६ साउन २०७० | 21 July 2013

पाका पत्रकारको अनुभव

Share:
  

नियति

लेखकः आदित्यमान श्रेष्ठ

प्रकाशकः शमी सम प्रकाशन गृह

पृष्ठः २५८,

मूल्यः रु.२५०

को धर्मो भूतदया किं सौख्यमरोगिता जगति।

कः स्नेहः सद्भावः किं पाण्डित्यं परिच्छेदः।।

अर्थात् धर्म के हो? प्राणी मात्रमा दया गर्नु। सुख के हो? रोग नलाग्नु। स्नेह के हो? भलो चिताउनु। पण्डित्याईं के हो? परिआएको समस्या समाधान गर्नु। पत्रकार आदित्यमान श्रेष्ठको संस्मरणात्मक कृति नियति को 'सहयोगी भावना' शीर्षक लेखको केन्द्रीय भाव हो– संस्कृतको यो सूक्ति। गुल्मीको रिडीमा जन्मिएका आदित्यमानलाई बाबुआमाले पुर्ख्यौली पेशा व्यापार धान्ला भनेर घरमै पढ्ने व्यवस्था मिलाइदिएका थिए। उनी भने पढाइ सकेर पत्रकारितामा लागे। सक्रिय पत्रकारिता कालको देश–विदेशको भ्रमण, पेशागत जीवनका परिघटना तथा अनुभूतिहरूको सँगालो हो हालै प्रकाशित किताब नियति।

पत्रकारिता, समाज, राजनीति, वातावरण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवर्तन बुझ्ोका लेखक आदित्यमानको नियति मा ५१ वटा लेख छन्। पुस्तकले ७० वर्ष यताको नेपाली राजनीतिक तथा सामाजिक परिवेश, लेखकले देखेका पात्रका लोभ–स्वार्थ अनि माया–ममता जस्ता मानवीय प्रवृत्तिका साथै समकालीन विश्व बुझाउँछ। पुस्तकभरि उद्धृत संस्कृतका श्लोक/सूक्तिहरूले पुस्तकलाई मननीय बनाएको छ।

सानन्दं सदनं सुताश्च सुधियः कान्ता प्रियलापिनी।

सन्मित्रं सुधनं स्वयोषित रतिः स्वाज्ञापराः सेवक।।

आतिथ्यं सशिवपूजनं प्रतिदिनं मिष्ठान्न पानं गृहे।

संधोः सङ्लमुपासते च सतत धन्यो गृहस्थाश्रमः।।

अर्थात्, घर आनन्द होस्, छोरा बुद्धिमान होस्, पत्नी मधुर वाणीका हुन्, मित्र असल होस्, इच्छा पूर्तिलायक धन होस्, पत्नीसित प्रेम होस्, आज्ञाकारी सेवक हुन्, प्रतिदिन अतिथि र शिवको पूजा होस्, मिष्ठान्न र शीतल जल मिलोस्, महात्माको संगत पाइयोस्, यस्तो घरको मान्छे ज्यादै सुखी हुन्छ। पाश्चात्य सभ्यताको भौतिक र पूर्वीय सभ्यताको अध्यात्मलाई एकअर्काको पूरक बनाउन सक्दा संसारका सबै मानिस बराबर सुख–शान्तिको भागीदार हुने नत्र, सधैं संसारमा झगडा भइरहने निचोडसहितको पुस्तक संग्रहणीय पनि छ।

रामजी दाहाल


सिंगिङ फर फ्रिडम

लेखकः आनी छोइङ डोल्मा

प्रकाशकः नेपालय

पृष्ठः २४०+१२,

मूल्यः रु.३९५

शुरूमा फ्रेन्च र त्यसपछि नेपाली भाषामा आएको प्रशिद्ध बौद्ध भिक्षुणी आनी छोइङ डोल्माको आत्मवृत्तान्तको अंग्रेजी संस्करण। फ्रेन्च र नेपालीमा अत्यधिक बिक्री भएको पुस्तकको अंग्रेजी संस्करणको अन्त्यमा लेखिकाको चार पेज लामो उपसंहार थपिएको छ।

काठमाडौंमा सूर्यस्नान

लेखकः नारायण तिवारी

प्रकाशकः साझा प्रकाशन

पृष्ठः १५०+१४,

मूल्यः रु.२३०

कवि–कथाकार नारायण तिवारीको आठौं कृतिमा समेटिएका २२ थान कथा कुनै न कुनै रूपमा समकालीन नेपालको राजनीतिक, प्रशासनिक तथा सामाजिक विकृतिबोधक हुनपुगेको छ। कतिपय कथा निजामती, डाक्टरी, प्रहरी, राजनीतिकर्मी आदि चरित्रको प्रवृत्ति उद्घाटन गरेको छ।

लोकेसन

लेखकः दीपक सापकोटा

प्रकाशकः याम्बुरी बुक प्वाइन्ट

पृष्ठः १५२+२८,

मूल्यः रु.२४०

निर्बन्ध भएर होइन, दैनिक अखबारको सीमाभित्र सिर्जित २७ निबन्धको पठनीय सँगालो। नयाँ पत्रिका र सौर्य दैनिकमा कार्यरत रहेको बेला दीपक सापकोटाले २७ लोकेसनको अवधारणामा जे लेखेका छन्, त्यसले उनको लेखकीय भविष्यवाणी पनि गरेको छ।

तेस्रो रङ्ग

लेखकः उषा शेरचन

प्रकाशकः रत्न पुस्तक भण्डार

पृष्ठः १९२+२६,

मूल्यः रु.२००

कवि तथा गीतकार उषा शेरचनको पहिलो कथाकृति। ११ देखि १८ पेजसम्मका १६ थान कथाका गुणवत्तामाथि समालोचक डा. दयाराम श्रेष्ठ र स्वयं लेखिकाको लम्बे भूमिकाले पर्याप्त प्रकाश पारेको छ। संवाद शैलीले सरस बनाएका धेरैजसो कथा प्रथम पुरुषमा लेखिएका छन्।

आफ्नै झ्याइँकुटी

लेखकः माणिकरत्न शाक्य

प्रकाशकः रत्न पुस्तक भण्डार

पृष्ठः १४४+२८,

मूल्यः रु.१७५

आफैंलाई हास्यको मूल पात्र बनाएर पाठक हँसाउँदै अनि त्यसबाट जुटानाम थैली मिर्गौला रोगीहरूलाई हस्तान्तरण गर्ने व्यङ्ग्यकार माणिकरत्नको पहिलो कृतिको दोस्रो संस्करण। 'ससुराली जाँदा' देखि 'फुकाल्दा–फुकाल्दा' सम्मका २९ व्यङ्ग्य संग्रहित किताब निकै रमाइलो छ।

जिगोलो

लेखकः स्वागत नेपाल

प्रकाशकः बीएन पुस्तक संसार

पृष्ठः २४८,

मूल्यः रु.२९९

राजनीतिक वेश्यावृत्तिमा जाकिंदै गएको समाजलाई व्यंग्य गर्दै लेखिएको उपन्यास हो– जिगोलो। यसमा शहीदपुत्रले आमाको उपचार र बहिनीको पढाइका लागि पुरुषवेश्या हुनु परेको छ। लेखकले ५० लाख वर्षपछि संसारबाट पुरुषको अन्त्य हुने कल्पना पनि गरेका छन्।

comments powered by Disqus

रमझम