३-९ वैशाख २०७४ | 16-22 April 2017

'महिलाप्रतिको दृष्टिकोण फरक भएकोले चुनौती छ'

Share:
  

भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष हुनुभयो, के कुराले त्यहाँ पुर्‍यायो?

आर्थिक रुपमा महिला सक्षम हुनुपर्छ भन्ने शिक्षा मलाई आमाले दिनुभयो। आफैं केही गर्नुपर्छ भनेर उद्यमशीलतामा लागें। १८ जना पुरुष अध्यक्ष भएको महासंघको ५१ वर्षे इतिहासमा मैले १९औं अध्यक्षका रुपमा नेतृत्व सम्हालेकी छु। यो क्षेत्रमा लागेको २० वर्षभन्दा बढी भयो। शुरुमा सदस्यको रुपमा मनोनीत भए पनि कार्यकारिणी समितिमा निर्वाचन लडेर विजयी भएँ। उपाध्यक्ष पनि चुनाव लडेरै भएकी हुँ। वरिष्ठमा पराजित भएँ, तर पछि जिम्मेवारी आयो। अध्यक्षसम्म आइपुग्न मैले थुप्रै चुनौतीसँगै अवसर पनि पाएँ।

महिला भएकै नाताले काम गर्न गाह्रो हुन्छ कि सजिलो?

महिलालाई हेर्ने दृष्टिकोण नै फरक भएकोले चुनौती बढी छ। तर, चुनौतीसँगै अवसरहरू पनि छन्। म महिला र पुरुष सँगसँगै हिंड्नुपर्छ भन्ने कुरामा विश्वास राख्छु। कार्यकारिणी सदस्यमा निर्वाचित हुँदा १४ जनामा म एक्लो महिला थिएँ। क्षमताकै कारण मलाई पत्याइएको हो। जति माथि पुगिन्छ त्यति नै चुनौती र प्रतिस्पर्धा पनि बढ्दो रहेछ। यो महिला हो भनेर चुनौती र प्रतिस्पर्धाले छोड्दैन।

महासंघलाई अगाडि बढाउने योजना के–के छन्?

म टीममा विश्वास राख्छु। मेरो टीममा फरक–फरक क्षेत्रबाट खारिएर आएका युवा साथीहरू हुनुहुन्छ। नीतिगत सुधार गर्ने, मुलुक संघीयतामा गइसकेकाले जिल्ला तथा प्रदेशका उद्योग वाणिज्य संघलाई सशक्त बनाउने, विकास र अनुसन्धानका कार्यक्रम चलाउनेलगायतका योजना छन्। अहिलेसम्म कति उद्योग छन्, तिनको अवस्था र उत्पादन कस्तो छ भनेर अध्ययन भएको छैन। पब्लिक प्राइभेट पार्टनरसिपमा पूर्वाधारका योजनालाई अगाडि बढाउने सोच छ।

महासंघका अहिलेका प्रमुख चुनौती के हुन्?

मुलुकको अस्थिर राजनीतिले काम गर्न अप्ठेरो छ। अस्थिर सरकार भएका कारण श्रम र वैदेशिक लगानी सम्बन्धी कानूनहरू आउन सकेका छैनन्। नीतिगत सुधारका लागि स्थिर सरकार चाहिन्छ। लगानी मैत्री नीति नभएसम्म लगानीकर्ता आउँदैनन्। ब्यांक ब्याज, समयमै पूँजीगत खर्च हुन नसक्नुलगायतका समस्या पनि छन्।

गुटबन्दीका कारण कमजोर बनेको महासंघ राष्ट्रिय परिदृश्यमा बेवास्ताको शिकार हुने गरेको छ। कसरी अगाडि बढाउनुहुन्छ?

निर्वाचनपछि गुट–उपगुट हुनुहुँदैन र एकताकै लागि हामी सहमति गरेर अगाडि बढेको हो। निर्वाचनपछि पुराना कुरा बिर्सेर एकसाथ अघि बढ्छौं।

पूर्ववर्तीहरूले हटाउन नसकेको गुटबन्दी तपाईं कसरी हटाउनुहुन्छ?

पाँचजना अध्यक्षसँग काम गरें, थुप्रै कुरा सिकें। पशुपति मुरारका र मैले पहिला एउटै प्यानलबाट चुनाव लडेका थियौं। वरिष्ठ उपाध्यक्षमा फरक प्यानलबाट चुनाव लड्यौं। पछि उहाँ अध्यक्ष र म वरिष्ठ उपाध्यक्ष भएर सँगै काम गर्‍यौं। गुट भनेको निर्वाचनका बेला हो। नयाँ कार्यसमितिमा एकजूट भएर अघि बढ्ने भन्ने संकल्प भइसकेको छ। कार्यकारिणी समिति एक भएपछि बाहिर गुटबन्दी भए पनि कुनै फरक पर्दैन।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण तपाईंले निर्वाचन लड्नु परेन, परेको भए?

म पहिलादेखि नै निर्वाचित भएर आएकी हुँ। महासंघभित्रको राजनीति हटाउन वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने प्रावधान राख्यौं। एउटा व्यक्ति वरिष्ठ उपाध्यक्ष हुँदासम्म एकदमै खारिएको हुन्छ। नेतृत्व लिने बेलामा राजनीति र गुट–उपगुटका कारण बाहिरिनुपर्ने अवस्था हटाउन प्रावधान राखिएको हो।

निर्वाचनमा एउटा पक्षको प्रचार गरेको आरोप तपाईंमाथि लाग्यो। पराजित टीमलाई कसरी मिलाउनुहुन्छ?

सहमतिका लागि मैले प्रयास गरेकै हो। त्यो नभए पनि चुनावको बेलाका परिणाम आएसँगै मतभिन्नता अब सकियो। अब उहाँहरू महासंघभित्रका थुप्रै ठाउँमा काम गर्न सक्नुहुन्छ।

व्यावसायिक काम र संस्थागत हितभन्दा ठूला व्यापारिक घरानाहरूको पक्षपोषण गर्ने र आफूनिकट दलको कारिन्दा बन्ने आरोप महासंघको नेतृत्वमाथि लाग्ने गरेको छ। यस्तो आरोप किन लाग्छ?

हरेक नेतृत्वको आफ्नै चरित्र हुन्छ। कोही वार्तामा विश्वास गर्ने नरम त कोही कडा हुन्छन्। अब त्यस्तो आरोप लाग्ने अवस्था म देख्दिनँ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा महासंघको उपस्थिति सरकारकै कारिन्दा जस्तो भएको आरोप पनि छ नि?

हाम्रो सम्बन्ध राम्रै ढंगले अघि बढेको छ। सार्क च्याम्बरमा सुरज वैद्यले नेतृत्व गर्नुभएको छ। भारत, चीनलगायतका मुलुकका उद्योग वाणिज्य महासंघसँग हाम्रो राम्रो सम्बन्ध छ। बरु देशभित्रैको अस्थिर राजनीतिले समस्या पारिरहेको छ।

प्रस्तुतिः मुकेश पोखरेल

comments powered by Disqus

रमझम