६ साउन २०७० | 21 July 2013

खुर्सिदका सामुन्ने एक

Share:
  
गत संविधानसभा निर्वाचनपछि एकठाउँमा कतै नदेखिएका मधेशवादी दलका नेताहरूलाई भारतीय विदेशमन्त्री सलमान खुर्सिदले एउटै टेबलमा भेला गराइदिए।

विभिन्न समूहमा विभाजित भएर अनेकतिर मुख फर्काएका मधेशवादी दलका नेताहरू २५ असारमा भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्न काठमाडौंको द्वारिकाज् होटलको एउटै टेबलमा भेला भए। जबकि, विघटित बाबुराम भट्टराई सरकारको महत्वपूर्ण घटक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक अनेक प्रयासका बावजूद पाँच महीनादेखि हुनसकेको थिएन भने उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमसहित मधेशी दलहरूको बैठक नभएको वर्षौ बितिसकेको थियो।

नौ घण्टे नेपाल भ्रमणमा आएका खुर्सिदलाई भेट्न महन्थ ठाकुर, उपेन्द्र यादव, विजय गच्छदार, जेपी गुप्ता, राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव, शरदसिंह भण्डारीदेखि अनिल झासम्म एकै पटक पुगे। तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको असार पहिलो साता र तेस्रो साता मोर्चाको बैठक गर्ने प्रयासलाई असफल पार्नेमध्येका एक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भन्छन्, “एउटै मुद्दा र उद्देश्यले गठन भएका सबै मधेशवादी दलहरू एकैठाउँमा आउन् भन्ने भारतीय चाहना र भारतीय विदेशमन्त्रीको समय कम भएकाले यस्तो भएको हो।”

राष्ट्रपति डा. रामवरण यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख नेताहरूलाई भेटेपछि खुर्सिदले त्यो दिन मधेशवादी दलका नेताहरूलाई भेटको समय दिएका थिए। रेग्मी सरकारप्रमुख भएदेखि नै नेपाल आउने तयारीमा रहेका खुर्सिदको यो भ्रमण चीनका उच्च अधिकारी काठमाडौं आएपछि हतारहतार तय भएको थियो।

भारतीय चाहना कारण

सबै मधेशवादी दलहरू एक होऊन् भन्ने भारतीय चाहना ४ मंसीरको चुनाव घोषणापछि अरू मुखर हुनथालेको थियो। त्यसैको परिणाम, तमलोपाका अध्यक्ष ठाकुरले असार पहिलो साता सबै मधेशवादी दलका शीर्ष नेताहरूलाई चियापानको लागि आफ्नो निवास बोलाएका थिए। तर, काठमाडौंमै रहेका गच्छदार, महतो र यादव विभिन्न बहाना बनाउँदै उपस्थित भएनन्।

आफ्नो निवासमा आयोजना गरिएकाले पहिलो बैठक असफल भएको महसूस गर्दै ठाकुरले अर्काे बैठक गच्छदारको निवासमा गर्ने भने। तर, बैठकको केही घण्टा पहिले गच्छदारले ठाकुरका सहयोगीलाई फोन गरेर बैठक हुन नसक्ने भनेपछि ठाकुरको त्यो प्रयास पनि असफल भयो। दुई पटकको प्रयास असफल भएपछि पनि नथाकेका ठाकुरले ८ असारमा तमलोपाकै कार्यालयमा मोर्चाको अर्को बैठक डाके। तर, बैठकका लागि ठाकुर कार्यालय पुगेपछि महतो नेपाल बाहिर गएको जानकारी आउनाले त्यो बैठक पनि असफल भयो। त्यतिबेला गच्छदारले महतोको अनुपस्थितिमा बैठक गर्दा राम्रो नहुने सुझाएका थिए। तर, नेपाल फर्किएपछि महतोले बैठकप्रति वास्ता नगरेकाले मोर्चाको बैठक त्यसपछि पनि हुन सकेन। त्यसपछि ठाकुरले २० असारमा तमलोपा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमै २४ असारमा मोर्चाको बैठक बोलाइएको सार्वजनिक गरे। मोर्चाका अरू नेताहरूको बेवास्ताले २४ असारको बैठक पनि हुनसकेन।

मधेशी राजनीतिका जानकारहरूका अनुसार, ठाकुरले आयोजना गरेका सबै बैठक हुन नसक्नुमा मधेशी राजनीतिको नेतृत्व कसले हात पार्ने भन्ने विषय कारक रहेको छ। सबै मधेशवादी दलहरूलाई एक हुन सार्वजनिक आह्वान गर्दै छुट्टाछुट्टै भेटघाटसमेत गरेका ठाकुरले बोलाएको बैठकमा जाँदा उनी नै मधेशी राजनीतिमा हावी हुनसक्ने डर अरू मधेशी दलका नेताहरूमा रहेको ती जानकार बताउँछन्। महन्थलाई नेता मान्नेहरूमा पनि उनीपछि आफू बाहेक अरू नेता नबनुन् भन्ने धारणा रहेको उनीहरूको भनाइ छ। तर, दिल्लीको राजनीतिक नेतृत्वले विश्वास गरेका महन्थलाई बेवास्ता गर्दा तथा उनले बोलाएको बैठकमा नजाने बताउँदा दिल्लीको टेडो नजर पर्ने डर उनीहरूमा रहेको देखिन्छ।

खुर्सिदसँगको भेटमा सहभागी एक मधेशी नेताका अनुसार, ठाकुरले बोलाएको बैठकमा नगएका सबै मधेशी त्यहाँ पुग्नुमा भारतीय नेतृत्व अघि आफू एकताविरोधी नदेखिन चाहनु महत्वपूर्ण कारण रह्यो। सो भनाइमा सहमति जनाउँदै तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ता भन्छन्, “त्यसैले खुर्सिदसँगको सामूहिक भेटले कुनै विशिष्ट संकेत गर्दैन।” उनका अनुसार, तीन धारमा बाँडिएका मधेशी राजनीतिकर्मीलाई भारतले एकै ठाउँमा राखेर आफ्नो कुरा भने पनि मधेशीहरूको विचार भने सुन्न चाहेन।

नवीन झा

comments powered by Disqus

रमझम