छालाको एलर्जी

Share:
  

बिक्रम राई
सुक्खायाम शुरु भएको छ। यो बेला छालामा जीवाणु संक्रमणको जोखिम बढी हुन्छ। यस्तो संक्रमण बाहिर निस्कँदा मात्र होइन, घरभित्रै बसिराख्नेलाई पनि हुन्छ भन्नेतर्फ चाहिं धेरैको ध्यान गएको देखिंदैन। जाडोमा न्यानो हुन बाक्ला तथा लामो कपडा लगाइने हुँदा शरीरका अधिकांश भाग घाम तथा हावाको प्रत्यक्ष सम्पर्कमा पर्दैनन्। त्यसैले पनि जाडोको तुलनामा गर्मीमा छालामा एलर्जी बढी हुने धुलिखेल अस्पतालका छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्ण बताउँछन्।

गर्मीयाममा चर्को घाम लाग्छ। घाममा हुने अल्ट्राभायोलेट (यूभी) ए किरणले जीवाणु संक्रमणबाट छालामा एलर्जी गराउँछ भने बीले छाला डढाउँछ। हावामार्फत यसको संक्रमण हुन्छ। संक्रमणले आँखा, मुख वरिपरि चिलाउने तथा डाबर आउने हुन्छ। शरीरको नढाकिने भाग, अनुहार, घाँटी, हातको बाहिरी भागलगायतमा एलर्जी बढी हुने डा. कर्ण बताउँछन्।

घरभित्र मात्र हुने स्टोरेजमाइट र हाउस डस्टमाइटका कारण पनि एलर्जी हुन्छ। यस्ता जीवाणु फर्निचर, ओछ्यान, खानाको भण्डारलगायतमा बस्छन्। यसबाहेक खानेकुरा, रुख (बिर्च पोलेन), झारपात (ग्रास पोलेन) ले पनि एलर्जी गराउँछ। बिरालो, कुकुर, गाई, भैंसी तथा घोडाको रौंले पनि एलर्जी हुन्छ। व्यक्ति अनुसार एलर्जीका कारण फरक–फरक हुने भएकोले उपचार गराउनुअघि छाला जाँच गर्न सुझाउँछन्, डा. कर्ण। “छाला जाँच नगरी एलर्जीको कारण थाहा हुन्न” उनी भन्छन्, “त्यसपछि एलर्जीको उपचारसँगै सावधानी अपनाउनुपर्छ।”

खानपान र जीवनशैलीका कारण शहरी क्षेत्रमा बसोबास गर्नेहरूलाई एलर्जीले बढी सताउने गरेको छ। एलर्जीको दर पनि बढिरहेको छ। एलर्जीको संक्रमण कम गर्न उपचारसँगै छाला सुक्खा हुन नदिन मोइस्चराइजर, सन ब्लक क्रिम लगाउनुपर्ने डा. कर्ण बताउँछन्। एलर्जी हुने खानेकुरा पनि खानुहुन्न।

सरसफाइमा ध्यान

छालामा हुने एलर्जी कम गर्न घरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। त्यसका साथै सोफा, ओछ्यान तथा कपडाको सफाइ पनि महत्वपूर्ण हुने इन्टेरियर डिजाइनर कल्पना भट्टचन बताउँछिन्। घरभित्रका सामान समयमै सफाइ तथा व्यवस्थापन गरिए धूलो जम्मा हुन पाउँदैन। डा. कर्ण त एलर्जी भइरहने व्यक्तिलाई स्टोरेजसहितका पलङ तथा अरु फर्निचर प्रयोग नगर्न सुझाव दिन्छन्। सरसफाइ गर्न सजिला फर्निचर प्रयोग राम्रो हुन्छ।

कपडा सुकाउँदा सकेसम्म घाममा सुकाउनुपर्छ। घरमा खाद्यान्नलगायतका सामग्री थुपार्दा स्टोरेजमाइट जस्ता सूक्ष्म जीवाणु फैलिन्छन्। यस्ता जीवाणुको संक्रमण रोक्न धुन नमिल्ने कार्पेट तथा कपडाको प्रयोग सके गर्नै हुन्न।

भान्सामा झ्याल तथा भेन्टिलेटर राख्दा हावा ओहोरदोहोर हुन्छ। कुचोको साटो भ्याकुम क्लिनरले कोठा सफा गर्नुपर्छ। मोप अथवा कपडा भिजाई पुछेर सफाइ गर्नु राम्रो मानिन्छ।

घरभित्र राखिने सजावटका सामग्री, लाइट्स, झुमर, फ्यानलगायतको सफाइ पनि नियमित गर्नुपर्छ। फर्निचर राखिने स्थानबाहेक घरका हरेक कुना सफा गर्नुपर्छ। बाहिर लगाउने जुत्ता, चप्पल घरभित्र नलैजाने, झ्यालमा पर्दा राख्ने, सामान मिलाएर राख्ने, तत्काल नचाहिने सामान बाकसमा राखे घरभित्र धूलो जम्मा हुन नपाउने इन्टेरियर डिजाइनर भट्टचन बताउँछिन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम