१३ साउन २०७० | 28 July 2013

'हाम्रो प्रतिस्पर्धा आफैंसँग हुन्छ'

Share:
  

पञ्जाब नेशनल ब्याङ्क (पीएनबी) को नायव महाप्रबन्धक ए.के. अहलुवालिया नेपालको एभरेष्ट ब्याङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्। एभरेष्टमा पीएनबीको २० प्रतिशत शेयर स्वामित्व रहेकाले उच्च व्यवस्थापक भारतबाटै आउने गरेका छन्। ब्याङ्किङमा ३२ वर्षे अनुभव भएका अहलुवालियाले नेपालमा कार्यभार सम्हालेको दोस्रो साता हिमाल का प्रभात भट्टराई सँगको कुराकानीमा कृषि, ऊर्जा, उद्योग जस्ता क्षेत्रमा लगानी प्रवर्द्धन गर्दै एभरेष्ट ब्याङ्कलाई नेपाली अर्थतन्त्रको प्रमुख हिस्सेदार बनाउने बताए।

ऋषिराम कट्टेल
नेपाली ब्याङ्कको अनुभव कस्तो हुँदैछ?

म एभरेष्ट ब्याङ्कको सीईओको रूपमा तीन सातादेखि नेपालमा छु। यो अवधिको मेरो अनुभव धेरै राम्रो छ। ब्याङ्कको अवस्था पनि सन्तोषजनक छ। यहाँ भारतमा जस्तो सरकारी ब्याङ्कहरूको मात्र बाहुल्य नभई निजी क्षेत्र र सरकारी लगानीका दुवैथरी ब्याङ्कले राम्रो गरेका रहेछन्।

नेपालको ब्याङ्किङ क्षेत्रमा के–के चुनौती र सबलता पाउनुभयो?

नेपाली ब्याङ्कका सबल पक्ष धेरै छन्। उनीहरूले राम्रो शाखा नेटवर्क बनाएर ग्रामीण इलाकासम्म सेवा प्रवाह गरेका छन्। उद्योग–व्यवसायदेखि सर्वसाधारणसम्मलाई समेटेर निक्षेप संकलन र कर्जा प्रवाह गरेका छन्। नेपालका ब्याङ्कहरूको मुख्य चुनौती भनेको ग्रामीण इलाकामा आफ्नो उपस्थिति बलियो बनाएर त्यहाँ ब्याङ्किङ आदत विकास गर्नु हो। वित्तीय साक्षरता विकासका लागि ग्रामीण क्षेत्रमा ब्याङ्कहरूको दह्रो उपस्थिति हुनुपर्छ। ब्याङ्किङ आदत बसेन भने विदेशबाट आएको रेमिट्यान्स घरेलु प्रयोजनमै खर्च भएर सकिन्छ। 'बचत गर्दा भोलिलाई सजिलो हुन्छ' भनेर सिकाउने ब्याङ्कहरूले नै हो।

नेपाल र भारतको नियमन प्रणालीमा के अन्तर पाउनुभयो?

भारतका ठूला वाणिज्य ब्याङ्कहरूमध्ये अधिकांशमा सरकारको उच्च शेयर हिस्सा छ। ठूलो नेटवर्क भएका पञ्जाब नेशनल, आईडीबीआई र स्टेट ब्याङ्क अफ इण्डियामा सरकारको ५० प्रतिशत भन्दा बढी लगानी छ। उनीहरूको सीधा समन्वय अर्थ मन्त्रालयसँग हुन्छ। सरकारी लगानी भए पनि व्यवस्थापन स्वतन्त्र हुने भारतीय ब्याङ्कहरूबीच बजारमा चर्को प्रतिस्पर्धा छ। नियामकले ब्याङ्कलाई सुपरीवेक्षकीय आँखाले मात्र नहेरेर स्वामित्वको दृष्टिले पनि हेर्छन्। नेपालमा भने सरकारी लगानीका ब्याङ्कहरूको भन्दा ठूलो बजार र प्रतिस्पर्धा निजी क्षेत्रका ब्याङ्कहरूमा छ। त्यसैले यहाँ नियामकको भूमिका अलि स्वतन्त्र भएको पाएको छु।

भारतमा सरकारी लगानीका ब्याङ्कबीच बढी प्रतिस्पर्धा हुने भन्नुभयो, नेपालमा एभरेष्ट ब्याङ्कको सबभन्दा बलियो प्रतिस्पर्धी को हो जस्तो लाग्छ?

यहाँ हामी बाहेक ३१ वाणिज्य ब्याङ्क छन्, सबैबीच स्वस्थ प्रतिस्पर्धा छ। तर, हाम्रो सबभन्दा बलियो प्रतिस्पर्धी चाहिं हामी आफैं हौं। हामीले अझ राम्रो सेवा प्रवाह गर्नुछ, विगतमा भन्दा धेरै मुनाफा गर्नुछ र व्यवसायलाई विशिष्ट बनाउँदै लैजानुछ।

एभरेष्ट ब्याङ्कको सेवामा त्यस्तो विशिष्टता के छ?

ब्याङ्किङमा ग्राहकले आतिथ्यसँगै हरेक सेवा सहज र सुलभ तरिकाले पाउनुपर्छ भन्ने हाम्रो मान्यता छ। त्यसै अनुसार काम गरिरहेका छौं। हामीले ग्राहककै आवश्यकतालाई केन्द्रमा राखेर 'प्रडक्ट' तयार गरेका छौं। हामीसँग ग्राहक अभिरुचिको अध्ययन–विश्लेषण गर्दै 'प्रडक्ट' तयार गर्ने स्थायी प्रकृतिको 'थिङ्क ट्याङ्क' टीम छ। यसरी हाम्रो सेवा विशिष्ट हुन्छ।

ब्याङ्कलाई अब कता केन्द्रित गर्न चाहनुहुन्छ?

निश्चय नै हामी कर्पोरेट र उत्पादनमूलक क्षेत्रको प्रवर्द्धनमा केन्द्रित हुनेछौं। औद्योगिक क्षेत्रमा लगानी गरी आयात प्रतिस्थापन, रोजगारी वृद्धि जस्ता कार्यमा योगदान दिन चाहन्छौं। साना तथा मझौला व्यवसाय प्रवर्द्धनमा पनि सक्रिय हुनेछौं। हामी साना निक्षेपकर्ताहरूलाई पनि बचतको दायरामा ल्याउन चाहन्छौं। धेरै नेपाली संलग्न रहेको कृषि क्षेत्रमा हाम्रो सहभागिता रहन्छ नै। कृषि प्रवर्द्धनकै लागि राजविराजमा कृषि उद्यम शाखा स्थापना गरेका छौं। यसमा थप विशिष्टीकरण गर्ने कुरा छँदैछ।

पछिल्लो समय नेपाल राष्ट्र ब्याङ्कले पनि ब्याङ्कहरूलाई कृषि र उद्योगमा लगानी प्रवर्द्धन गर्न भनेको छ। तपाईंको विचारमा यो पर्याप्त छ कि थप केही गर्नुपर्छ?

यो अवश्य नै प्रशंसनीय छ। मुलुकको अधिकांश जनसंख्या कृषिमा आवद्ध हुँदा पनि कृषिजन्य उत्पादन आयात गर्नुपर्ने अवस्था छ। त्यसैले, कृषिको उत्पादन प्रणालीमा नै परिवर्तन गर्न आवश्यक छ जस्तो लाग्छ। कृषि उपजको कम आयातले अर्थतन्त्रलाई राहत दिन्छ। उद्योगमा लगानी पनि आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र रोजगारी सिर्जनाको बाटो हो। नेपालमा कृषि उद्योग र ऊर्जा लगायत क्षेत्रमा लगानी विस्तार भनेको कामको खोजीमा विदेशिने युवालाई यहीं रोजगारीको अवसर दिनु हो। त्यसैले, नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो नीति स्वागतयोग्य छ। नयाँ बजेटले पनि यी क्षेत्रलाई प्रवर्द्धन गर्ने बताइसकेको छ।

नेपाली ब्याङ्कहरूको भविष्य कस्तो होला?

नेपाली ब्याङ्कहरुको भविष्य राम्रो देख्छु। नेपालको अर्थतन्त्रले गति लिने र त्यसले ब्याङ्कहरूलाई पनि मजबूत बनाउँदै लैजाने दिन आउँदैछ जस्तो लाग्छ। नेपालको जलविद्युत् र पर्यटन क्षेत्रबाट सबै ब्याङ्कले फाइदा लिनेछन्। यी क्षेत्रमा सबै ब्याङ्कका आ–आफ्ना लगानीका परियोजना पनि छन्। उनीहरूसँग तरलता पनि छ। परियोजना र तरलताको तादाम्यले ब्याङ्कहरूलाई थप मजबूत बनाउनेमा म विश्वस्त छु।

comments powered by Disqus

रमझम