१३ साउन २०७० | 28 July 2013

झुत्राबाट मालामाल

Share:
  
फालिएको कपडाबाट कागज बनाउने नमूना उद्यमी बनेका छन्, परवानीपुरका तन्नेरी उमाशंकर।

तस्वीरहरुः विम्मी शर्मा
परवानीपुर–३ पर्साका उमाशंकर महतो (३०) व्यवस्थापन विषयमा स्नातक भएपछि केही न केही उद्यम गर्ने हुटहुटीमा थिए, तर के गर्ने भेउ पाएका थिएनन्। वैदेशिक रोजगारी वा १०–५ को जागीरमा नलाग्ने निधो गरे पनि के गर्ने भन्नेमा अल्मलिएका उमाशंकरको भेट यही बीचमा कृष्णलाल कर्णसँग भयो, जो स्वीस विकास संस्था हेल्भेटास, नेपालको इलम कार्यक्रममा कार्यरत छन्। त्यही संगतको फलस्वरुप उमाशंकर कागज बनाउने एकमहीने तालीमका लागि भारतको जयपुर पुगे।

जयपुरबाट फर्केर गाउँमै सिर्जनशील व्यावसायिक तालीम केन्द्र प्रा.लि. खोलेका उनी तीन महीनामै फोहोरबाट मोहर कमाउन सफल भएका छन्। अहिले कागज उत्पादन, त्यसबाट नयाँ–नयाँ डिजाइनका हस्तकलाका सामग्री बनाउन, अर्डर लिन र हिसाब राख्न व्यस्त छन्। पर्सामा नितान्त नयाँ उद्यम थालेका उमाशंकरले ब्याङ्कबाट रु.१२ लाख ऋण लिएर खडा गरेको उद्योगमा अहिले स्थानीय महिला र वैदेशिक रोजगारीबाट फर्केका युवा गरी २० जनाले काम पाएका छन्। उनीहरूले मासिक रु.७ हजारदेखि रु.१० हजारसम्म आर्जन गरिरहेका छन्। दुई वर्ष कतार बसेका मनोजकुमार चौहान विदेशमा दिनरातको खटाइबाट कमाइ हुने रु.२० हजारभन्दा बिहान–बेलुका घरको काम गरेर, घरकै खाएर अनि परिवारसँगै बसेर रु.१० हजार कमाउनुलाई कहाँ हो कहाँ धेरै ठान्छन्।

उद्योगमा पर्सा बाहिरका समेत गार्मेन्ट कारखानाबाट झुत्रा कपडा ल्याइन्छ। नयाँ प्रविधि भित्र्याएका उमाशंकरले अहिले दैनिक ५० किलो झुत्राको कागज बनिरहेको बताए। त्यो कागजबाट विभिन्न साइजका इन्डेक्स फाइल, खाम, डायरी र झ्ोला बनाइन्छ। उद्योगले अहिलेसम्म १२ हजार सिट कागज प्रेसलाई दिएको छ भने ६०० इन्डेक्स फाइल र त्यति नै खाम स्टेशनरी पसलहरूलाई दिएको छ। “सेभ अर्थ लेखिएको अफिसियल डायरी विदेशमा धेरै मन पराइएको छ”, उमाशंकरले भने, “जापानबाट आएको एक हजारप्रतिको अर्डर पूरा गर्न भ्याई–नभ्याई छ।”

हातेझोलाको अर्डर टिपिरहेका उनले स्थापनाको तेस्रो महीनामै मासिक सरदर रु.१५ हजार नाफा देखिएकोले उद्योगको भविष्य राम्रो हुने बताए। तन्नेरीहरूले नवीन पौरख देखाएपछि सफलता हात नलाग्ने कुरै छैन।

विम्मी शर्मा, वीरगंज

comments powered by Disqus

रमझम