२४-३० वैशाख २०७४ | 7-13 May 2017

कमिशनको अवरोध

Share:
  
- रामु सापकोटा
सरकारी अस्पतालका पदाधिकारीहरू कमिशनको लोभमा पर्दा बिरामी उपचारबाट बञ्चित छन्।

रामु सापकोटा
दुई वर्षदेखि बिग्रिएको वीर अस्पतालको कोबाल्ट–६० मेशीन।
वीर अस्पतालको कोबाल्ट–६० मेशीन बिग्रिएपछि रेडियोथेरापी सेवा चाहिने क्यान्सर रोगका बिरामी चर्को शुल्क लाग्ने निजी अस्पताल जानु परेको दुई वर्ष भयो। १७ वैशाखमा राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले नै कोबाल्ट–६० खरीद नगरेकोमा असन्तुष्टि पोखे– वीर अस्पताल बिरामीलाई निजी अस्पतालतिर रेफर गरेर बसेको छ।

२५ वर्षअघि रु.१ करोडमा किनेको कोबाल्ट–६० बिग्रिएपछि नयाँ मेशीन किन्न अर्थ मन्त्रालयले आव २०७२/७३ का लागि वीर अस्पताललाई रु.७ करोड छुट्याएको थियो। त्यसअनुसार, अस्पतालले ७ असार २०७३ मा बोलपत्र आह्वान गर्दा क्यानेडियन कम्पनी थेराट्रोनको मेशीन आपूर्ति गर्न नेपाल–हिमालले र भारतीय कम्पनी भाभाट्रोनको मेशीनको लागि बायोमेड इन्टरनेशनल कम्पनीले आवेदन दिएका थिए। नेपाल–हिमालले अस्पतालको प्रस्तावभन्दा रु.९ करोड बढी पर्ने र बायोमेड इन्टरनेशनलले अमेरिकी गुणस्तर प्रमाण (एफडीए) नभएको मेशीन आपूर्ति गर्ने प्रस्ताव गरेकाले दुवै कम्पनी छानिएनन्।

खरीदको चक्कर

त्यतिबेला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति (भीसी) गणेश गुरुङ भारतीय कम्पनी भाभाट्रोनको मेशीन ल्याउने जोडबलमा थिए। अस्पतालको व्यवस्थापन समिति र स्पेसिफिकेसन समिति भने त्यसको विपक्षमा उभिए। विवादका बीच वीरले २६ कात्तिक २०७३ मा कोबाल्ट–६० मेशीन किन्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्‍यो। दोस्रोपटक बोलपत्र आह्वान गर्दा कोबाल्टमा आईएमआरटी र थ्रीडीआरटी प्रविधि थप गर्‍यो, जुन पहिलो बोलपत्रमा उल्लेख थिएन। त्यसका लागि स्वास्थ्य मन्त्रालयले पनि आव २०७३/७४ का लागि रु.१५ करोड दियो। र पनि, अस्पताल कोबाल्ट–६० विहीन छ।

दोस्रो पटक इ–बिड गर्दा पहिलेका दुईसहित चेकोस्लोभाकियाको टेराबेल्ट–१०० एसिएस कम्पनीको मेशीन खरीद गर्न लाइफलाइन कम्पनीले आवेदन दियो। जसमा क्यानेडियन मेशीन आयात गर्ने नेपाल–हिमालले प्रस्ताव पेश गर्न पाएन। कम्पनी सञ्चालक कृष्ण न्यौपाने वीरको वेबसाइटमा फारम अपलोड नै नभएको बताउँछन्। अस्पताल पदाधिकारीले आफूहरूको फारम अपलोड नगराउन प्राविधिक खेल खेलेको उनको आरोप छ। उनी भन्छन्, “अस्पतालको आपूर्ति शाखामा गएर फारमको हार्ड कपी किन्न माग्दा पनि दिइएन।”

एक वर्षदेखि बिग्रिएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लिनाक–२३०० सीडी।
परेका टेन्डरमध्ये पनि भारतीय मेशीन ल्याउने बायोमेड इन्टरनेशनल र चेक मेशीन खरीद गर्ने लाइफलाइनको प्रस्तावमा पनि अस्पतालको मूल्यांकन समितिले शर्त पूरा नगरेको पायो। ती कम्पनीले एफडीए प्रमाणित नभएको र एशियामा प्रयोग नभएका कोबाल्ट–६० मेशीनको प्रस्ताव गरेकाले स्वीकृत नगरी भीसीलाई पुनः बोलपत्र आह्वान गर्न सुझाव दिइसकेको टेन्डर मूल्यांकन समिति सदस्य रहेका वीरका एक चिकित्सक बताउँछन्। “उहाँलाई जस्तोसुकै होस्, भारतीय मेशीनमा रुचि छ” उनी भन्छन्, “अर्को बोलपत्र आह्वान गर्ने सुरसार पनि छैन।”

भीसी डा. गुरुङले दोस्रो बोलपत्र आह्वानपछि भारतीय मेशीनका लागि बायोमेड इन्टरनेशनलको नाम सिफारिश गर्न मूल्यांकन समितिलाई दबाब दिएका थिए। चार सदस्यीय समितिका चिकित्सकहरूले मापदण्डमा नपरेका कम्पनीलाई सिफारिश गर्न नसकिने अडान लिएपछि भीसी गुरुङले स्वास्थ्य मन्त्री र सचिवलाई मनाउन खोजेका थिए। मन्त्रालयबाट पनि आफूले चाहेको निर्णय गराउन नसकेपछि उनले पुनः अस्पतालको सिफारिश समितिलाई भारतीय कम्पनी उपयुक्त हुने गरिको पत्र तयार पार्न दबाब दिए।

तर, समितिमा सदस्य रहेका क्यान्सर रोग विभाग प्रमुख विवेक आचार्य र स्पेसिफिकेसन समितिका सदस्य डा. आरती साहले मापदण्ड बाहिरका कम्पनीको महँगो मेशीन खरीद गर्दा अख्तियारले समेत कारबाही गर्न सक्ने भएकाले प्रक्रिया अगाडि बढाउन नहुने अडान दोहोर्‍याएका थिए। त्यसपछि भीसी गुरुङ गत ३ वैशाखमा अस्पतालका खरीद शाखा प्रमुख, लेखा प्रमुख, रजिष्ट्रार, डा. विवेक आचार्य र डा. साहलाई लिएर अख्तियार पुगेका थिए। अख्तियारका स्वास्थ्य हेर्ने उपसचिवको अगाडि राखेर भीसीले भारतीय मेशीन खरीदबारे दबाब दिंदा डा. आचार्यसँग चर्काचर्की परेको थियो।

कुनै पनि कम्पनीले शतप्रतिशत शर्त पूरा गर्न सक्दैनन्, भाभाट्रोन कम्पनीको कोबाल्ट–६० मा त्यस्तो समस्या पनि छैन।

डा. गणेश गुरुङ

उपकुलपति, चिकित्सा विज्ञान

राष्ट्रिय प्रतिष्ठान

भीसी गुरुङले बायोमेड इन्टरनेशनलमार्फत भारतीय कम्पनीको कोबाल्ट–६० किन्न अस्पतालमै पनि छलफल राखेका थिए। कमसल मेशीनलाई बढी मूल्य तिरेर खरीद गर्न नसकिने भन्दै रजिष्टार किरण मानन्धर बैठक छाडेर बाहिरिएपछि छलफल निष्फल भएको थियो। भीसीले त्यसअघि चैतमा मूल्यांकन र स्पेसिफिकेसन समितिलाई भारतीय कम्पनीकै मेशीन किन्न सिफारिश गर्न पत्र पठाएका थिए। वीरका क्यान्सर रोग विभागका चिकित्सकहरू कमिशनकै लोभमा परेर भीसी भारतीय कम्पनीको गुणस्तरहीन कोबाल्ट–६० मेशीनको लागि हत्ते गरिरहेको बताउँछन्। भीसी गुरुङ भने मूल्यांकन समितिले मेशीन खरीद प्रक्रिया अड्काउँदा बिरामीहरू सेवाबाट बञ्चित भइरहेको बताउँछन्। “मलाई सकेसम्म चाँडो मेशीन चाहिएको छ” उनी भन्छन्, “कुनै पनि कम्पनीले शतप्रतिशत शर्त पूरा गर्न सक्दैनन्, भाभाट्रोन कम्पनीको कोबाल्ट–६० मा त्यस्तो समस्या पनि छैन।”

भारतीय कम्पनीको यो मेशीन नेपाल भित्र्याए करीब रु.७ करोड कमिशन पाइने स्रोतको दाबी छ। नेपाल–हिमालको क्यानेडियन कोबाल्ट–६० भित्र्याउन चाहिं रु.१ करोड कमिशन मागिएको सोही कम्पनीका संचालकको आरोप छ। नाम उल्लेख गर्न नचाहने नेपाल–हिमाल सञ्चालकमध्येका एक जनाले बढी रकम माग भएपछि कम्पनी पछि हटेको स्वीकार गरे। उनी भन्छन्, “कतिपय अवस्थामा चाहेर पनि धेरै कमिशन दिन सकिंदैन।”

निजी पोस्न सरकारी जागीर
वीर जस्तै चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि बिग्रेका उपकरण नबनाउने र कमिशनको लागि नयाँ खरीदमा चलखेल गर्ने प्रवृत्ति छ। क्यान्सर अस्पतालको रेडियोथेरापी दिने लिनाक–६०० सीडी दुई महीनादेखि, लिनाक–२३०० सीडी एक वर्षदेखि र पाठेघर क्यान्सरको शल्यक्रियापछि घाउ सेकाउने ब्राकीथेरापी मेशीन एक वर्षदेखि बिग्रिएका छन्। यी दुवै मेशीन पाटपुर्जा फेर्दा तुरुन्त काम दिने अवस्थामा रहेको अस्पतालका कर्मचारीहरू बताउँछन्। उनीहरूको भनाइमा, अस्पताल प्रशासन भने त्यसका लागि बोलपत्र आह्वान गर्नेतिर नभई नयाँ मेशीन खरीदको चासोमा समय बिताइरहेको छ।

बिरामीलाई विकिरणको असरबाट जोगाउने उपाय हो, मल्टिलिफ् कोल्लिमाटर भएको मेशीन किन्नु।

डा. विवेक आचार्य

प्रमुख, क्यान्सर रोग विभाग

वीर अस्पताल

एक जना कर्मचारी भोलि नै बोलपत्र आह्वान गरे पनि उपकरण आउँदासम्म कम्तीमा एक वर्ष बित्ने भएकोले बिरामीले चाँडै यो सेवा पाउने अवस्था नरहेको बताउँछन्। अस्पतालको अन्कोलोजी र इन्जिनियरिङ विभाग प्रमुखहरू नै उपकरण खरीद रोकेर रेफर धन्दामा लागेका ती प्राविधिक कर्मचारीको भनाइ छ। उनका अनुसार, अस्पतालले अहिले दैनिक सरदर १६० बिरामीलाई निजी अस्पताल पठाइरहेको छ। अस्पतालको रेडियोथेरापी विभागका अधिकांश डाक्टर भक्तपुरको कमल विनायकमा संचालित क्यान्सर अस्पतालका लगानीकर्ता हुन् भने अन्कोलोजी विभागमा कार्यरत अञ्जनीकुमार झा प्रमुख संचालक। उनीहरू सबैले भरतपुर आउने बिरामीहरूलाई भक्तपुर पठाउँछन्। कतिसम्म भने, ७ जेठ २०७३ मा भरतपुर अस्पताल आएका क्यान्सरका बिरामीहरूलाई भक्तपुर पठाउँदै गरेको अवस्थामा डाक्टर र बिचौलियाहरूलाई स्थानीय छिमेकी सहयोग समितिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो।

गगन थापा मन्त्री भएपछि स्वास्थ्य मन्त्रालयले गठन गरेको अध्ययन समितिले २०७३ पुसमा बुझाएको प्रतिवेदनमा सरकारी अस्पतालहरूमा अनावश्यक सामग्री खरीद गर्ने र उपकरणहरूको मर्मतसम्भार नगर्ने तथ्य उल्लेख छ। यस्तो बदमासीले थला पार्न लागेका सरकारी अस्पतालहरूको बेथिति नियन्त्रण गर्न भने मन्त्रालय प्रभावकारी देखिएको छैन।


**परीक्षणका लागि रु. १२ करोड! **

अस्पतालले कोबाल्ट–६० को लागि दोस्रो पटक टेन्डर आह्वान गर्दा भाभाट्रोनको रु.११ करोड ७० लाख र चेकोस्लोभाकियाको टेराबेल्ट कम्पनीको रु.१२ करोड ३२ लाख पर्ने प्रस्ताव आएको थियो। भाभाट्रोनको वेबसाइटमा कोबाल्ट–६० को मूल्य साढे तीन करोड भारु छ। यसको नेपाली रुपैयाँ ४ करोड ८० लाख हुन्छ। तर, वीरलाई बिक्री गर्न भाभाट्रोन कम्पनीको मेशीनलाई बायोमेड इन्टरनेशनलले रु.११ करोड ७० लाख मूल्य प्रस्ताव गरेको छ। अन्यत्र कतै बिक्री नभएको भाभाट्रोनको कोबाल्ट–६० पहिलो पटक नेपालमा परीक्षण गराउन वीर र केही निजी अस्पताललाई सित्तैंमा दिन खोजेको थियो। तर, खगराज अधिकारी स्वास्थ्यमन्त्री भएका बेला बायोमेड इन्टरनेशनलको प्रस्तावलाई गुणस्तर प्रमाणित नभएको भन्दै अस्वीकार गरिएको थियो।

निजी अस्पतालहरू भाभाट्रोनको कोबाल्ट–६० बढी रेडियसन निकाल्ने भएकोले प्रयोग गर्न नचाहेको यस क्षेत्रका जानकारहरू बताउँछन्। उनीहरूका अनुसार, रेडियो विकिरणयुक्त मेशीन सित्तैंमा पाए पनि अन्तिममा त्यसलाई 'डिस्पोज' गर्नै कराडौं रुपैयाँ लाग्छ।

भाभाट्रोनको कोबाल्ट–६० मा रेडियो विकिरण रोक्ने मल्टिलिफ् कोल्लिमाटर नामक उपकरण हुँदैन। भीसी गुरुङले वीरको कोबाल्ट–६० मेशीन राखिने कोठामा २५ एमएमको गारो लगाउने योजना बनाएको क्यान्सर रोग विभागका चिकित्सकहरू बताउँछन्। पर्खालले कोठामा विकिरण फैलिनबाट रोक्न भने सक्तैन। अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य भन्छन्, “विकिरणबाट सुरक्षाको एक मात्र उपाय हो, मल्टिलिफ् कोल्लिमाटर भएको मेशीन किन्नु।”

comments powered by Disqus

रमझम