३-९ वैशाख २०७४ | 16-22 April 2017

बन्न थाले सम्पदा

Share:
  
- सविता श्रेष्ठ
जनचासो र दबाबकै कारण सुस्ताएको सम्पदा पुनःनिर्माणले बाटो समातेको छ।

बिक्रम राई
पुरातत्व विभागका अनुसार, १२ वैशाख २०७२ को भूकम्पले देशभरका ७५३ वटा सम्पदामा क्षति पुर्‍यायो। १५१ वटा सम्पदामा पूर्णरूपमै क्षति पुग्यो भने, ४७० वटामा आंशिक र १३२ वटामा सामान्य क्षति भयो।

विभागका सिनियर डेभलपमेन्ट इन्जिनियर सम्पत घिमिरे अहिलेसम्म बोलपत्र आह्वान गरिएका १०५ सम्पदामध्ये ६ वटा पुनःनिर्माण भइसकेको बताउँछन्। “त्यसमध्ये अहिले ७० प्रतिशत सम्पदाको पुनःनिर्माण काम अघि बढेको छ”, उनी भन्छन्। त्यसो त विभागले अन्य सरकारी तथा गैरसरकारी संस्थालाई पनि सम्पदा पुनःनिर्माणको जिम्मेवारी दिएको छ, जसमध्ये चार वटाको निर्माण सकिएको घिमिरे बताउँछन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुस दोस्रो साता प्रकाशित गरेको 'पुनःनिर्माण र पुनर्स्थापना सम्बन्धी मुख्य कार्य प्रगति' प्रतिवेदनले भने १५ वटा पुरातात्विक सम्पदाको पुनःनिर्माण सकिएको र ६९ वटा पुनःनिर्माणको क्रममा रहेको जनाएको छ। काठमाडौं महानगरपालिकाकी सम्पदा विभाग प्रमुख अर्चना श्रेष्ठ महानगरपालिकाले पुनःनिर्माणको जिम्मा लिएका २३ वटा सम्पदामध्ये दुइटाको काम सकिएको बताउँछिन्।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सुरेश सुरस श्रेष्ठ भूकम्पले क्षति पुर्‍याएका सम्पदा पुनःनिर्माणका लागि २०७३ साल 'टेक अफ' वर्ष मान्न सकिने बताउँछन्। “भूकम्पअघि कस्तो थियो र कस्तो हुनुपर्छ भन्ने अनुसन्धान गर्नै बढी समय लाग्यो”, उनी भन्छन्।

उदाहरणीय जनसहभागिता

भूकम्पले क्षतिग्रस्त पुरातात्विक महत्वका सामान सुरक्षित र हेरचाह गर्ने मात्र होइन, सम्पदा पुनःनिर्माणमा पनि स्थानीयले महत्वपूर्ण योगदान दिएका छन्। यसको बलियो उदाहरण हो– बौद्धनाथ स्तूप।

पाँचौं शताब्दीमा निर्माण भएको मानिने बौद्धनाथ स्तूपलाई खास्ती चैत्य पनि भनिन्छ। भूकम्पमा काठमाडौं महानगरपालिका वडा नं. ६ मा रहेको स्तूपको डोम, डोममाथिको त्रैयोदश भुवन र छत्रावली (गजुर) मा भूकम्पले क्षति पुगेको थियो। बौद्धनाथ क्षेत्र विकास समितिका अनुसार, उपत्यकाभित्रका स्तूपमध्ये सबैभन्दा ठूलो बौद्धनाथ पुनःनिर्माणमा रु.२३ करोड नगद र तामाको पातामा सुनको मोलम्बा (जलप) लगाउन ३१ केजी सुन प्रयोग गरिएको थियो।

“सबै खर्च र सुन बौद्ध संघसंस्था, धर्म गुरु र दाताहरूबाटै उठाइएको हो”, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामा भन्छन्। पुनःनिर्माणमा बौद्ध धर्मका अनुयायी पनि स्वयंसेवीका रूपमा खटिएका थिए।

काठमाडौं महानगरपालिका वडा. नं. २०, मरुका बासिन्दाले काष्ठमण्डप पुनःनिर्माणको प्रत्येक चरणमा स्थानीयको सहभागिताको माग गरेका छन्। निजी कम्पनीलाई ठेक्कामा दिएर गरिने पुनःनिर्माण आफूहरूलाई मान्य नहुने बताउँदै आएका छन्। मरु ट्वा पुच क्लबका अध्यक्ष वसन्त श्रेष्ठ काष्ठमण्डप संरक्षणमा पहिल्यैदेखि सक्रिय भएकाले पनि स्थानीयवासीले पुनःनिर्माणमा प्रत्यक्ष सहभागी हुन खोजेको बताउँछन्। काष्ठमण्डपको पुनःनिर्माणका लागि काठमाडौं महानगरपालिकाले बोलपत्र आह्वान गरिसकेको छ।

सम्पदा पुनःनिर्माण तथा संरक्षणमा नागरिक आवाजलाई सम्बोधन गर्नुपर्ने सम्पदाविद् रवीन्द्र पुरी बताउँछन्। उनको भनाइमा, नागरिक दबाबकै कारण रानीपोखरी र सिंहदरबारको जथाभावी पुनःनिर्माण रोकिएको छ।

भूकम्पमा परी रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर भत्कियो। काठमाडौं महानगरपालिकाले रानीपोखरीभित्रको संरचनालाई केही परिवर्तन गरेर 'म्युजिकल वाटर फाउन्टेन' पार्क समेत बनाउने गरी पुनःनिर्माणको काम अघि बढायो। राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरी पुनःनिर्माणको शिलान्यास पनि गरिन्। तर, पुनःनिर्माणमा मापदण्ड विपरीत सिमेन्ट, गिट्टी, बालुवा, रडलगायतका सामग्री प्रयोग भएको भन्दै विरोध गरिएपछि पुरातत्व विभागले काम रोक्न निर्देशन दियो।

भूकम्पमा क्षति पुगेको सिंहदरबार भवन भत्काउनुपर्ने शहरी विकास मन्त्रालयको निष्कर्षप्रति असहमत पुरातत्व विभागले सबलीकरण (रेट्रोफिटिङ्ग) बाटै भवन प्रयोग गर्न सकिने प्रतिवेदन दिएको छ। पुरातात्विक तथा ऐतिहासिक महत्वको राणाकालीन भवन भत्काएर नयाँ बनाउनुभन्दा उही रूप र शैलीमा रेट्रोफिटिङ्ग गर्नु उपयुक्त हुने निर्णय विभागले गरेको छ। २०३० सालमा भएको आगलागीमा क्षति पुगेपछि सिंहदरबारको जीर्णोद्धार गरिएको थियो।

सम्पदा पुनःनिर्माणमा सरकारलाई झ्क्झ्क्याउने, हेरचाह तथा संरक्षणमा समुदायको विशेष भूमिका रहेको प्रमुख पुरातत्व अधिकृत श्रेष्ठ बताउँछन्। “स्थानीय समुदायको अग्रसरताकै कारण भत्किएका सम्पदाका सामान सुरक्षित राख्न सकिएको हो”, उनी भन्छन्।

सम्पदाको पुनःनिर्माण कार्य सरकारी निकायले मात्र गर्न नसक्ने भएकोले स्थानीयको संलग्नता अत्यावश्यक रहेको सम्पदाविद् पुरीको तर्क छ। “सम्पदासँग स्थानीयवासी नै सबैभन्दा नजिक हुन्छन्, त्यसैले पनि समुदायको जिम्मेवारी र सहभागितामा पुनःनिर्माण गरिनुपर्छ”, उनी भन्छन्।

अपरिहार्य परम्परागत प्रविधि

नेपाली परम्परागत वास्तुकलामा माटोको प्रयोग बढी गरिएको पाइन्छ। काँचो चुन, सुर्की (ईंटाको धूलो), माटो र काठ जस्ता सामग्रीको प्रयोग र मौलिक प्रविधिबाट गरिएको निर्माणसँग नेपालीपन गाँसिएको छ। सम्पदाविद् पुरी परम्परागत स्थानीय सामग्री र मौलिक प्रविधिबाट सम्पदा पुनःनिर्माण सम्भव रहेको बताउँछन्।

सम्पदाको संरक्षण र जीर्णोद्धारमा सक्रिय काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्ट (केभीपीटी) ले पाटन दरबार क्षेत्र र हनुमानढोका दरबारमा पुनःनिर्माण गरिरहेको छ। ट्रष्टका निर्देशक रोहित रञ्जितकार सम्पदाको पुनःनिर्माण परम्परागत सामग्री र प्रविधिको प्रयोगमा गर्नुपर्ने बताउँछन्। त्यसैले पनि काम थाल्न केही ढिलाइ भइरहेको उनको भनाइ छ। “बल्ल कामले गति समातेको छ”, रञ्जितकार भन्छन्।

पुरातत्वविद् शुक्रसागर पुरातात्विक नियम मानेर मात्र सम्पदा पुनःनिर्माण गर्नुपर्ने बताउँछन्। “यसका लागि काठ, ईंटा, माटो नै प्रयोग गर्नुपर्छ, सिमेन्ट, बालुवा हाल्ने बद्मासी गर्नुहुन्न”, उनी भन्छन्। अझ् विश्व सम्पदा सूचीमा रहेका सम्पदा पुनःनिर्माणमा निश्चित मापदण्ड पूरा गर्नैपर्छ।

comments powered by Disqus

रमझम