६ साउन २०७० | 21 July 2013

नेतामाथि विश्वास बढ्दै

Share:
  

अन्तरिम चुनावी मन्त्रिपरिषद्ले निर्वाचनको मिति घोषणा गरेको र निर्वाचन आयोगले आचारसंहिता पारित गरेसँगै शहरिया नेपालीमा निर्वाचन हुने र राजनीति सङ्लिने आशा पलाएरै हुनसक्छ, दलका नेताप्रतिको विश्वास पहिलेभन्दा बढ्न थालेको छ। हिमाल ले गत साता देशका प्रमुख १२ शहरमा गरेको सर्वेक्षणका क्रममा सोधिएको 'अहिले राष्ट्रिय राजनीतिमा सक्रिय दलका प्रमुख नेतामध्ये सबैभन्दा बढी कसलाई विश्वास गर्नुहुन्छ?' भन्ने प्रश्नमा 'थाहा छैन' र 'भन्न चाहन्न' भन्ने उत्तरदाताको संख्या एक महीनाअघि २६.६ प्रतिशत रहेकोमा अहिले घटेर २२.१ प्रतिशत देखिनुले त्यही संकेत गर्छ।

सर्वेक्षणमा सहभागी कुल ३६३ उत्तरदातामध्ये १३.५ प्रतिशतले नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि विश्वास गर्ने बताए भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विश्वास गर्ने ८.८ प्रतिशत देखिए। कोइराला र दाहालमाथिको विश्वास पहिलेभन्दा बढेको छ। एक महीनाअघिको सर्वेक्षणमा कोइराला र दाहाललाई 'विश्वास गर्छु' भन्ने उत्तरदाता क्रमशः १२.७ र ७.७ प्रतिशत थिए। अशिक्षित उत्तरदातामा कोइराला र दाहाललाई विश्वास गर्ने समान २३.८ प्रतिशत छन्।

कोइराला र दाहालसँगै अघिल्लो महीनाको तुलनामा यसपटक बढी उत्तरदाताको विश्वास जित्ने नेतामा चुनाव बिथोल्ने एकोहोरो रटान छाडेर वार्तामा आउने निर्णय गरेका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र हिन्दू राजसंस्थाको वकालत गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि छन्। वैद्य र थापामाथि विश्वास गर्ने उत्तरदाताको संख्या जेठ अन्तिम साताको सर्वेक्षणमा क्रमशः १.७ र ३.६ थियो भने अहिले क्रमशः २.५ र ६.६ प्रतिशत पुगेको छ। त्यसैगरी एमाले नेता केपी शर्मा ओलीलाई विश्वास गर्ने उत्तरदाता ४.७ प्रतिशतबाट बढेर ६.१ तथा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालाई विश्वास गर्नेहरू ३.६ प्रतिशतबाट बढेर ५.२ प्रतिशत पुगेका छन्।

मधेशी दलका नेताको स्थिति पनि पहिलेभन्दा सुधि्रएको छ। अघिल्लो महीना १.७ प्रतिशत उत्तरदाताको विश्वास जितेका मधेशी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई विश्वास गर्नेहरू बढेर २.५ प्रतिशत पुगेका छन्। त्यसैगरी तमलोपाका अध्यक्ष महन्थ ठाकुर र मजफो लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई रोज्नेहरू क्रमशः ०.८ र ०.६ प्रतिशतबाट बढेर क्रमशः १.७ र १.१ प्रतिशत पुगेका छन्।

गत महीना ९.१ प्रतिशत उत्तरदाताको मत पाएका एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईप्रतिको विश्वास भने उपाध्यक्ष पद 'त्याग'को घोषणा गरे पनि खस्किएर ८.३ प्रतिशतमा झ्रेको छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई विश्वास गर्ने ७.५ प्रतिशतबाट ६.९ र कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई रोज्ने ४.१ प्रतिशतबाट घटेर २.५ प्रतिशतमा खुम्चिएका छन्।

शहरी उत्तरदातामा संघीयता पक्षधर बढेका छन्। 'संघीयतामा जान हुन्छ कि हुँदैन?' भनेर सोधिएको अर्को प्रश्नमा ५६.२ प्रतिशत उत्तरदाताले 'जान हुने' जवाफ दिए। अघिल्लो महीना यो संख्या ५२.२ प्रतिशत थियो। संघीयता पक्षधरमध्ये ५२ प्रतिशतले हिमाल, पहाड र तराईलाई मिलाएको संघीय राज्य हुनुपर्ने बताए भने अहिलेको विकास क्षेत्र जस्तै राज्य हुनुपर्ने पक्षमा १७.३ प्रतिशत देखिए। १४.७ प्रतिशतले जातीय र ४.४ प्रतिशतले भाषाको आधारमा संघीय राज्य उपयुक्त हुने जवाफ दिए। हिमाल, पहाड र तराईलाई छुट्टाछुट्टै पारेर संघीय राज्य बनाउनुपर्छ भन्ने उत्तरदाता ३.४ प्रतिशत मात्र छन्।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम