३-९ वैशाख २०७४ | 16-22 April 2017

गोलको खुशी

Share:
  
दुई दशकदेखि उपाधिविहीन टीम नेपाल पछिल्लो समय प्रतिद्वन्द्वीमाथि 'एट्याकिङ मूभ' बनाइरहेको छ।

एएफसी।
एएफसी सोलिडारिटी कपका साथ नेपाली टोली।
३० जेठमा नेपालले एएफसी एशियन कप २०१९ को छनोट अन्तर्गत विश्व फूटबल महासंघ (फिफा) वरियतामा आफूभन्दा ४७ स्थान माथिको यमनसँग प्रतिस्पर्धा गर्दैछ। छनोट अन्तर्गत नै २० भदौमा ताजिकिस्तान र २८ कात्तिकमा फिलिपिन्सको सामना गर्दैछ। १७०औं स्थानमा रहेको नेपालभन्दा यी दुई देशको वरियता पनि राम्रो छ। आफू भन्दा सशक्त टीमसँग 'होम एण्ड अवे' खेल्ने अवसर नेपालले भाग्य वा कृपाबाट नभई आफ्नै मिहिनेत र बुताबाट सिर्जना गरेको हो।

२८ कात्तिक २०७३ मा मलेशियामा सम्पन्न एएफसी सोलिडारिटी कप च्याम्पियन बनेसँगै नेपालले यस्तो दुर्लभ अवसर पाएको हो। एशियाली फूटबल महासंघ (एएफसी) द्वारा आयोजित उक्त प्रतियोगिताको उपाधि पहिलो पटक जितेको टीम नेपाललाई त्यसपछि अन्तर्राष्ट्रिय 'एक्सपोजर' का ढोकाहरू खुलिरहेका छन्।

सन् १९९५ देखि दुई दशकसम्म अखिल नेपाल फूटबल संघ (एन्फा) को अध्यक्ष रहेका गणेश थापाको बहिर्गमनसँगै नेपाली फूटबलले सफलताको सिंढी चढ्न थालेको हो। भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुद (साग) मा फूटबलतर्फ स्वर्ण पदक विजेता बनेको नेपालले बंगबन्धु गोल्ड कप २०१६ को उपाधि पनि जितेको थियो। त्यसअघिको यू–१९ साफ च्याम्पियन नेपालको अर्को उपलब्धि हो। टीम नेपालका प्रशिक्षक राजुकाजी शाक्य भन्छन्, “नतीजाका लागि गोलबाहेक सबै विषय गौण हुन् र पछिल्लो समय हामी गोल गर्न सफल भइरहेका छौं।” साग जित्दाका प्रशिक्षक शाक्य निरन्तरको मिहिनेतपछि यहाँसम्म आइपुगेको तर यतिमै चित्त बुझाएर बस्न नहुने बताउँछन्।

टीम नेपाललाई बंगबन्धु कप र यू–१९ टीमलाई साफ च्याम्पियन बनाएका प्रशिक्षक बालगोपाल महर्जन २०७२ सालको विनाशकारी भूकम्पको पीडापछि फूटबलले नै नेपालीको मुहारमा हाँसो ल्याइदिएको बताउँछन्। सन् १९९३ मा नेपाल साफ च्याम्पियन बन्दा टोलीका सदस्य समेत रहेका महर्जनको अनुभवमा पनि अहिलेको परिवर्तन भनेको 'स्कोरिङ' नै हो। उनी भन्छन्, “जतिसुकै कडा प्रतिद्वन्द्वीसँग शुरूदेखि नै आक्रामक खेल्नु हाम्रो सबल पक्ष हो।”

२०७३ सालमा मुलुकको फूटबलले उपाधि मात्र उचालेन, एन्फाले दुई दशकपछि नयाँ नेतृत्व पनि पायो। ८ कात्तिकमा एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा मणि कुँवर निर्वाचित भए। नयाँ नेतृत्वसँगै एन्फाले पहिलो पटक 'एएफसी ए लाइसेन्स कोचिङ' कोर्स पनि सञ्चालन गर्‍यो। पहिलो पटक अष्ट्रेलियाबाट विज्ञ झ्िकाएर वार्षिक क्यालेण्डर पनि बनायो।

विश्लेषक नवीन पाण्डे खेलाडीहरू विदेशी क्लबमा अनुबन्धित भएर खेल्नुलाई पनि सफलताको सूचक मान्छन्। टीम नेपालको पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको टिसी स्पोर्टस्, मिडफिल्डरद्वय रोहित चन्द इन्डोनेसियाको पर्सिजा जकार्ता, जगजित श्रेष्ठ अष्ट्रेलियाको सनसाइन जर्ज क्रस र फरवार्ड विमल घर्ती मगर स्पेनको मार्वेला युनाइटेडको डिभिजन सीबाट खेलिरहेका छन्।

घरेलु लिग नहुनु नेपाली फूटबलको सबैभन्दा कमजोर पक्ष हो। यसले एन्फामा नेतृत्व फेरिए पनि व्यवहारमा खासै परिवर्तन नआएको देखिन्छ। विश्लेषक पाण्डे नवयुग श्रेष्ठ जस्ता स्कोररको पहिचान लिगबाट मात्र सम्भव हुने बताउँछन्।

सन् १९९३ मा फिफा वरियताको १२४औं स्थानमा रहेको नेपाल गणेश थापाले एन्फाको नेतृत्व सम्हाल्दा इतिहासकै सबैभन्दा खराब अर्थात् १९२औं स्थानमा झ्र्‍यो। अहिले छिमेकी भारत मात्रै होइन भूटानभन्दा पनि वरियतामा नेपाल पछि छ। त्यसैले पनि फूटबललाई राजनीतिबाट अलग गर्न ढिलो भइसकेको पाण्डे बताउँछन्। उनी भन्छन्, “लिग नै रोकिने गरिको राजनीतिक हस्तक्षेप फूटबलमा असह्य हुनुपर्दछ।”

भूकम्प र नाकाबन्दीको संकटका बेला आशाको दियो बनेको फूटबललाई निभ्न नदिन दीर्घकालीन योजनाको खाँचो रहेको प्रशिक्षक महर्जन बताउँछन्। उनी भन्छन्, “उथलपुथलका बेला खुशी दिन सफल नेपाली फूटबललाई २०७४ मा घरेलु लिग गर्ने सफलता मिलोस्।”

सन्त गाहा मगर

comments powered by Disqus

रमझम