६ साउन २०७० | 21 July 2013

संस्कृतका जापानी गुरु

Share:
  

संस्कृतलाई नेपाली र हिन्दी भाषाको माउ मानिए पनि अंग्रेजीको चलनले नेपाल–भारत दुवैतिर संस्कृत त के नेपाली र हिन्दी नै वर्णशंकर बनिरहेको बेला टोकियोका इतो ताकेइसी (५५) संस्कृत संरक्षणमा छन्। चित्रकार समेत रहेका योगगुरु ताकेइसी संस्कृतलाई भाषा मात्र नभई एउटा दर्शन मान्छन्।

राजधानी टोकियोको मुसासिनो सिटीका ताकेइसीले योग सिक्ने क्रममा संस्कृतप्रति आकर्षित भएको बताए। योग सिक्न २२ वर्षको उमेरमा भारत पुगेका उनी संस्कृतको महत्व थाहा पाएपछि त्यसको गहन अध्ययनका लागि लामो समय त्यहीं बसे। “त्यही क्रममा नेपाली हिन्दू चित्रकला सिक्न सन् १९७९ मा नेपाल गएँ”, उनले भने।

गत सात वर्षदेखि उनी टोकियोको योगिनी एसोसिएसनमा १०० हाराहारी जापानी शिष्यलाई योग र संस्कृत सिकाइरहेका छन्। तिनैमध्येकी एक मारिनीले ताकेइसीकै प्रेरणाले संस्कृत भाषा सिक्न थालेको बताइन्। तर, यहाँ भाषाभन्दा योग सिक्नेहरू बढी भएको मारिनीले बताइन्। संस्कृतमा १३ वटा किताब लेखेका ताकेइसी भन्छन्, “संस्कृत तथा हिन्दू संस्कृति नेपाली र भारतीयहरूको सम्पदा हो, यसलाई बचाउनुहोस्।”

भक्तपुरमा हिन्दू चित्रकला सिकेका ताकेइसी टोकियो बसेरै विभिन्न देवदेवीलाई पेन्टिङमा उतारिरहेका छन्। उनले बढीजसो शिव–पार्वती, गणेश र कृष्णको चित्र बनाएको बताए। यी पेन्टिङले गर्दा उनी आफ्नो होन्सु समाजमा शिवभक्त कहलाएका छन्।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम