीर्ण गरिएको बुझिन्छ।

कीर्तिखम्बको दक्षिणी पाटोमा आदि पाल, अमर पाल, जय पाल आदि २० जनाको नाम लेखिएको छ, राजाकै हैसियतमा। कुनै बेला स्वतन्त्र राज्यको राजा भए पनि पछि उनीहरू खस साम्राज्यभित्रका सामन्तको हैसियतमा पुगेको बुझिन्छ।

अभिलेखमा राजा नागराजले सिंजामा राजधानी बनाई साम्राज्य खडा गरेको र त्यसक्रममा यस क्षेत्रका थुप्रै राज्यलाई दबाएको वर्णन छ। तिब्बती वंशावली र पूर्णप्रकाश नेपालको 'श्रीपाली वंशावली' ले पनि यो अभिलेखको पुष्टि गरेका छन्। त्यसबेलाका स–साना राज्यमध्ये पाल पनि भएको र खस साम्राज्यमा पाल सामन्तका रूपमा रहेको कीर्तिखम्बबाट प्रष्ट हुन्छ। खस सम्राटहरूले युद्धमा पराजित शासकले आफ्नो प्रभुत्व स्वीकारे त्यस क्षेत्रको सामन्त पद दिने चलन पछिसम्म कायम राखेका थिए।

लामो समय जमीनमा ढलेको खम्बलाई योगी नरहरिनाथको सक्रियतामा २५ मंसीर २०१२ सालमा हालको अवस्थामा ल्याइए पनि यसमा उत्कीर्ण अभिलेख क्षयीकरणको चपेटामा परेको छ। अभिलेखको शुरूको उतारको 'प्यासिमिल' र अहिलेको स्थिति हेर्दा तीव्र रूपमा क्षयीकरण भइरहेको प्रष्ट देखिन्छ। संरक्षणका लागि केही वर्षअघि फलामको बार लगाइए पनि यसलाई पर्याप्त मान्न सकिने अवस्था छैन। ढुंगामा लेखिएका अक्षरहरूमा हावा, पानी, घाम र मानवीय कारणले पनि क्षति पुगिरहेको हुन्छ।

लुम्बिनी र कपिलवस्तुका ढुंगाका तीनवटा अशोक स्तम्भमा विशेष प्रकारको पालिस लगाएर बलियो पारिएको छ। पालिस लगाएर कलावस्तुलाई बलियो पार्ने चलन लिच्छविकालबाटै चलेको पाइन्छ। पछि विशेष अवसरहरूमा मूर्ति वा शिलालेखमा तेल लगाउने परम्परा बस्यो, जसले प्राकृतिक क्षयीकरणमा कमी ल्याएको पाइन्छ। पश्चिम नेपालमा भने कलावस्तुमा तेल लगाउने परम्परा छैन। ऐतिहासिक तथा पुरातात्विक कलावस्तुको संरक्षण हेतु रसायन प्रयोग गर्ने निकायको ध्यान दुल्लूतर्फ जानुपर्ने देखिन्छ।

कीर्तिखम्ब वरिपरि अन्य पुरातात्विक वस्तुहरू पनि असरल्ल छरिएका छन्। केही मिटर पर दामु पालको अभिलेख छ भने त्यससँगै वीरखम्बहरू छन्। पालको अभिलेखमा पनि पत्रहरू उप्किएका छन्। सँगैको वीरखम्बलगायतका कलावस्तु उपेक्षित छन्। ऐतिहासिक स्रोतसामग्री यी कलावस्तुहरूलाई यसरी नासिन छाड्नु भनेको यस क्षेत्रको इतिहासलाई त्यसै हराउनु दिनु हो। यिनको संरक्षण र अध्ययनमा स्थानीयदेखि काठमाडौंसम्मको तत्काल सक्रियता आवश्यक छ।

comments powered by Disqus

रमझम