६ साउन २०७० | 21 July 2013

लाजमर्दो चाला

Share:
  
- रघु पन्त
कूटनीतिक मर्यादा विपरीत भारतीय विदेशमन्त्री भेट्न पूर्वप्रधानमन्त्रीहरू लाम लाग्नु आत्मसमर्पणवादी र लाजमर्दो हो।

आनन्दराम डंगोल
नेपालका भूतपूर्व प्रधानमन्त्रीहरू लर्को लागेर भारतका विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्न होटलमा गएको घटनाले यतिबेला नेपाली राजनीति तरङ्गित छ। नेपालका चार जना भूतपूर्व प्रधानमन्त्रीका प्रोटोकल विपरीतको त्यो कामले मुलुकको स्वाभिमान कमजोर पारेको छ। राजनीतिक क्षेत्र, सञ्चारमाध्यम र जनताबाट व्यापक आलोचना भएको सो विषयमा विदेशमन्त्री भेट्न जाने नेताहरूको पार्टीमा पनि विवाद र बहस हुने देखिन्छ।

भारतीय विदेशमन्त्रीलाई पूर्व परराष्ट्र मन्त्रीहरू, पार्टीको विदेश विभाग प्रमुख वा प्रधानमन्त्री नभएका नेताहरूले होटलमै गएर भेटेको भए स्वाभाविक हुन्थ्यो। अथवा पूर्व प्रधानमन्त्रीहरूलाई अतिथिले उनीहरूको निवास वा पार्टी कार्यालयमा भेटेको भए पनि प्रोटोकल विपरीत हुँदैनथ्यो।

छलफल हुनुपर्छ

साउन पहिलो सातादेखि शुरू हुने नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा केही सदस्यले यो विषय उठाउने सम्भावना छ। भारतपरस्त, अवसरवादी र सत्तालोलुप हुँदै गएको र दिल्लीलाई कसले रिझ्ाउने भन्नेमा शीर्ष नेताहरू पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच होडबाजी चलेकाले एमाओवादीले यो विषयमा छलफल गर्ला भन्ने लाग्दैन। दिल्लीलाई तीर्थधाम र गंगा बराबर ठान्ने कैयौं नेताहरू रहेकाले नेपाली कांग्रेसमा पनि यो विषय छलफलमा आउने देखिंदैन। त्यसमाथि, नेपालको आन्तरिक मामिलामा भारतले जथाभावी हात हालेको मन नपराउने कांग्रेसका सभापति सुशील कोइरालालाई कमजोर पार्न शेरबहादुर देउवालाई दिल्लीले उचाल्न थालेको छ। नेपालका राजनीतिक दलहरूबीचको सहमति, समझ्दारी र सहकार्य तथा नेपाली जनताबीचको एकतालाई भन्दा नेपालको स्थिरताको लागि भारतको भूमिकालाई निर्णायक ठान्ने पराश्रयी चिन्तनले ग्रस्त कांग्रेस नेताहरूका कारण दिल्लीको सो प्रयासमा बल पुगेको छ।

संविधान बनाउन नसकेर पहिलो संविधानसभा विघटित भएको र दोस्रो संविधानसभा निर्वाचनका विषयमा नेपालका राजनीतिक दलहरूबीच विवाद रहेको बेला भएको भारतीय विदेशमन्त्रीको भ्रमणको परिणाम नेपालका लागि कस्तो हुनेछ भनेर अहिले नै भन्न सकिन्न। तर, उनको भ्रमणले नेपाली दलका पहिलो पंक्तिका नेताहरूले अब राष्ट्रको स्वाभिमान, मर्यादा, प्रतिष्ठा र आवश्यकतालाई धान्न नसक्ने हुन् कि भन्ने चिन्ता दल र जनतामा छाएको छ।

देश अन्तरिम संविधानका भरमा चलिरहेको छ, प्रमुख दलहरू गुट उपगुटमा विभाजित छन्। दलहरूबीच अविश्वास र द्वन्द्व बढ्दो छ र यही बेला विदेशी चलखेल र दबाब अरू बढेको छ। यस्तो जटिलताबीच नेतृत्वको प्रमुख पदमा रहेकाहरू प्रभावहीन, दिशाहीन र स्वाभिमानहीन देखिएका छन्। आफ्नै मर्यादा र प्रतिष्ठाको हेक्का नराख्नेहरूले देशको मर्यादा र भविष्यको के हेक्का राख्लान् भन्ने प्रश्न उठ्नु अस्वाभाविक पनि होइन।

दूतावासको खबर

भारतीय विदेशमन्त्रीले नेपाली प्रेससँग नेपाली नेताहरूले चाहेकाले भेटेको उत्तर दिए पनि भारतीय दूतावासका कर्मचारीहरूले नेपाली नेताहरूलाई फोन गरेर निम्ता दिएका थिए। एमालेका अरू नेतालाई आफूलाई दिइएको समयमै बोलाइएको अध्यक्ष झ्लनाथ खनाललाई जानकारी थिएन। तर, त्यसरी बोलाइएका केही नेताहरू त्यो भेटघाटमा गएनन्। त्यो हिसाबले कांग्रेस र एमाओवादीका नेताहरूको जम्बो टोली उनीहरूले निर्णय गरेर बनाएका थिएनन् भन्ने स्पष्ट हुन्छ। ती नेताहरू दूतावासको खबरमा त्यहाँ पुगेका थिए।

भारतीय विदेशमन्त्रीसँग कुन कुन नेताले भेट्ने भन्ने सम्बन्धित दलले निर्णय गर्ने कुरा हो। जुन सम्बन्धित दलको आन्तरिक मामिला र सार्वभौम अधिकार हो। तर, भारतीय दूतावासबाट दलहरूको सो अधिकारमा हस्तक्षेप भयो। दलहरूभित्र भारतीय दूतावासको हस्तक्षेपकारी शैलीको आलोचना पनि हुन थालेको छ। तर, आफ्नो अधिकारमा भारतीय दूतावासले हस्तक्षेप गर्दा दाहाल, रामचन्द्र र झ्लनाथले आलोचना र विरोध गरेनन्, यो भन्दा लाचारी के हुनसक्छ?

कूटनीतिक मर्यादा विपरीत दूतावासले गरेको हस्तक्षेप यो पटक जस्तो तीतो रूपमा नेपालका राजनीतिक दलहरूले सम्भवतः यसअघि भोगेका थिएनन्। तर यो तीतो भोगाइले पनि दलका पहिलो पंक्तिका नेताहरूको मूर्च्छा परेको स्वाभिमान बिउँझ्िएला भनेर आशा गर्ने ठाउँ भने निकै कम छ।

comments powered by Disqus

रमझम