३१ वैशाख - ६ जेठ २०७४ | 14-20 May 2017

स्वान्तसुखायका विपक्षी

Share:
  
- विष्णु प्रभात
प्रगतिशील सैद्धान्तिक निष्ठालाई व्यवहारमा दुरुस्त अँगाल्ने दुर्लभ स्रष्टाहरूमध्ये श्यामप्रसाद अग्रपंत्तिा्कमा पर्दथे।

श्यामप्रसाद शर्माको जीवनी निकै रोचक छ। उनी मकवानपुरको सोलीथुम गाउँमा वि.सं. १९८६ असार ६ गते जन्मिए। पछि पिता जोगनाथका साथ वीरगञ्जको गहवा टोलमा बसाइँ सरे। पाँच वर्षमा आमा हुतप्रिया बितेपछि उनी टुहुरो बने र ठूलीआमाको स्नेहमा हुर्किए। कहिले मावली काठमाडौंको चाबहिल र कहिले वीरगञ्ज गर्दै मेटि्रकसम्म पढेपछि उनी स्वाध्यायनमा लाग्छन्। बनारसबाट प्रकाशित 'उदय' पत्रिकामा अनुवाद कविता छपाएर साहित्यिक यात्रा आरम्भ गरेका श्यामप्रसादको लेखन कविता–काव्यमा भन्दा गद्यतर्फ लम्कियो, विशेष गरी निबन्धमा।

साहित्यमा श्यामप्रसादको आगमन वि.सं. १९९६ सालको शहीद पर्वपछि भएको हो। त्यसो त उनलाई राणाशाही विरोधी प्रजातान्त्रिक जागरणको चेतनाले एउटा नवीन क्षितिज देखाइसकेको र कृष्णचन्द्र अर्यालजस्ता अग्रज व्यक्तिबाट बौद्धिक प्रेरणा प्राप्त भइसकेको थियो। परन्तु २००७ सालको राजनीतिक जागरणसँगै उनी वि.सं. २००८ मा सेवा पत्रिका सञ्चालन गर्छन्। जयतु संस्कृतम् आन्दोलन, पुस्तकालय पर्वको ताडना र लक्ष्मीप्रसाद देवकोटाजस्ता महाकविसमेत निर्वासित अवस्थामा रहेका वेला श्यामप्रसाद पत्रकारिता र साहित्य सेवामा संलग्न हुन्छन्। निरंकुशता विरोधी संघर्षका दौरान पटक पटक जेल पर्छन्।

कमलमणि दीक्षित
श्यामप्रसाद शर्मा

६ असार १९८६–२४ वैशाख २०७४

प्रजापरिषद्सँग निकट श्यामप्रसाद पुष्पलालको सम्पर्कबाट कम्युनिष्ट विचारधारातर्फ आकर्षित हुन्छन्। हिन्दी प्रगतिशील साहित्यको अध्ययनसँगै कम्युनिष्ट पार्टीको प्रचारप्रसार विभागमा काम गर्न थाल्छन् र मशाल पत्रिकामा केही समय काम गरेपछि हालखबर, नयाँ समाज जस्ता पत्रिकामा संलग्न हुन्छन्। स्वास्नी मान्छे, साहित्य जस्ता पत्रिका सञ्चालन गर्दै अघि बढ्छन्। वि.सं. २०१९ मा हंगेरीको राजधानी बुडापेष्टमा आयोजित कार्यक्रममा नेपाली पत्रकारहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुग्छन्। चीनको पनि भ्रमण गर्दछन्। यसबाट श्यामप्रसादको प्रगतिशील भावधारा सुदृढ बन्छ र आफ्ना सिर्जनाहरूमा त्यही विचारधारा प्रतिबिम्बित हुन पुग्दछ।

नेपाली साहित्यको प्रगतिशील भावधारामा योजनाबद्ध लेखनलाई प्रवर्द्धन गर्ने उद्देश्यले असोज २००९ मा श्यामप्रसादले प्रगतिशील लेखक संघ (प्रलेस) नै स्थापना गरे। र, प्रगतिवादी सौन्दर्य चिन्तनको नेपाली बान्की प्रस्तुत गर्नतर्फ मनग्गे समय खर्चिए। 'लेखक कसरी बन्ने?' पुस्तक यस दिशाको पहिलो कृति थियो। श्यामप्रसादको प्रेरणा र परामर्शमा हृदयचन्द्रसिंह प्रधान जस्ता लेखक पनि प्रगतिशील भावधारामा लागे। कृष्णचन्द्रसिंह प्रधान, धर्मराज थापा, आनन्ददेव भट्ट, शक्ति लम्साल, रमेश विकल, डीपी अधिकारी, बल्लभमणि दाहाल, भूपि शेरचन, गोविन्द भट्ट, भवानी घिमिरे, मदनमणि दीक्षित आदि लेखकहरू प्रगतिशील बन्न पुगे। यीमध्ये कतिपय विचलित भएर निष्ठा बदल्न पुगे तर श्यामप्रसाद अटल रहे।

साहित्य शास्त्रीय अध्ययन र दिग्दर्शनका लागि उनले केही सैद्धान्तिक पुस्तक पनि लेखे। साहित्य सम्बन्धी दुई चार कुरा, साहित्यका पात्रपात्री र साहित्यमा सापेक्षता जस्ता रचना यसै सन्दर्भका उपज हुन्। समाजमा व्याप्त विभेदका विरुद्धमा 'तँ, तिमी, तपाइँ हजुर' र बहिनीलाई चिठी जस्ता निबन्धमार्फत सुधारको बाटो देखाए। धर्मबारे केही कुरा, संस्कृतिसम्बन्धी दुई चार कुरा, परिवार र नाता कुटुम्बबारे, प्रेम र विवाहका विषयमा सबैका लागि घर जस्ता रचनाले उनको सांस्कृतिक दृष्टिकोण प्रकट गर्दछ। सामाजिक परिवर्तनका लागि बिगुल फुक्ने संगठक र अगुवा ज्ञान प्रसारकको रुपमा समेत आफूलाई गतिशील बनाए। सादा जीवन र उच्च विचारको आदर्शमा आफूलाई आजीवन आबद्ध गरे।

यस्ता गुणले भरिएका श्यामप्रसादसँग मेरो भेट भूमिगतकालमै भएको थियो। मैले उनीसँग लिएको अन्तर्वार्ता प्रकाश साप्ताहिक र लहर पत्रिकामा छापियो। त्यसपछि नै धेरैले उनी जीवितै रहेको पत्तो पाएका थिए। पछि प्रलेसमा आबद्ध भएर निकै वर्ष सँगसँगै काम पनि गर्‍यौं। मैले उनका पुस्तक लेखक कसरी बन्ने? र बहिनीलाई चिठी दुवै भाग एउटै गरी पुनः प्रकाशन गर्ने व्यवस्था मिलाएँ। कम्युनिष्ट पार्टीका अगुवा राजनीतिज्ञका रुपमा श्यामप्रसादले नेतृत्वका विषयमा, मजदूरसम्बन्धी काम र वर्ग विश्लेषण गर्दा भन्ने पुस्तिका पनि तयार पारे।

प्रगतिशील फाँटमा मात्र हैन प्रतिध्रुवका आँखामा पनि सरल भाषामा स्पष्ट र तिक्खर भनाइद्वारा हेपिएका जनताको हित औंल्याउनु र हक प्राप्तिको लक्ष्यले प्रेरित हुनु श्यामप्रसादका निबन्धको वैशिष्ट्य हो। विषयवस्तुमा पाइने सन्देशलाई लिएर केहीले उनको रचनालाई 'उपदेशात्मक लेखन' भनी उल्लेख गरे पनि सार्वजनिक हितमा समर्पित भएकाले यस्ता टिप्पणीहरू क्षम्य छन्। उनका सिर्जनामा मनोवादी गन्थन होइन, वस्तुवादी सत्यको उद्गार पाइन्छ। उनको लेखनमा पूर्वार्द्धको प्रखरता उत्तरार्द्धमा पाइँदैन भन्ने गरेको पनि सुनिन्छ। परन्तु रचनाहरूको जनउपयोगिता ठम्याउने हो भने त्यो भनाइ झूटो ठहर्छ। जनउपयोगितावादी लेखन र स्वान्तसुखायवादी लेखनका बीचको अन्तर छर्लङ्गिन्छ।

त्यसो त श्यामप्रसाद कहिलेकाहीं अति यथार्थवादी नदेखिएका होइनन्। यो कमजोरीले उनका कुनै कुनै रचना विवादित पनि बने। तर, एक दुई सामान्य कमजोरीका आधारमा उनको समग्र योगदानको अवमूल्यन हुन सक्दैन। ८८ वर्षको उमेरमा २४ वैशाखमा बितेका श्यामप्रसाद नेपाली साहित्यमा प्रगतिवादी निष्ठाका आदर्श पुजारी हुन् भन्ने तथ्यगत सत्यप्रति विमति बोल्ने ठाउँ नै छैन।

comments powered by Disqus

रमझम