१३ साउन २०७० | 28 July 2013

मधेशी दलहरूको राष्ट्रवाद

Share:
  

हिमाल (३० असार) मा प्रकाशित संविधानसभा चुनावपछि चारतिर फर्केर हिंडेका मधेशवादी दलहरू भारतीय विदेशमन्त्री सलमान खुर्सिदको नेपाल भ्रमणका क्रममा बत्तीसपुतलीस्थित होटल द्वारिकामा एउटै टेबलमा प्रस्तुत भएको 'खुर्सिदका सामुन्ने एक' शीर्षकको समाचार पढेपछि मधेशवादी दलहरूको चरित्र प्रष्ट हुन्छ। राष्ट्रिय मुद्दामा छलफल गर्नका लागि यसअघि कतिपय मधेशवादी नेताहरूले गरेको प्रयास सफल हुन नसकेको सन्दर्भमा भारतीय विदेशमन्त्री खुर्सिदका सामु नतमस्तक भएर सबै मधेशवादी दलका नेताहरू लाइन लागेर पुगेका थिए। राष्ट्रिय मुद्दाका सवालमा एकाकार भएर छलफल गर्न हिच्किचाउने मधेशवादी दलहरूको यस्तो व्यवहारले उनीहरू कताबाट संचालित छन् भन्ने अनुमान लगाउन अब कुनै कठिनाइ छैन। मधेशका मुद्दा उठाउने नाममा मधेशी जनताको मत लिएर आएका ती दलका नेताहरूले कम्तीमा मधेशी जनताको भावनाको सम्मान गर्न सिक्नुपर्छ।

हरि ज्ञवाली, नयाँबानेश्वर, काठमाडौं

जघन्य अपराध

हिमाल (३० असार) मा आफ्नै छात्रालाई बलात्कार गर्ने गुरुबारे प्रकाशित 'कानून छलेर बच्दै' समाचारले शिक्षकहरूको मर्यादामाथि प्रश्न उठाएको छ। छोराछोरी समानका बालबालिकामथि अनेक बहानामा हुने यस्ता अनैतिक गतिविधिबारे स्वयं अभिभावकहरू पनि सचेत हुनु आवश्यक छ। शिक्षक मात्र होइन, कतिपय बालगृह वा बाल संस्थामा पनि यस्ताखाले अत्याचार हुने गरेका समाचार बेला बेलामा आइरहेका छन्। अन्तर्राष्ट्रिय र घरेलु कानूनले पनि बाल व्यभिचारीलाई जघन्य अपराध मानेको छ। यस्ता अपराधीमाथि कानूनी कारबाही अघि बढाउनुपर्दछ, जसले गर्दा भोलिका दिनमा अरू बालबालिकाले यस्तो पीडा भोग्नु नपरोस्। तत्काल देखिने असर भन्दा पनि यसबाट पीडित केटाकेटी जीवनभर दुःखी हुनेछन्। यस्तै बालबालिकामध्ये कतिपय लागूऔषधको दुर्व्यसनमा फस्ने गरेका छन् भने कतिपय मानसिक रोगी भएका छन्। त्यसैले यस्तो जघन्य अपराध रोक्नेतर्फ सरोकारवाला निकायहरूले ध्यान दिनैपर्छ।

आर. राई, इमेलबाट

दैनिक करीब ६ घण्टा विद्यालयमा बिताउने बालबालिकाका लागि सबैभन्दा नजिकका अभिभावक शिक्षकहरू नै हुन्। छोराछोरी समानका बालबालिकाको हेरचाह गर्नु शिक्षकहरूको दायित्व हो। तर तिनै शिक्षकहरू यसरी आफ्ना विद्यार्थीमाथि हिंस्रक बनेपछि कसलाई विश्वास गर्नु? समाजमा वर्षौंदेखि विद्यमान यस किसिमको अत्याचार हटाउन समाजका हरेक सदस्यहरू सचेत हुनैपर्छ। अन्यथा, यसले भोलिका दिनमा भयावह समस्या निम्त्याउन सक्छ।

गोपाल पौडेल, ललितपुर

चाहिन्न यस्तो आयोग

हिमाल (३० असार) मा प्रकाशित 'म्याद नथप' समाचार पढेपछि माओवादी हिंसात्मक द्वन्द्वकालका मृतक, बेपत्ता, अपहरण, घाइते, अपाङ्ग तथा विस्थापितहरूको लगत संकलन गर्न गठित कार्यदलले जीवित मान्छेलाई समेत मृतको सूचीमा राखेर सरकारी ढुकुटीबाट करोडौं रकम हिनामिना गरेको प्रष्ट हुन्छ। यसरी नक्कली मान्छेको नाममा रकम खानका लागि आयोगको म्याद थप्नुको औचित्य छैन। वास्तविक पीडितकहाँ राहत नपुर्‍याउने आयोग चाहिंदैन।

*जीवन मल्ल,इमेलबाट *

समाजको बिग्रँदो मुहार

हिमाल (३० असार) मा प्रकाशित लागूऔषध प्रयोगकर्ता सम्बन्धी समाचार पढ्दा नेपाली समाजको बिग्रँदो अनुहार प्रष्ट देख्न सकिन्छ। समाजमा पढेलेखेका सक्षम युवाहरू यूरोप, अमेरिका जाने अनि काम गर्ने युवाहरू खाडी मुलुक पुग्दा दक्ष जनशक्तिको अभाव भएको नेपालमा बाँकी रहेका युवाहरू लागूऔषधको दलदलमा फस्दा भोलिका दिनमा यो समस्या सिंगो मुलुकका लागि भयावह हुनेछ। लागूऔषधको कुलतमा फसेका युवाहरूलाई त्यसबाट बाहिर निकाल्नै पर्छ।

सुनिता माली, इमेलबाट

राजनीतिक अस्थिरताका कारण देशमा उब्जिएको समस्याले सक्षम जनशक्ति विदेश पलायन भइरहेको सन्दर्भमा देशमा भएका युवाहरू पनि लागूऔषधको कुलतमा फस्नु पक्कै पनि मुलुकका लागि राम्रो संकेत होइन। देशमा विद्यमान बेरोजगारी समस्या हल गर्न सकिएमा कम्तीमा युवाहरूलाई लागूऔषधको कुलतबाट जोगाउन सकिने थियो। होइन भने भोलिका दिनमा पछुताउनुको विकल्प रहने छैन।

मिलन बम, इमेलबाट

उनीहरूको के दोष?

हिमाल (२३ असार) मा आफैंले जन्माएका सन्तानलाई छाडेर हिंड्ने आमाबारे प्रकाशित 'कस्ता निर्दयी' समाचारले भावुक बनायो। एक विवाहित महिलाको लागि सन्तान जस्तो ठूलो अरू केही हुनै सक्दैन। तर आधुनिक स्वार्थी समाजमा बढ्दो शहरीकरण र त्यसमा मौलाएको यौन क्रियाकलापका कारण निमुखा बच्चाले दुःख खेपिरहेका छन्। अनैतिक सम्बन्धबाट सन्तान जन्माउन लाज मान्नेहरूले परव्यक्ति (महिला या पुरुष) सँग पनि अनैतिक सम्बन्ध राख्न डर मान्नुपर्दछ। आखिर जन्मेका बालबालिकाको त दोष के हुन्छ र?

रसना ढकाल, बालकोट–५, भक्तपुर

मन्त्रीको ध्यान जाओस्

हिमाल (२३ असार) मा प्रकाशित नाट्य तथा संगीत एकेडेमीका २४ प्राज्ञले आजीवन भत्ता दाबी गर्दै पास गरेको नियमावली सम्बन्धी 'नअटाउने गाँस' शीर्षकको समाचारले प्राज्ञ शब्दको अवमूल्यन गरेको छ। यस्तो अनैतिक कामलाई राम्रो छविका अर्थमन्त्री शंकर कोइरालाले बजेट दिएर अर्को अनैतिक काम गर्न हुँदैन।

वासुदेव शर्मा, रामेछाप, दिमीपोखरी

बोधगयामा बम आक्रमण

भगवान बुद्धको जन्मभूमि लुम्बिनी र उनले बुद्धत्व पाएको बिहारको बोधगया क्षेत्र बौद्ध र हिन्दूको लागि मात्र नभई विश्वभरका शान्तिप्रेमीका लागि आस्थाका केन्द्र हुन्। २३ असारमा आतंकवादीहरूले बोधगयाका आधा दर्जनभन्दा बढी पवित्रस्थलमा बम विस्फोट गराएको समाचार छ। विस्फोटबाट दुई जना भिक्षु घाइते भएका छन्। बोधगयामा हमला हुनसक्ने सूचना केन्द्रीय सरकारबाट पाएर पनि बिहार सरकारले सुरक्षा कडा नपारेको भनी आलोचना भइरहेको छ।

यसअघि पनि बोधगयाको तीर्थस्थलमा पटक–पटक आक्रमण भएका थिए। ईस्वीको तेह्रौं शताब्दीमा हमला गरेर बोधगया क्षेत्र कब्जामा लिएका मुस्लिम आक्रमणकारीहरूलाई कमादेशका राजा पुरुषोत्तम सिंहले जुम्ला सिंजा साम्राज्यका प्रतापी खस बौद्ध राजा अशोक चल्ल (१२५५–९८ ई.) सँग सैनिक सहायता लिई भगाएको इतिहास छ। जुम्ली नरेश क्राचल्लदेवका पुत्र अशोक चल्लले कुमाउ गढवाल राज्यहरूमा विजय गरेका थिए। बोधगयाको युद्धमा वीरगति पाएका आफ्नी छोरीको छोरा माणिक्य सिंहको स्मृतिमा राजा पुरुषोत्तम सिंहले 'गन्ध कुटी' बिहार स्थापना गरेका थिए। त्यहाँ स्थापित शिलालेखमा 'सपादलक्ष शिखर चूडामणि नरेश' भन्दै राजा अशोक चल्लको प्रशंसा गरिएको पाइन्छ।

यसपालिको आक्रमणमा पनि ८० फीट लामो बुद्धमूर्ति तथा बुद्धले ज्ञान पाएको बोधिवृक्ष एवं प्राचीन बुद्धमूर्ति सहित पुरातात्विक वस्तुहरू र सँगै रहेको बौद्ध विद्याश्रम सहित सुरक्षित छन्। नेपालका पनि प्रसिद्ध हिन्दू तथा बौद्ध मन्दिरहरू आतंककारीहरूको निशानामा पर्न सक्ने भएकाले सरकार र जनता दुवै सतर्क रहनुपर्ने देखिन्छ।

आत्माराम ओझा,महेन्द्रनगर, कञ्चनपुर

comments powered by Disqus

रमझम