३-९ वैशाख २०७४ | 16-22 April 2017

विन्दास होइन विद्रोही

Share:
  
- शेखर खरेल
युवाको विद्रोह चेतले लोकतन्त्रलाई लुटिनबाट त जोगाउँछ नै, शासकलाई पनि जनउत्तरदायी बन्न दबाब दिन्छ।

गोपेन राई
'वि' विरुद्ध 'वि' अर्थात् 'विन्दास' विरुद्ध 'विद्रोह'। युवालाई दुई 'वि' का विन्दुहरूबीच चलायमान पेन्डुलम झैं हेर्न सकिन्छ। नेपालमा राणा–शाही विरुद्धको आन्दोलनदेखि गणतन्त्रलगायत महत्वपूर्ण राजनीतिक परिवर्तनका मुख्य संवाहकमा युवा थिए। तर, परिवर्तनका 'इन्जिन' बन्ने युवा परिवर्तनपछि पनि अशान्त देखिंदै आएका छन्। व्यवस्थाभित्रकै बेथिति उपर प्रश्न उठाउन र आन्दोलित हुन छाडेका छैनन्।

राजनीतिक विश्लेषक एवं अध्येता हरि शर्मा युवालाई पुस्तान्तरको परिप्रेक्ष्यमा बुझिनुपर्ने धारणा राख्छन्। किनकि, आजको युवापुस्ता युवा त हो तर फरक समयको। वर्तमानको नेपाली युवा पुस्ता विश्वका अधिकांश मुलुकको जस्तै 'विन्दास' पुस्ता होइन। कतिपय राष्ट्रिय र घरेलु परिस्थितिले उनीहरूलाई विन्दास हुनबाट रोकेको छ। ती के कारण हुन्, जसबाट उनीहरू विन्दासभन्दा विद्रोही बनिरहेका छन्? “मुख्य कुरा त ऊ आश्वस्त हुने ठाउँ नै कम हुनु हो। सरकारबाट आफ्ना सरोकार सम्बोधन नहुनुले ऊ चिन्ताग्रस्त देखिन्छ। जसको परिणाम नै, ऊ घरी–घरी विद्रोहको स्थितिमा पुगिरहन्छ”, शर्मा आफ्नो तर्कलाई पुट दिन्छन्।

अनुत्तरदायी शासनसँगै शासकको अकर्मण्यताले युवा पुस्ताको निद्रा बिथोल्ने गर्छ। हिजोका आन्दोलनकारी वा विद्रोही शक्ति आज सरकारमा पुगे पनि उनीहरू जनउत्तरदायी हुन सकिरहेका छैनन्। मुलुक शान्ति प्रक्रियामा गएको एक दशक र दुई पटक संविधानसभाको चुनाव सम्पन्न भएपछि बल्ल नागरिकलाई आफ्नै शासकीयताको अवसर जुर्दैछ, स्थानीय निर्वाचनमार्फत। स्थानीयतहदेखि राष्ट्रिय तहसम्म व्याप्त राजनीतिक शून्यता, दलतन्त्रको नाममा चलेको सिन्डिकेट राजनीति, अनुत्तरदायी शासकीय व्यवहार नै यथार्थमा युवामा असन्तुष्टिको पारो चढाउने कारक हुन्। यसलाई पुष्टि गर्ने दृष्टान्तको कुनै कमी छैन।

लोकतन्त्रमा विधिको शासन अनि सदाचार प्रवर्द्धनमार्फत सुशासन कायम गर्नुपर्ने प्रमुख दलका नेतृत्व पंक्तिले संवैधानिक निकाय, सुरक्षा अङ्ग, कर्मचारीतन्त्र, प्राज्ञिक संस्थादेखि न्यायालयसम्ममा गरेको भागबण्डाको चरम राजनीतीकरणले लोकतन्त्रको चीरहरण मात्र भएको छैन, दलहरू स्वयं चिहान नजिक पुगेको ज्वलन्त उदाहरण लोकमानसिंह कार्की थिए। कार्कीलाई किन र कुन बाटोबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) को प्रमुखमा ल्याइयो, त्यस कुकर्मबारे नेतृत्व पंक्तिले आजपर्यन्त 'चूँ' सम्म बोल्न सकेका छैनन्। कार्कीको 'ब्ल्याकमेलिङ' र विरोधी निमिट्यान्न पार्ने प्रतिशोधकारी रवैया विरुद्ध युवा र सचेत नागरिक तप्का सप्रमाण सडकमा ओर्लिंदासम्म पनि राष्ट्रका कार्यकारी र व्यवस्थापिका दुवै एक हिसाबले मौन समर्थक झैं देखिए। धन्न लोकतन्त्रको लाज न्यायपालिकाले बचाइदियो र अर्काका अनुहारमा कालो पोत्ने कार्की आफ्नो दागी अनुहार लुकाउन अहिले देश–विदेश चहारिरहेका छन्।

चिकित्सा क्षेत्रको बेथिति र माफियातन्त्र विरुद्ध जेहाद छेड्दै आएका चिकित्सक प्राध्यापक गोविन्द केसीले माफिया र लूटतन्त्रका वैधानिक संरक्षक कार्कीलाई समेत आफ्नो सत्याग्रहको निशानामा पारेपछि, नेपाली समाजमा लामो समयदेखि व्याप्त मौनताको संस्कृति तोडिन पुग्यो। “जब कुनै कुराले सीमा नाघ्छ, अति नै भयो भन्ने महसूस हुन्छ”, विश्लेषक शर्मा भन्छन्, “त्यस बेला मानिसलाई राजनीतिक भन्दा पनि नैतिक प्रश्नले छुन्छ र ऊ आफ्नो आत्मसम्मानमाथि धावा बोलिंदा मौन रहन सक्दैन। डर निडरमा बदलिन्छ।”

माओवादीको दशवर्षे द्वन्द्वका वेला विद्रोही पक्षको 'भय आक्रान्त (फियर साइकोसिस) र राज्य पक्षको अन्धाधुन्द दमनका बीच पनि मानिसको बोली नदबिनुको मुख्य कारण नै राजनीतिक विषय नैतिक सरोकारमा बदलिनु थियो। माओ र स्टालिनको जस्तै बर्बर लाल साम्राज्य खडा गर्ने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र मध्ययुगीन राजतन्त्रात्मक व्यवस्थाका दुस्वप्न देख्ने राजा ज्ञानेन्द्रलाई इतिहासको पानामा कैद गर्ने साहस त्यही नैतिक प्रश्नले नै जुराएको थियो।

शर्मा नेपाली समाजको छिटो–छोटो राजनीतिक बदलाव र आन्दोलनलाई पानी उम्लिनु र दूध पोखिनुसँग तुलना गर्छन्। “नेपाली समाज पानी झ्ैं सदैव उम्लिंदै आएको छ” उनी व्याख्या गर्छन्, “पानी उम्लिंदा वाफ बनेर जाने हुन्छ, तर जब त्यो दूध जसरी उम्लिन्छ, पोखिएर छताछुल्ल हुन्छ।”

'आर्टिभिज्म्' को प्रयोग

नेपाली समाजमा विद्रोहको ज्वार मत्थर भइनसके पनि विरोधका प्रकृति भने विविधीकरण हुँदैछन्। अघिल्लो पुस्ताको असहमतिको भाष्य खासगरी महात्मा गान्धीको सत्याग्रह र जेलभराउ हुन्थ्यो। सन् २००२ मा विद्रोही–राज्य द्वन्द्वप्रति कलाकारको सरोकार देखाउँदै कलाकार अस्मिना रञ्जितले 'विचलित वर्तमान' शीर्षकमा प्रदर्शनकारी कला (पर्फर्मेन्स आर्ट) पस्केकी थिइन्। सन् २०१६ सम्म आइपुग्दा कलाले विरोध प्रदर्शनको चोटिलो रूप धारण गरिसकेको कुरा डा. केसीको नवौं पटकको सत्याग्रहमा देखियो। आर्ट्री नामक कलाकारहरूको समूहले बडी आर्टमार्फत शरीरभर केसीका मागहरू लेखी माइतीघरदेखि नयाँबानेश्वरसम्म मौन रूपमा उतारेको थियो। यो समूहले कात्रो बेरेर प्रधानमन्त्री निवास बालुवाटार अघि पनि प्रदर्शन गरेको थियो।

विश्वभर युद्ध र प्राकृतिक विनाश विरुद्धको 'एक्टिभिज्म्' लाई कलाको माध्यमबाट अभिव्यक्त गर्ने विधि 'आर्टीभिज्म्' अहिले नेपाली कलामा सशक्त प्रयोग भइरहेको छ। “खराब राजनीतिले समाजको सबै क्षेत्र गिजोलेको हुन्छ, त्यसैले यो कुरा राजनीति गर्नेहरूको मात्र सरोकार हुन सक्दैन” कलाकार रञ्जित भन्छिन्, “हामी कलाकार मूकदर्शक मात्रै होइनौं भन्न मैले द्वन्द्वकालमा पनि यस्तो प्रदर्शनकारी काम गरेकी थिएँ। आज यसले एउटा आन्दोलनकै रूप लिइसकेको छ।”

शिक्षित र सचेत समूहको विरोधको शैली दल र तिनका भ्रातृ संगठनको भन्दा फरक पनि देखिन्छ। यस्ता समूहका जुलूसमा न त आपत्तिजनक नारा घन्काइन्छन् न टायर जलाउने र ढुंगा प्रहार जस्ता ध्वंसात्मक विधि नै अवलम्बन गरिन्छन्। डा. केसीको समर्थनमा निक्लिएको जुलूस होस् वा एनसेल लाई लाभ कर तिराउन दबाबस्वरूप गरिएका प्रदर्शन, सबै स्वअनुशासित आन्दोलनका नमूना हुन्। यसो हुनुमा जुलूसले उठाउने सरोकार मुख्य कारण रहने गर्छ। जुन दलभन्दा माथि राष्ट्रिय सरोकारको विषय हुने गर्दछन्। यस कारण पनि यस्ता प्रदर्शनमा दलका नभएर राष्ट्रिय झ्ण्डा उठाइन्छन्। डा. केसीको समर्थनदेखि लिएर भारतीय नाकाबन्दी र सीमा मिचाइ विरुद्धका जुलूसमा राष्ट्रिय झ्न्डा नै फहर्‍याइनुको अभीष्ट राष्ट्र प्रेमसँगै दलहरूलाई सचेत गराइनु पनि थियो।

वैश्विक चेत यथार्थमा विरोध र प्रदर्शन ज्वारभाटा हुन्, उर्लने अनि तुरुन्तै साम्य हुने। कुनै दलीय वा नागरिक समूह जस्तो नभएर युवाका यस्ता प्रदर्शनका प्रकृति तरल देखिन्छन्। एउटा समूह स्वतस्फूर्त उम्लिन्छ, तर त्यही समूह राजनीतिक दलमा रूपान्तरित वा समाहित भएको उदाहरण भने विरलै देखिन्छ। विश्लेषक शर्मा युवाको यस्तो तरलताको कारण स्थानीयतामाथि वैश्विकता हावी हुनु ठान्छन्। “हिजो जस्तो आजका युवा 'लोकल' (स्थानीयता) देखिंदैन, उनीहरू तरल पदार्थ झैं चलायमान देखिन्छन्” शर्मा थप्छन्, “किनकि, उनीहरू स्थान वा संस्कृति विशेष भन्दा पनि कस्मोपोलिटन हुँदैछन्। यसो हुनुमा प्रविधिको सुलभता जिम्मेवार भएको उनको तर्क छ।

त्यसैले पनि हुनुपर्छ– दलपक्षीय हुन् वा निरपेक्ष, युवा आन्दोलित हुन छाडेका छैनन्।

comments powered by Disqus

रमझम