३-९ वैशाख २०७४ | 16-22 April 2017

सा त्रिशाला

Share:
  

श्रीमान् भाइकाजी गुरुङ बेलायतमा बन्दूकसँग खेलिरहँदा 'लाहुरेनी' प्रतिमामा भने अध्यात्मको अचम्मको खोज सवार थियो। धरान शान्तिपथमा बस्ने उनी भारतका सतपाल महाराजको आत्मशान्तिको अभियानमा थिइन्। सानी छोरीमा यसको प्रभाव नपर्ने कुरै भएन। आमाको पछिपछि लागेर उनी पनि महाराजजीको टोले टेलिभिजन प्रवचन शिविरमा सहभागी हुन्थिन्। र, बेलाबेला भजन गुन्गुनाउँथिन्।

एकदिन आफ्नी छोरीले भाका हालेर भजन गाएको प्रतिमाले ध्यानपूर्वक सुनिन्। छोरीको यो प्रतिभाबारे बेखबर उनले त्यस दिनदेखि सधैं भजन गाउन प्रोत्साहित गरिन्। छोरीलाई बेलाबेला झर्को लाग्थ्यो, तर उनी कर गरिरहन्थिन्। 'गाउँ तिम्रो स्वर राम्रो छ', भनिरहन्थिन्।

तिनै छोरी त्रिशालाले गाएको 'कभर सङ' उकाली चढुँला, ओराली झ्ारुला आज यूट्यूबमा सात लाखभन्दा बढी पटक सुनिएको छ। उनका अरु नेपाली, हिन्दी र अंग्रेजी गीतले पनि लाखौं 'भर्चुअल' श्रोता पाएका छन्।

साथीहरुको ढिपीमा डेढ वर्ष अघिदेखि छोटाछोटा 'कभर सङ' गाएर फेसबूक, इन्स्टाग्राममा राख्न थालेकी उनले अहिले च्यानल आर्बिटरी संस्थासँग गायनकै लागि सम्झ्ाौता गरेकी छिन्। उकाली र यूट्यूबमा रहेका गैह्रीखेतको शिरै हान्यो, पिरतीको फूल, अगर तुम साथ हो, जस्ता गीतहरु उनले त्यही परियोजना अन्तर्गत गाएकी हुन्। “मलाई आफ्नो स्वर खासै लाग्दैन, तर अरुले मन पराउँदा रहेछन् भन्ने पछि मात्र थाहा भयो”, त्रिशाला भन्छिन्।

कक्षा ७ पछि आमासँगै धरान छाडेर काठमाडौं आएकी त्रिशालाले गाउन भने छाडिनन्। छोरीको स्वरमा दम देखेकी प्रतिमाले उनलाई आठ वर्षअघि संगीतज्ञ अम्बर गुरुङको जिम्मा लगाइन्। तर, चिकित्साशास्त्र पढ्ने योजनाले त्रिशालाले प्रशिक्षण पूरा गर्न पाइनन्। “अम्बर गुरुङ सरले पनि पढाइलाई प्राथमिकता देऊ, 'सा' को रियाज गर्न भने नछाड भनेकोले एक महीनापछि गइन्”, उनी भन्छिन्।

काठमाडौंको नेपाल मेडिकल कलेजबाट भर्खरै एमबीबीएस तह सिध्याएकी त्रिशाला यतिबेला इन्टर्नसीपको तयारीमा छिन्। दाजु पूरण गुरुड पनि छालारोग विशेषज्ञ भएकाले उनले आफ्नो करियर पनि चिकित्साशास्त्रमै देखेकी छिन्। तर, संगीतको तिर्खा भने बाँकी नै छ।

अहिले अम्बर गुरुङ छैनन्। तर, गुरुले दिएको सप्तकको पहिलो स्वर 'सा' मन्त्रलाई त्रिशाला पछ्याइरहेकी छन्। “अहिले पनि सरको नोट हेरिबस्छु”, उनी भन्छिन्।

जलविन्दु रोग विशेषज्ञ डा. सुमन थापा भन्छन्, “संगीतमा रहेको संंवेग उपचारमा पनि संवेदनशील हुन सिकाउने रहेछ।” आफैं पनि कुशल गायक रहेका थापाको यो अनुभवलाई आत्मसात् गरे 'त्रिशाला गुरुङ' नाममा मुलुकले एउटी असल चिकित्सक र सफल गायिका पाउनेछ।

comments powered by Disqus

रमझम