६ साउन २०७० | 21 July 2013

रातामकैको समाजसेवी अवतार

Share:
  
कलाकार किरण केसी समाज सेवाको क्षेत्रमा पनि प्रशंसित छन्।

हास्यकलाकार किरण केसी ललितपुर इमाडोलका रैथाने हुन्। नेपाली मनोरञ्जन उद्योगमा रातामकै उपनामबाट चिनिने उनी इमाडोल गाविस क्षेत्रमा परोपकारी कामबाट पनि प्रशंसित छन्। रु.१७ लाख लागतमा भर्खरै निर्मित इमाडोल प्रहरी प्रभागको भवनमा पनि उनकै मुख्य भूमिका रह्यो। “भवन बनाएको हैन, डेढ तला थपिएको हो”, रातामकैले भने “यसमा मैले इमाडोलवासीको सहयोग जुटाएको हुँ।”

प्रहरी प्रभागको भवन बनाउन विभिन्न व्यक्तिले ईंटा, बालुवा–गिट्टी, रड, सिमेण्ट र नगद सहयोग गरेको निर्माण समितिका अध्यक्ष रहेका उनले बताए। अपुग रु.८ लाख जुटाउन उनले सांस्कृतिक कार्यक्रम गरेका थिए। प्रहरी प्रभागका प्रहरी नायव निरीक्षक विजय तिमिल्सिनाले कलाकार किरण केसीको पहलबाट इमाडोल प्रहरीलाई सजिलो भएको बताए। प्रहरीलाई सजिलो हुनु भनेको जनसेवा प्रभावकारी हुनु हो।

केसीले इमाडोल क्षेत्रमा गणेश, शिव, विष्णु, लक्ष्मी, काली र हनुमानका ६ वटा मन्दिरका साथै आफ्ना दाइ सुन्दरबहादुर केसीसँग मिलेर किरियापुत्रीका लागि पाटी, धारा र इनार समेत बनाएका छन्। स्थानीय आदर्श माविमा केसी दाजुभाइले आमाबुबा र हजुरबाआमाको नाममा दुई कोठा बनाइदिएका छन्। इमाडोल–५ र ६ मा पर्ने एक किलोमिटर सडक पीचका लागि केसीले रातदिन दौडधुप गरे। “थप एक किलोमिटरमा काम भइरहेको छ” केसी भन्छन्, “इमाडोलमै अर्को वडामा १ किमी पीचको लागि रातामकैको अनुहार बोकेर सडक विभाग र योजना आयोगदेखि मन्त्रालयसम्म धाएको छु।”

देवयानी सिवाकोटी

नभन्दै, सरकारी अधिकारीहरूको 'कृपा'सँगै त्यो सडकको नाम पनि 'रातामकै मार्ग' राखिएको छ। केसीको घर नजिकको चोकको नाम यसअघि नै 'रातामकै चोक' राखेका छन्, स्थानीयले। इमाडोल युवा समाजका अध्यक्ष यादव केसी बाटोघाटो, मन्दिर–पाटी, इनार–धारा बनाउनेदेखि मोबाइल फोनको टावर राख्न र अपाङ्गता भएकाहरूलाई सहयोग गर्नेसम्मको काममा सक्रिय रहेका रातामकैसँग चोक र सडकको नाम जोडिनु सामान्य भएको बताउँछन्। यादव भन्छन्, “उनले कला क्षेत्रमा जति नाम कमाएका छन्, आफ्नो ठाउँमा त्यति नै काम देखाएका छन्।”

स्थानीयस्तरमा निकै प्रशंसित किरण केसीले समाजलाई हँसाएर मात्र नपुग्ने त्यहाँ भौतिक काम पनि आवश्यक हुने भएकोले अग्रसरता लिएको बताए। मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्यको समूहमा काम गरेर खारिएका किरण केसी पछिल्लो समय जिरेखुर्सानी बाट दर्शकमाझ छाइरहेका छन्।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम