३-९ वैशाख २०७४ | 16-22 April 2017

कम्प्युटरमा मान्छे खोज्दै

Share:
  

तीन दशकअघि नेपाल राष्ट्रिय कम्प्युटर केन्द्रमा सिस्टम्स इन्जिनियर रहेका डा. सुरेश मानन्धर अहिले युनिभर्सिटी अफ योर्कमा कम्प्युटरलाई मान्छेले बुझ्ने भाषा सिकाइरहेका छन्।

बिक्रम राई
तीन दशक पहिले नेपाल भित्रिएको कम्प्युटरको सीपीयू (सेन्ट्रल प्रोसेसिङ्ग युनिट) चार वटा ठूला फ्रिज जत्रो थियो। २०३२ सालमा राष्ट्रिय कम्प्युटर केन्द्रमा प्रयोग भएको त्यो कम्प्युटरको नाम थियो– आईसीएल २९०० मेनफ्रेम। २६४ केडब्लु (किलो वर्डस्) मेमोरी क्षमताको त्यो कम्प्युटर जर्ज–फोर अपरेटिङ सिस्टममा चल्थ्यो। त्यसलाई चलाउन बनाइएको २५ जनाको प्राविधिक टीममा सुरेश मानन्धर सिस्टम्स इन्जिनियर थिए। जवाहरलाल नेहरू टेक्नोलोजिकल युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इन्जिनियरिङमा बी–टेक उनी २०३९ फागुनमा राष्ट्रिय कम्प्युटर केन्द्रमा जागीरे भए।

नेपाल भित्रिएको दोस्रो कम्प्युटर पनि आईसीएल २९०० मेनफ्रेम नै थियो जुन २०३८ सालको राष्ट्रिय जनगणनामा तथ्यांक प्रशोधनसँगै महालेखा नियन्त्रकको कार्यालय, भन्सार, आयल निगम, कृषि तथा औद्योगिक गणना, टेलिफोन विलिङ्ग आदि काममा प्रयोग भयो। सूचना प्रविधिमा नेपाल कति पछि थियो भन्ने राष्ट्रियस्तरको काम गर्ने एक मात्र कम्प्युटरको अपरेटिङ सिस्टमले नै बताउँथ्यो। जर्ज–फोर अपरेटिङ सिस्टम भने आईसीटी १९०० कम्प्युटरका लागि बनाइएको थियो। मानन्धर सम्झ्न्छन्, “नेपालमा चलाउन गाह्रो हुन्छ भनेर आईसीएल २९०० मेनफ्रेममा एक भर्सन पुरानो अपरेटिङ सिस्टम रोजिएको थियो।”

नेपालले कम्प्युटर प्रविधि भित्रिएको त्यो बेला एक भर्सन पुरानो अपरेटिङ सिस्टममा काम गरेका तिनै मानन्धर अहिले बेलायतको युनिभर्सिटी अफ योर्कमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विभाग प्रमुख छन्। विभागमा मानन्धरसहित पाँच एकेमेडिसियन र २५ जना विद्यावारिधि गरिरहेका विद्यार्थी छन्। डा. मानन्धरको टीमले कम्प्युटरलाई मान्छेको भाषा बुझाउने निकै 'एडभान्स' अनुसन्धान गरिरहेको छ। “यो हामी सबैको 'ड्रिम प्रोजेक्ट' हो” डा. मानन्धर भन्छन्, “एउटा बच्चाले ठूलो हुँदै जाँदा शब्दहरू सिक्दै गएजस्तै कम्प्युटरलाई पनि सिकाउन सकिन्छ कि सकिन्न भन्ने अनुसन्धान हो।”

उनका अनुसार, यसमा प्रोग्रामिङ गरेर कमाण्ड नदिइएको विषयमा कम्प्युटरलाई कसरी काम गराउने भन्ने अनुसन्धान भइरहेको छ। यो अनुसन्धान सफल भए आवाजलाई शब्दमा रूपान्तरण मात्र नगरी मान्छेले जसरी शब्दार्थ बुझने कम्प्युटर बन्छ। अर्थात्, कम्प्युटरले वस्तु चिन्न सक्ने मात्र हुँदैन, माथिल्लो तलाबाट भर्‍याङ प्रयोग नगरी ओर्लिंदा चोट लाग्छ भन्ने थाहा पनि पाउँछ। चार वर्षयता कम्प्युटर साइन्सको रिडर रहेका मानन्धर भन्छन्, “अहिले निश्चित 'टास्क' पूरा गर्ने कम्प्युटर/प्रविधिलाई नै रोबोट मानिएको छ, तर हाम्रो अनुसन्धान सफल भएपछि साँच्चै रोबोट बन्नेछ।”

यूरोप–अमेरिकामा विश्वविद्यालय तहका विद्यार्थीलाई शुरूदेखि नै अनुसन्धानमूलक काममा केन्द्रित गराइन्छ। युनिभर्सिटी अफ योर्कमा २० वर्षदेखि काम गरेका डा. मानन्धर पनि पहिलो अनुसन्धान, दोस्रो विद्यावारिधिका विद्यार्थीलाई सुपरभाइज र तेस्रोमा मात्र अध्यापनको काम गर्छन्। रिडरको रूपमा मूलतः विद्यार्थीको लागि अनुसन्धानको वातावरण मिलाउनु उनको पहिलो जिम्मेवारी हो। यही क्रममा उनी प्रोग्रामिङ गरेर कमाण्ड नदिइएको विषयमा कम्प्युटरलाई काम गराउने अनुसन्धानमा छन्।

युनिभर्सिटी अफ एडिनबर्गको ह्युमन कम्प्युटर रिसर्च सेन्टरमा चार वर्ष रिसर्च फेलो रहिसकेका मानन्धर 'रिलेशनल एक्सटेन्सन्स् टु फिचर लजिकः एप्लिकेशन्स् टु कन्स्ट्र्यान्ट बेस्ड ग्रामर्स' का विद्यावारिधि हुन्। भाषा संरचना, वाक्य रचना र शब्दार्थ विज्ञानमा उनको रुचि छ। नेपालमा रहँदै नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङमा व्यावहारिक अभ्यास थालेका उनले २०४० साल को मतदाता नामावली प्रशोधनका लागि बनाएको इन्कोडिङ प्रणाली युनिकोडको विकास नहुँदासम्म लोकप्रिय भयो, जुन नेपाली भाषाको तथ्यांक 'सर्टिङ' का लागि प्रयोग हुन्थ्यो।

कम्प्युटरको काम सरकारले होइन निजी क्षेत्रले गर्नुपर्छ भनेर राष्ट्रिय कम्प्युटर केन्द्र बन्द भएपछि त्यहाँ कार्यरत प्रतिभावान कम्प्युटर इन्जिनियरहरूमध्ये कोही विदेश गए भने कसैले कम्प्युटर पसल चलाएर बसे। त्यो एउटा गलत निर्णयले गर्दा नेपाल कम्प्युटर क्षेत्रमा पछि परेको डा. मानन्धरको बुझ्ाइ छ। गत ४० वर्षमा सफ्टवेयर क्षेत्रमा आधारभूत काम मात्र हुनसकेको छ, नेपालमा। उनी भन्छन्, “शिक्षा नीतिलाई अन्तर्राष्ट्रिय बजार र प्रविधिमुखी बनाउन सके कम्प्युटर प्रविधिबाटै नेपालको मुहार फेरिन सक्छ।”

सन्त गाहा मगर

comments powered by Disqus

रमझम